Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारबाट पुँजी संकलन गरेर रिलायन्स इण्डस्ट्रिज खोले, बने विश्वकै धनाढ्य : अम्बानीको कथा

बसन्त पाण्डे

आइतबार, ०३ मंसिर २०८०, ०९ : २६ मा प्रकाशित

सेयरबजारबाट पुँजी संकलन गरेर रिलायन्स इण्डस्ट्रिज खोले, बने विश्वकै धनाढ्य : अम्बानीको कथा

'गरिब परिवारमा जन्मिनु तपाईंको गल्ती होइन तर गरिबीमै मर्नु चाहिँ केवल तपाईंकै मात्रै गल्ती हो।'- धिरुभाई अम्बानी 

जीवनमा म यस्तो गर्छु, यो स्थानमा पुग्छु, मेरो जिन्दगी यो हिसाबले जिउँछु भन्ने योजना प्राय: सबैले बनाउने गर्छन। मान्छेको सोचको स्तर जस्तो छ उसले सोहि अनुसारको सपना देख्ने गर्दछ। तर आफूले सोचेजसरी जिन्दगी जिउन सजिलो भने छैन। सोचेजस्तो जीवन बाँच्न र आफ्ना सपनाहरु पूरा गर्न दु:ख, मेहनत र संघर्ष गर्नुपर्ने हुन्छ। सपनाको मूल्य चुकाउनुपर्ने हुन्छ। अधिकांश समय मनोरंजनको दुनियाँमा हराउन चाहने वर्गको लागि कुनै कुरामा आफ्नो सम्पूर्ण ध्यान दिएर लागिपर्न त्यति सजिलो छैन। आजको यो अङ्कमा हामी एक त्यस्तो व्यक्तिवको संघर्ष र सफलताको कथा प्रस्तुत गर्दैछौँ जसले गरिब परिवारमा जन्मिएर पनि सपना देखे र आफूले देखेका सपनाहरुलाई पूरा गर्न कुनै कसर बाँकी छोडेनन।  

आजको यो अङ्कमा गरिब परिवारमा जन्मिएर आफूलाई बिजनेस टाइकुन बनाउन सफल रिलायन्स इण्डस्ट्रिजका संस्थापक धिरजलाल
हिराचन्द अम्बानी (धिरुभाई अम्बानी) बारेमा चर्चा गर्दैछौँ। २८ डिसेम्बर, १९३२ मा गुजरातको जुनागढ़ जिल्लाको चोर्वाड गाउँमा जन्मिएका अम्बानीको बाल्यकाल गरिबीमै बित्यो। सानैदेखि आफ्नै व्यापार गर्नुपर्छ भन्ने सोच भएका अम्बानी जोखिम मोल्न नहिच्किचाउने स्वभावका थिए। 

अम्बानी ति व्यक्ति हुन् जसले एउटा पेट्रोल पम्पमा काम गर्दागर्दै एकदिन आफू पेट्रोलियम क्षेत्रको सबैभन्दा ठूलो व्यापारी हुने सपना देखे। पेट्रोल पम्पमा काम गर्ने कामदारहरुको लागि खोलिएको क्यान्टिनमा २५ पैसामा एक कप चिया पाइन्थ्यो तर ऊनी  नजिकैको ठूलो होटेलमा जान्थे जहाँ एक कप चियाको १ रुपैयाँ पर्दथ्यो। किन तिमी सस्तोमा चिया पिउन छोडेर महँगो ठाउँमा जान्छौ भनेर कसैले प्रश्न गर्दा उसको जवाफ हुन्थ्यो, 'त्यो ठूलो होटेलमा ठूला-ठूला व्यापारीहरु आउने गर्दछन। उनीहरु एक आपसमा व्यापार व्यवसायका कुराकानी गर्छन। त्यहि कुराकानी सुन्न म त्यो होटेलमा जाने गर्दछु।'

पढाईमा कमजोर थिए त्यसैले उनले कक्षा १० पनि पास गर्न सकेनन। उनका पिता गाउँको विद्यालयका प्रधान अध्यापक थिए। आफ्नो थोरै तलबले ठूलो परिवारलाई राम्ररी पालन पोषण गर्न सक्ने अवस्था थिएन। आफ्नो मन पढाईमा भन्दा पनि व्यापार व्यवसायतिर बढी लाग्ने कुरा सानै उमेरमा थाहा पाएका धिरजलालले १५ बर्षकै उमेरमा मन्दिर अगाडी फलफुल बेच्ने काम सुरु गरे।  त्यो काम त्यति राम्ररी नचलेपछि उनले पकोडा बनाएर बेच्न थाले। पकोडाको व्यापार पनि कहिले राम्रै चल्थ्यो तर कहिले त्यति राम्रो हुँदैनथ्यो। उनले सुरु गरेका दुबै व्यवसायहरुमा असफलता हात पारेर निराश हुँदै बसिरहेका बखत उनका पिताले उनलाई अब ब्यापार भन्दा पनि जागिर खान सल्लाह दिए। उनलाई पिताको सल्लाह ठिकै लाग्यो। त्यतिबेला उनका दाई पर्ने एकजना व्यक्ति यमनको पेट्रोल पम्पमा काम गर्थे।  १७ बर्षको उमेरमा धिरजलाल पनि यमन गए।
 
उनले यमनमा ८ बर्षजति काम गरे। ती ८ बर्षहरुमा उनले धेरै कुराहरु देखे, सिके। त्यतिबेला यमन पेट्रोलियम रिफ़ाइनरीको केन्द्र थियो। दुनियाँको विभिन्न देशका व्यापारीहरु यमन आउने गर्दथे। उनले धेरै व्यापारीहरुसँग व्यक्तिगत सम्बन्ध स्थापित गरे। सेल्स, मार्केटिंग, ब्राण्डिङ्ग, ट्रेडिङ्ग लगाएत धेरै कुराहरु उनले सिके। उनको मेहनती स्वभाव र स्मार्टवर्क गर्ने शैली देखेर प्रभावित भएका पेट्रोल पम्पका मालिकले उनलाई पम्पको म्यानेजर बनाउन खोजेका थिए तर अम्बानी आफ्नै देश फर्किएर व्यापार गर्न चाहन्थे।  

भारत फर्कीईसकेपछि अम्बानीले केहि समय अध्ययन गरे। अध्ययनको शिलशिलामा उनलाई थाहा भयो कि त्यतिबेला भारतमा पोलिएस्टरको धेरै माग रहेछ। भारतीय मसला र चिनीको माग यमनमा धेरै रहेको कुरा उनलाई थाहा थियो। त्यसपछि उनले यमनबाट पोलिएस्टर इम्पोर्ट गर्ने र इन्डियाबाट मसला र चिनी यमनमा एक्पोर्ट गर्ने व्यापार सुरु गरे। मुम्बई मस्जिदबन्दर नर्सिम्हा स्ट्रिटमा एउटा सानो कोठाबाट एउटा टेबल, एउटा टेलिफोन र ३ वटा कुर्सिहरुबाट रिलायन्स इण्डस्ट्रिजको सुरुवात भयो। रिलायन्सको सुरुवाती पुँजी जम्मा १५ हजार भारतीय रुपैंया थियो। 

सन् १९६६ मा उनले आफ्नै टेक्स्टाइल कारखानाको स्थापना गरे। उनले त्यहाँबाट बिमल ब्रान्डका कपडाहरुको उत्पादन सुरु गरे। सुरुमा बिमल ब्रान्डमा कपडा बेच्न कुनै होलसेलर तयार भएनन्। धिरजलाल अम्बानीले आफै सहर-सहर घुमेर रिटेलरहरु लाई भेट्दै 'कपडा बिक्यो भने पैसा दिनु नत्र सामान फिर्ता लैजान्छु' भन्दै बिमल ब्रान्डलाइ जताततै फैलाए। बिमल ब्रान्डमा अन्य ब्रान्डमा भन्दा नाफा बढी भएकाले पसलेहरुले पनि सोहि कपडा खरिदको सल्लाह दिन थाले भने उच्च गुणस्तर र सस्तो मूल्य भएका कारण ग्राहकहरुले पनि बिमलका कपडाहरुलाई अत्याधिक रुचाए। केहि समयपछि पुरै भारत भरि बिमलको एकछत्र राज भयो। 'वन्ली बिमल' भन्ने स्लोगन त्यतिबेला खुबै चर्चित थियो। 

बिमल ब्रान्ड अब घरघरमा पुगिसकेको थियो। धिरजलाल हिराचन्द अम्बानी अब धिरुभाई अम्बानी बनीसकेका थिए। 

भारतमा सेयरबजारबाट पैसा उठाएर व्यापारमा लगाउने कुराको सुरुवात धिरुभाई अम्बानीलेनै गरेका हुन्। सन् १९७७ मा जब उनलाई रिलायन्स टेक्स्टाइलको थप कारखाना खोल्नु थियो र उनी बैंकमा ऋण लिन गए, बैंकले ऋण दिएन। त्यसपछि उनले रु. १० अंकित मूल्यमा रिलायन्सको पब्लिक इस्स्यु (आईपीओ) आव्हान गरे। धिरुभाई अम्बानीलाई विश्वाश गरेर ५८००० लगानीकर्ताहरुले रिलायन्सको आईपीओ किने। केहि बर्षपछि नै रिलायन्सका २३ लाख लगानीकर्ताहरु पुगे। स्टेडियममा एजीएम बोलाउने रिलायन्स विश्वकै पहिलो कम्पनी हो। रिलायन्स इण्डस्ट्रिजले आफ्ना लगानीकर्ताहरुलाई धेरै राम्रो रिटर्न दिँदै आएको छ। रिलायन्सको एजिएम लगानीकर्ताहरुका लागि कुनै चाडभन्दा कम हुने गर्दैन। 

टेक्स्टाइल उद्योगमा सफलता हासिल गरिसकेपछि उनले पेट्रो केमिकल्स, टेलिकम्युनिकेसन, इन्फर्मेसन टेक्नोलोजी, उर्जा, विद्युत, रिटेल व्यापार, यातायात, पुँजी बजार लगाएतका क्षेत्रमा हात हाले। उनले जुन जुन क्षेत्रमा हात हाले सो क्षेत्रमा उच्च सफलता प्राप्त गरे। कुनै समय पेट्रोल पम्पमा काम गर्दै गर्दा पेट्रोलियम रिफ़ाइनरीको ठूलो बिजिनेस गर्छु भन्ने आफ्नो सपना पुरा गर्दै उनले रिलायन्स रिफ़ाइनरी स्थापना गरे जुन आज भारतकै सबैभन्दा ठूलो पेट्रोलियम रिफ़ाइनरी कम्पनी बन्न सफल भएको छ।  

१५००० भारतीय रुपैयाको पुँजीबाट व्यापार सुरु गरेका धिरुभाईले आफ्नो जीवनकालमा १६००० करोडको नेटवर्थ बनाउन सफल भए। सपना देख र सपना पुरा गर्न शतप्रतिशत मेहनत गर्न भन्ने धिरुभाई गरिब परिवारमा जन्मिएकाहरुको लागि ठूलो प्रेरणाका स्रोत हुन्। त्यस्तै सेयर बजारलाई कस्नुपर्छ, सेयर बजार अनुत्पादक क्षेत्र हो भन्ने हाम्रा नीति निर्माता तथा नियामकहरुले पनि उनको कथाबाट सिक्नु जरुरी छ। पुँजी बजारलाई कसरी कस्ने भन्दा पनि कसरी उद्योगहरुलाई बैंकबाट ऋण लिएर भन्दा पनि पब्लिक सेयर जारी गरेर पुँजी संकलन गर्नु फाइदाजनक छ भन्ने कुरा बुझाऊनु जरूरी छ। त्यसले सेयरबजारको मध्यमबाट धेरै भन्दा धेरै आम सर्वसाधारणहरु व्यापार/व्यवसाय र उद्योगमा जोडिनेछन् र ति ठूला ठूला उद्योगहरुले कमाउने नाफाको हिस्सेदार बन्नेछन। 

त्यस्तै कम पढेकाहरुले जीवनमा केहि गर्न सक्दैनन् भन्नेहरुका लागि गतिलो झटारो हुन् अम्बानी। कक्षा १० पनि पास गर्न नसकेका अम्बानीले दुनियाँकै उत्कृष्टमध्ये एक रिलायन्स इण्डस्ट्रिजको स्थापना गरे। सन् २००२ मा उनको निधन भयो। उनको निधनपश्चात उनका दुई छोराहरु मुकेश अम्बानी र अनिल अम्बानीले व्यापार अघि बढाए। अहिले मुकेश अम्बानी सफलताको शिखरमा छन। रिलायन्स जियोले पुरै भारतमा तहल्का मच्चाईरहेको छ। अनिल अम्बानीले बाबुको विरासत थाम्न सकेनन। केहि समयअघि उनी ब्याङ्क्रप्ट हुने अवस्थामा पुगेको भन्ने समाचारले अखबारका पानाहरु भरिएका थिए। सन् २००७ मा धिरुभाई अम्बानीको जीवनमा आधारित हिन्दी चलचित्र 'गुरु' प्रदर्शनमा आएको थियो। जसमा धिरुभाईसँग मिल्दोजुल्दो क्यारेक्टर 'गुरुकान्त देसाई' र रिलायन्ससँग मिल्दोजुल्दो 'शक्ति इण्डस्ट्रिज' को कथा बुनिएको छ। 

धिरुभाई अम्बानीको एउटा चर्चित भनाई प्रस्तुतयोग्य छ : 'यदि तिम्रो कुनै सपना छैन भने अरु कसैले उसको सपना पूरा गर्नको निमित्त तिमीलाई हायर गर्नेछ।'
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको