नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन् । उपसभापति खड्काले आज हेटौँडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रममा पार्टीको मूलभूत एजेन्डा पूरा गर्न पनि बहुमत आवश्यक रहेको बताए ।
उनले काँग्रेसले चाहेर मात्रै गठबन्धन नभएको बताउँदै दुई तिहाइ बहुमत पाएको नेकपाको जनविरोधी काम, मनलाग्दी र ज्यादतीको अन्त्य गर्न गठबन्धन गरेको बताए । उनले भने, “संविधान र लोकतन्त्र विरोधी गतिविधिले गठबन्धन निर्माण भएको हो ।”
कार्यक्रममा काँग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले स्थानीय तहमा प्राप्त नतिजाको आधारमा अझै मिहेनत गरेर आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अझै राम्रो गर्न आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्नेमा जोड दिइन् ।
काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सङ्घ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनोट क्रियाशील सदस्यबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले टिकट वितरणको विषयमा पार्टीभित्र विवाद देखिँदा घातअन्तर्गघात बढेको बताउँदै आगामी निर्वाचनमा क्रियाशील सदस्यबाटै उम्मेदवार छनोट गर्न जरुरी रहेको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस