Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार र आइतबार बिदा दिने निर्णय स्वागतयाेग्य : पर्यटन व्यवसायी

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, १३ : ४८ मा प्रकाशित

शनिबार र आइतबार बिदा दिने निर्णय स्वागतयाेग्य : पर्यटन व्यवसायी

पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरेका छन् । सरकारी निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ छ ।

कोरोना संक्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निर्णयले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ । सरकारले आगामी १ जेठबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

हाेटल संघले विज्ञप्ति नै निकालेर सरकारकाे निर्णयले सकारात्मक सन्देश दिएको बताएकाे छ । ‘पर्यटन क्षेत्र लामो समयदेखि विविध समस्याबाट प्रताडित हुँदै आएकोमा दुई दिने बिदाको व्यवस्थाले केही रूपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास हामीले लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

कोभिड-१९ को महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रूपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास संघको रहेको अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले दुई दिन बिदा पर्यटनका लागि सुखद समाचार रहेको बताउँछन् । अरु देशमा पनि यस्तो अभ्यास रहेकोमा नेपालले ढिलो गरी यसलाई पछ्याएको उनी बताउँछन् । यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्ने उनले बताए ।

पोखरामा हिजाेआज विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउँछन् । विस्तारै नेपालीमा घुम्ने संस्कारको विकास भएको छ । पोखराका होटलमा ४० हजारभन्दा बढी बेड छन् । तीमध्ये अहिले आधाभन्दा बढी भरिएका छन् ।

पर्यटकलाई भुलाउनकै लागि सरकारले लेकसाइडलाई २४ सै घन्टा खुला राख्ने निर्णय गरेको छ । अहिले व्यवसायीहरूले लगानी बढाएका छन् भने साहसिक खेलकुदका गतिविधि थपिएकाे छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको