Like us!
Follow us!
Connect us!
Watch us!

तङ्ग्रिदै पर्यटन क्षेत्र : अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १३ : २५ मा प्रकाशित

तङ्ग्रिदै पर्यटन क्षेत्र : अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो

कोरोना भाइरस र बाढीपहिरोको बितण्डामा ढप्प भएकाे लमजुङकाे पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएकाे छ । झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने पर्यटक आएका हुन् । दैनिक दुई सयभन्दा बढी पर्यटकले अचेल यहाँ पदयात्रा गर्ने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने वाह्य पर्यटक केही समययता बढ्दै गएको हो ।

पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायीमा उत्साह छाएकाे छ। मंसिर र पुसमा हिमपातका कारण सुस्ताएको भए पनि अहिले चहलपहल बढ्न थालेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।

पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । दुई वर्षसम्म कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको पर्यटन व्यवसायी पारु गुरुङ बताउँछिन् ।

अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढी आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख  गौतमले बताए । बेंसीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगत हुँदै मनाङको बगरछाप पुगेर चामे हुँदै थोराङपास हुँदै मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीको बाटो भएर पोखरा पुगिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको