Like us!
Follow us!
Connect us!
Watch us!

छोटो समयमै टेस्लाले कमायो ४ खर्ब मुनाफा

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, ११ : ०४ मा प्रकाशित

छोटो समयमै टेस्लाले कमायो ४ खर्ब मुनाफा

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्ना कारहरूको मूल्य निरन्तर बढाईरहेको छ । तर, चर्को मूल्य हुँदा पनि मागमा कुनै कमि आएको छैन । मागमा भएको बृद्धीका कारण कारको लागत बढिरहँदा समेत टेस्लाको मुनाफा चुलिएको छ । 

सन् २०२२ को पहिलो तीन महिनामा कम्पनीले ४ खर्ब रुपैयाँ भन्दा धेरै मुनाफा कमाउन सफल भएको छ । त्यो पनि मागको ६८ प्रतिशत मात्र कार उत्पादन गरेर । अहिले टेस्लाले कोभिड महामारीलगायतले सिर्जना गरेको आपूर्ति प्रणालीको अड्चनका कारण पनि माग अनुसारको उत्पादन तथा आपूर्तिमा कठिनाइ उत्पन्न भएको बताएको छ ।

चीनको सांघाइमा रहेको टेस्ला कम्पनीको कार उत्पादन कारखाना कोभिड १९ को कारण बन्द गरिएको थियो । पछिल्ला दिनमा टेस्लाले  जर्मनी तथा अमेरिकाको टेक्सास लगायतका ठाउँमा नयाँ कारखाना स्थापना गरी आफ्नो उत्पादन तथा आपूर्ति विस्तार गरिरहेको छ । 

सन् २०२२ को पहिलो त्रैमासिकमा टेस्लाले तीन लाख १० हजार वटा कार ग्राहकसम्म पुर्याएको छ । कम्पनीका सीईओ एलन मस्कका अनुसार सन् २०२१ को तुलनामा यो वर्ष कारको उत्पादन समग्रमा ६० प्रतिशतले बढाइनेछ । सीईओ एलन मस्कका अनुसार सन् २०२४ सम्ममा टेस्लाले ठूलो परिमाणमा स्टेरिङ ह्विल तथा पेडल विनाका कार अर्थात् रोबोट्याक्सीको उत्पादन गर्ने लक्ष्य राखेको छ ।

टेस्लाको पहिलो त्रैमासिकको उल्लेख्य मुनाफाको रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्यमा पाँच प्रतिशतको बढोत्तरी देखियो । तथापि एलन मस्कका पछिल्ला गतिविधिहरूका कारण उनको ध्यान टेस्ला कम्पनीबाट अन्त भड्किने प्रति लगानीकर्ताहरू चिन्तित देखिएका छन् । मस्कले हालै ट्वीटरको करिब १० प्रतिशत शेयर खरिद गरेका छन् भने ४३ अर्ब डलरमा ट्वीटरको पूरै शेयर खरी गर्ने प्रस्ताव राखेका छन् ।

टेस्ला कम्पनीको शेयर मूल्यमा पछिल्ला वर्षहरूमा अत्यधिक वृद्धि भएकै कारण एलन मस्क २६० अर्ब डलर सम्पत्तिसहित विश्वका सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् । यो रकम हाल विश्वका दोस्रो धनी व्यक्ति जेफ बेजोसको भन्दा करिब १ खर्ब डलर बढी हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको