Like us!
Follow us!
Connect us!
Watch us!

उत्पादन कम्पनीकाे चरम लापरबाही : खानेपानीका जारभित्र कीरा र लेउ

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, १२ : २८ मा प्रकाशित

उत्पादन कम्पनीकाे चरम लापरबाही : खानेपानीका जारभित्र कीरा र लेउ

काठमाडौँ उपत्यकाभित्रै हैजाको महामारी फैलिएको वर्तमान समयमा सर्वसाधारणले पैसा तिरेर पिउने पानीमाथि पानी उत्पादन कम्पनीले अत्यन्तै लापरवाही गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनका क्रममा यस्तो लापरवाही भेटिएको हो । सर्वसाधारणले प्रति बोतल तथा जारलाई रु २० देखि रु ५० सम्म तिरेर पिउँदै आएका यहाँका विभिन्न खानेपानी कम्पनीले अत्यन्तै पुराना जार, कुहिएको लेउसमेत भेटिएका जारलाई अनुगमन टोलीले नष्ट गरेको छ ।

विभिन्न ब्रान्डका खानेपानीको जारभित्र कीरा र लेउ भेटिएको जनगुनासो बढेपछि जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता महासङ्घ, जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य सङ्घ, पत्रकारलगायत विज्ञ र सरोकारवाला निकायसहितको टोलीले अनुगमन गरी खानेपानीमा लापरवाही भएको पाइएको हो ।  

यहाँका विभिन्न खानेपानी उद्योगको स्थलगत अनुगमनमा फेला परेका सयौँको सङ्ख्याका पुराना जार नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । पुराना जारको अत्यधिक प्रयोगले पानीमा कीरा र लेउसमेत भेटिएकाले मानवीय स्वास्थ्यसँग खेलवाड गरेको पाइएको जनाउदै उनले भेटिएका त्यस्ता जारलाई नष्ट गरी पानी उद्योगलाई सचेत गराइएको बताए ।

खानेपानी उद्योगहरूको गम्भीर गल्तीका कारण जनतालाई कीरा खुवाएर मानवीय स्वास्थ्यसँग गम्भीर खेलवाड गरिरहेको समेत पुष्टि भएको भन्दै उनले त्यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताए । अनुगमनका क्रममा पानी उद्योगबाट दुईवटा उद्योगको पानी परीक्षणका लागि नमूना सङ्कलन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको