Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार चन्द्रागिरी केबलकार आधा घन्टाभन्दा बढी समय रोकिँदा के-के भयो ?

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, १६ : ५७ मा प्रकाशित

मंगलबार चन्द्रागिरी केबलकार आधा घन्टाभन्दा बढी समय रोकिँदा के-के भयो ?

चन्द्रागिरी केबलकार मंगलबार दिउँसो आधा घन्टाभन्दा बढी समय रोकिएको छ । केबलकार रोकिँदा ३६ जना यात्रारत थिए । लामो समयसम्म केबलकार भित्र थुनिँदा कोलाहल मच्चिएको थियो । 

घटना मंगलबार दिउँसो २ बजेको हो । चलिरहेको केबलकार अचानक रोकिएपछि यात्रुहरू केही समय पुनः सुचारु हुने आशामा बसेका थिए । पाँच, दश, पन्ध्र मिनेट हुँदै आधा घन्टासम्म सुचारु नभएपछि यात्रुहरू केबलकारबाटै चिच्चाएका थिए । 

केबलकारको तारमा झुन्डिएको डब्बामा लामो समयसम्म थुनिएर बस्दा यात्रुहरूबीच कोलाहल मच्चिएको थियो । त्यसपछि उद्धारका लागि थानकोटस्थित महानगरीय प्रहरी वृत्तका प्रहरीलाई बोलाइएको थियो । 

‘साढे दुई बजेतिरको घटना हो । केबलकार रोकियो भनेर खबर आयो । अनि हाम्रो टोली परिचालित भयो,’  प्रहरी निरीक्षक मनोज श्रेष्ठले भने, ‘३६ जना केवलकारको डब्बामा अड्किएका थिए । आधा घन्टा लगाएर उनीहरूको उद्धार गरियो ।’ 

उद्धार गरेर डब्बाबाट बाहिर निस्किँदा यात्रुहरू निकै अत्तालिएका थिए । कुनै अप्रिय घटना नहोस् भनेर पहिले नै त्यहाँ नेपाल प्रहरीको विपद् उद्धार टोलीसमेत खटाइएको थियो । ‘विपद् उद्धार टोलीलाई पनि तयारी अवस्थामा राखेका थियौं । डोरीमा गएर निकाल्नुपर्ला भनेर विपद् उद्धार टोली राखिएको थियो । तर त्यसो गर्नुपरेन,’ प्रहरी निरीक्षक श्रेष्ठले भने ।

विस्तारै डोरी तानेर केवलकारका डब्बालाई स्टेसनसम्म ल्याइएको थियो । केबलकार आधा घन्टाभन्दा बढी समय रोकिँदा चन्द्रागिरीको चुचुराेमा रहेकाे भालेश्वर महादेव मन्दिर वरपर चार सयको हाराहारीमा यात्रुहरू थिए । उनीहरू फर्कन पालो कुरेर बसेका थिए । 

यस विषयमा के भएको हो ? भनी चन्द्रागिरी हिल्सका प्रबन्ध निर्देशक अभिषेकविक्रम शाहसँग बुझ्दा उनले विद्युतमा समस्या आएका कारण केबलकार छोटो समयको लागि रोकिएको दाबी गरे । ‘केबलकारमा त्यस्ताे ठूलाे समस्या आएको होइन । विद्युतमा समस्या आएका कारण ५-६ मिनेट केबलकार रोएिको थियो । त्यतिबेला म पनि माथि नै अड्किएको थिएँ,’ शाहले भने । उनले हाइभोल्टेजका कारण ट्रान्समिटर पड्किदा केबलकार रोकिएको बताए । 

शाहले भनेजस्तो मंगलबार चन्द्रागिरी क्षेत्रमा विद्युतमा कुनै समस्या नआएको नेपाल विद्युत प्राधिकरणको वलम्बुस्थित नो लाइट प्रमुख आशुतोष कर्णले जानकारी दिए । ‘उनीहरू (चन्द्रागिरी) को आन्तरिक ट्रान्समिटर बिग्रेको होला, त्यो हामीलाई थाहा भएन । तर हाम्रो लाइनमा खराबी भएको छैन,’ कर्णले भने । मंगलबारकै घटना भए पनि यसबारे बुधबार मात्र खबर बाहिरिएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको