रुस–युक्रेन युद्ध अन्त्यका लागि इस्तानबुलमा बिहीबार आयोजना हुने भनिएको शान्ति वार्ताबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित हुने भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेंस्की, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाको आग्रह बावजुद पुटिन वार्तामा सहभागी नहुने भएका हुन्।
यसबीच, ट्रम्पले पनि पुटिन सहभागी नहुने भएपछि वार्ता बहिष्कार गर्ने जनाएका छन्।
बुधबार राति क्रेमलिनले आठ सदस्यीय रुसी प्रतिनिधिमण्डलको नाम सार्वजनिक गर्यो, जसमा चार जना वार्ताकार र चार जना विज्ञ छन्। टोलीमा समावेश प्रमुख व्यक्तिहरू:
भ्लादिमिर मेडिन्स्की – राष्ट्रपति सल्लाहकार तथा पूर्व संस्कृति मन्त्री
अलेक्जेन्डर फोमिन – उप–रक्षा मन्त्री
इगोर कोस्त्युकोभ – जीआरयू (विदेशी सैन्य गुप्तचर संस्था) का निर्देशक
यी सबै व्यक्तिहरूले २०२२ मा भएको छोटो अवधिको वार्तामा समेत सहभागिता जनाएका थिए।
युक्रेनी राष्ट्रपति जेलेंस्कीले भने वार्ताका लागि उत्साहित देखिएका छैनन्। बुधबार रातिको सम्बोधनमा उनले भने, “हामी रुसी टोलीको नाम देखेर मात्र हाम्रो रणनीति तय गर्नेछौं। अहिलेसम्मका सन्देशहरू उत्साहजनक छैनन्।”
उनले रुसले आक्रमण जारी राखिरहेकाले वार्तामा सहभागिता केवल दिखावटी हुन सक्ने जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि पुटिन सहभागी भएमा आफैं इस्तानबुल जाने संकेत दिएका थिए। तर पुटिन नजाने भएपछि ट्रम्पले पनि वार्ता बहिष्कार गर्ने निर्णय गरेका हुन्। ट्रम्पले दुबै पक्षलाई ३० दिनको युद्धविराम प्रस्ताव गर्दै शान्तिको प्रयास गर्न आग्रह गरेका थिए।
उनले भने, “यदि रुसले वार्ता अवरुद्ध गर्न खोज्यो भने द्वितीयक प्रतिबन्धको पनि तयारी गर्न सक्छौं।”
ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले बुधबार पुटिनसँग टेलिफोन वार्ता गर्दै इस्तानबुल वार्तामा सहभागी हुन आग्रह गरेका थिए। उनले ब्राजिल शान्तिका पक्षमा दृढ रहेको र आवश्यकता परे जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन्।
२०२२ मा इस्तानबुलमा भएको वार्ता निष्कर्षविहीन बनेको थियो। यदि पुटिन र जेलेंस्कीको भेट हुने भए यो डिसेम्बर २०१९ यता पहिलो प्रत्यक्ष वार्ता हुनेथियो। तर हाल देखिएको परिस्थिति र नेताहरूको अनुपस्थितिले यो वार्ता पनि असफल हुने संकेत देखिएको छ
।
युद्ध अन्त्यका लागि भनिएपनि नेताहरूको अनुपस्थितिका कारण इस्तानबुल वार्ता केवल औपचारिकता बन्ने खतरा देखिएको छ। जेलेंस्की र ट्रम्प दुवैले वार्ताको उद्देश्य र रुसको इच्छाशक्तिमाथि प्रश्न उठाएका छन्। यस्तोमा आगामी दिनमा शान्तिको प्रक्रिया कता मोडिन्छ भन्ने हेर्न बाँकी छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस