Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दीको बिजुली वैकल्पिक लाइनबाट राष्ट्रिय प्रसारण लाइनमा जाेडिने

पत्रपत्रिका

आइतबार, ०५ भदौ २०७९, १० : २० मा प्रकाशित

दोर्दीको बिजुली वैकल्पिक लाइनबाट राष्ट्रिय प्रसारण लाइनमा जाेडिने

दोर्दी करिडोरका ४ वटा जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने भएको छ । लमजुङको दोर्दी खोलामा बनिरहेका आयोजनाको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिनुपर्ने थियो । तर उदीपुर–मार्कीचोक २२० प्रसारण लाइन समयमा बन्न नसक्दा वैकल्पिक प्रसारण रुटमार्फत उदीपुर–दलालदेखि मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको सिउँडीबारमा रहेको स्विचयार्डमा जोड्न लागिएको हो ।

‘हाम्रो लाइन तयार भएको थिएन । अहिले ६ किमि वैकल्पिक प्रसारण लाइन तयार गरेर दोर्दी करिडोरका आयोजनाको बिजुली प्रसारण लाइनमा जोड्न सकिने भएको छ,’ मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना प्रमुख चिरन्तनविक्रम राणाले भने, ‘दोर्दीखोला जलविद्युत् आयोजनाको २७ मेगावाट बिजुली तुरुन्तै जोड्न सकिने अवस्थामा छ । त्यसबाहेक दोर्दीखोला–१ को १२, माथिल्लो दोर्दीको २५ र चेपे जलविद्युत् आयोजनाबाट ७ मेगावाट प्रसारण लाइनमा जोड्न सकिन्छ ।’

दोर्दीखोला र दोर्दीखोला–१ जलविद्युत् आयोजनाले निर्माण पूरा गरे पनि प्रसारण लाइन अभावमा उत्पादन परीक्षण गर्न सकेका छैनन् । माथिल्लो दोर्दी ‘ए’ र सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले पनि निर्माण सम्पन्न मिति गुजारिसकेका छन् । प्रसारण लाइन नभएपछि यी आयोजनाले उत्पादन सुरु गर्न सकेका थिएनन् । अघिल्लो वर्ष असारमा आएको बाढीले चारवटा विद्युत् टावर ढालेकामा प्राधिकरणले अझै नबनाएपछि १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गर्न सकेको छैन । बाढीले बगाएकामध्ये २ वटा टावर अझै बनेका छैनन् । ती दुईवटा टावर बन्न नसक्दा कीर्तिपुर सबस्टेसन र उदीपुर सबस्टेसनको बिजुली जोड्न सकिएको छैन । प्रसारण लाइन समयमा नबनेपछि प्राधिकरणको व्यवस्थापनले २५ मेगावाटको माथिल्लो दोर्दी र १२ मेगावाटको दोर्दीखोला–१ आयोजनालाई पनि वैकल्पिक प्रसारण लाइनबाट राष्ट्रिय प्रणालीमा जोड्नका लागि प्रयास गरिरहेको छ ।

प्रसारण लाइन निर्माणमा समस्या देखिएपछि प्राधिकरणले अर्को एक आयोजनाको पनि रुट परिवर्तन गरेको छ । लमजुङमा बनिरहेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना ६ किलोमिटर दूरीमा रहेको तारीकुना सबस्टेसनमा जोडिनुपर्ने थियो । तर प्रसारण लाइन नबनेपछि केही दिनअघि मात्र ऊर्जा सचिवस्तरीय निर्णयमार्फत न्यादीलाई सिनोहाइड्रो सगरमाथा कम्पनीले अपर मर्स्याङ्दी–ए का लागि बनाएको प्रसारण लाइनमा जोडिएको छ । तारीकुना सबस्टेसनमा बिजुली जोड्ने अवस्था नरहेपछि प्राधिकरणले अपर मर्स्याङ्दी–ए को प्रसारण लाइनमा जान भनेको र आफूहरूले पनि त्यसमा सहमति जनाएको न्यादी हाइड्रोपावर कम्पनीले जनाएको छ ।

कान्तिपुर दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको