Like us!
Follow us!
Connect us!
Watch us!

केराको बिमा रकम नपाएपछि किसान आन्दोलित

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, १७ : ३१ मा प्रकाशित

केराको बिमा रकम नपाएपछि किसान आन्दोलित

बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराकाे बिमा रकम नपाएपछि पीडित किसान आन्दाेलनमा उत्रिएका छन् । मंगलबार उनीहरूले निजगढमा विरोध प्रदर्शन गरेका छन् । 

बिमाबापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा प्रर्दशन गरेका हुन्। पटकपटक माग गर्दा पनि केराको बिमा रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको दुखोसो छ । उनीहरुले दुई दिनभित्रमा रकम प्राप्त नभए सडक आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

पटकपटक माग गर्दा पनि बीमा कम्पनीले पाउनुपर्ने रकम दिएको छैन अब दशै मनाउने पैसा समेत किसानसंग छैन, समयमै केराको बीमाको रकम नपाए बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको अवस्था भएको किसान साधुराम खरेलले बताए । उनले दुई दिनभित्रमा रकम प्राप्त नभए थप सशक्त रुपमा चरणवद्ध आन्दोलन गर्ने बताए । 

यस्तै बिमा रकम माग गर्दै संघका अध्यक्ष एकबहादुर श्रेष्ठको नेतृत्वमा रहेको निजगढका किसानहरुको अर्को टोली काठमाडाैँ पुगेको छ । टोलीले आइतबार कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोविन्द शर्मासँग भेट गरेर किसानको बिमा रकम तत्काल उपलब्ध गराउन माग गरेको छ । 

तत्कालीन हिमालयन इन्स्याेरेन्स कम्पनी हाल हिमाल एभरेष्ट इन्स्याेरेन्समार्फत निजगढका किसानले केरा खेतीको बिमा गरेका थिए । निजगढका किसानहरुले कम्पनीसँग बीमाबापतको करिब ६ करोड रुपैया भुक्तानी लिन बाँकी छ । सम्झौताअनुसार बिमा कम्पनीले प्रतिकठ्ठा केराको क्षतिमा किसानलाई १४ हजारदेखि १५ हजार रुपैयासम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ ।

गत वैशाखको दोस्रो हप्ता आएको हुरीले क्षति गरेपछि किसानहरुले सबै प्रकृया पूरा गरेर सोही समयमा बिमा रकम दाबी गरेका हुन् । गत वैशाख १६ गते वर्षासँगै आएको हुरीले ५ करोडभन्दा बढी मूल्य बराबरकाे केरा खेती नष्ट गरेकाे थियो । 

स्थानीय किसानका निजगढमा करिब १२ सय बिघा केरा खेती गरिएकोमा करिब १२० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरुले बताएका छन् ।

केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको