Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पले युक्रेन शान्ति वार्तामा तोकिएको समयसीमा हटाए, रूस–युक्रेनबीच प्रगति हुँदै गएको दाबी

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, ०८ : १५ मा प्रकाशित

ट्रम्पले युक्रेन शान्ति वार्तामा तोकिएको समयसीमा हटाए, रूस–युक्रेनबीच प्रगति हुँदै गएको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका लागि अघि तोकिएको शान्ति सम्झौतामा सहमत हुने समयसीमा हटाइएको बताएका छन्। मंगलबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनले “सम्झौता अन्तिम रूप लिएपछि मात्र समयसीमाको अर्थ हुन्छ” भन्दै वार्ता निरन्तर अगाडि बढिरहेको बताए।

ट्रम्पका अनुसार अमेरिका, रुस र युक्रेनबीच भएको छलफलमा केही महत्वपूर्ण बुँदामा सहमति नजिकिएको छ। उनले रूसले केही विषयमा पछिल्लो चरणमा छुट दिएकाे र युक्रेन पनि चालु प्रक्रियाबाट सन्तुष्ट देखिएको बताए।

राष्ट्रपतिले भने, “हामी अघि बढेका छौँ, वार्ताले गति लिन थालेको छ।”

यसै क्रममा, ट्रम्पका विशेष दूत स्टिभ विट्कफ आगामी हप्ता मास्को पुगेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने भएका छन्। ट्रम्पले बताएअनुसार विट्कफसँगै उनका ज्वाइँ जारेड कुशनर पनि सहभागी हुन सक्ने सम्भावना छ, यद्यपि सहभागिता अहिलेसम्म निश्चित छैन।

ट्रम्पले TRUTH सामाजिक सञ्जालमार्फत भनेका छन् कि विट्कफ पुटिनसँग भेट्दा, अर्कोतर्फ अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कोल युक्रेनी पक्षसँग छलफलमा बस्नेछन्। वार्ताको प्रगतिको प्रतिवेदन आफू, उपराष्ट्रपति जे डी भ्यानेस, विदेशमन्त्री मार्को रुबियो, युद्ध मन्त्रालयका सचिव पिट हेगसेथ र ह्वाइट हाउस प्रमुख स्युसी वाइल्सलाई प्रदान गरिने पनि उनले उल्लेख गरेका छन्।

ट्रम्पले पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग प्रत्यक्ष भेटवार्ता गर्नुपर्ने अवस्था आए पनि त्यो केवल शान्ति सम्झौता अन्तिम चरणमा पुगेपछि मात्र सम्भव हुने स्पष्ट पारेका छन्। उनले भने, “सम्झौता अन्तिम अवस्थामा पुगेपछि मात्र दुबै नेतासँग भेट्नेछु। हामीले सकेसम्म छिटो स्थायी शान्ति हासिल गर्नुपर्छ।”

उनका अनुसार शान्ति प्रक्रियाका लागि तयार गरिएको प्रारम्भिक २८ बुँदे खाका वास्तविक सम्झौतामा रूपान्तरण हुने क्रममा परिमार्जन र सुधार भइरहेका छन्। दुवै पक्षले सुझाव दिएसँगै केही बुँदामा मात्र अझै सहमति जुट्न बाँकी रहेको ट्रम्पको भनाइ छ।

यसबीच, अमेरिकी विशेष दूत विट्कफले गत महिना क्रेमलिनका वरिष्ठ अधिकारी युरी उसकोभोसँग टेलिफोनमा छलफल गर्दै गाजा शान्ति सम्झौतामा जस्तै युक्रेनका लागि पनि मिलिजुली पहल गर्न सकिने संकेत गरेका थिए। लगभग पाँच मिनेट लामो फोन संवादमा विट्कफले पुटिन–ट्रम्पबीच छलफल सहज बनाउन सकिने उपायसमेत सुझाएका थिए।

शान्ति प्रक्रियामा विट्कफको सक्रियताबारे ह्वाइट हाउसका सञ्चार निर्देशक स्टेभेन चुङले भने, “विशेष दूत विट्कफ रूस र युक्रेन दुबै पक्षसँग नियमित संवाद गरिरहेका छन्, जुन राष्ट्रपति ट्रम्पले उनलाई दिएकाे जिम्मेवारीकै हिस्सा हो।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको