Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको ३ खर्ब २१ अर्ब सम्पत्ति बन्धक, धितोपत्र बोर्ड बन्यो मुकदर्शक !

बसन्त पाण्डे

विहीबार, २७ असोज २०७९, ०८ : २६ मा प्रकाशित

लगानीकर्ताको ३ खर्ब २१ अर्ब सम्पत्ति बन्धक, धितोपत्र बोर्ड बन्यो मुकदर्शक !

करिब ४ महिनाअघि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सार्वजनिक रुपमा उद्घोष गरे, 'संसारमा कहिँ पनि मर्जरको नाममा सेयर कारोबार रोक्का हुने गरेको मैले देखेको छैन। यहाँ लगानीकर्ताहरुले यस्तो कुरालाई कसरी अहिलेसम्म टोलेरेट गरेका रहेछन म अचम्ममा परेको छु। अबको १५ दिनभित्र रोक्का रहेका कम्पनीहरुको कारोबार सुरु हुनेछ।' 

तर हमालको १५ दिन अझै आएको छैन। आजको मितिमा ३१ वटा कम्पनीहरुको कारोबार रोक्का राखिएको छ। 

केहि समयअघि धितोपत्र बोर्डले 'संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९' को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको थियो। सरोकारवालाहरुको राय सुझाव समेत समेटी सो मस्यौदालाई अन्तिम रुप दिने भन्ने तयारी धितोपत्र बोर्डले गरेको थियो तर अहिलेसम्म उक्त मस्यौदाले अन्तिम रुप पाउन सकेको छैन।  

लगानीकर्ताको ३ खर्ब २१ अर्बको सम्पति बन्धक 

अहिले नेप्सेमा सुचिकृतमध्ये ८ वटा वाणिज्य बैंकहरु, ८ वटा जीवन बीमा कम्पनीहरु, ८ वटा निर्जीवन बिमा कम्पनीहरु र ७ वटा लघुवित्त कम्पनीहरु गरी कुल ३१ वटा कम्पनीहरुको सेयर कारोबार रोक्का राखिएको छ। ती ३१ वटै कम्पनीहरुको बजार पुँजीकरण ३ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ। यसरी अहिले लगानीकर्ताहरुको ३ खर्ब २१ अर्ब बराबरको सम्पत्ति बन्धक बनाइएको छ। सेयर कारोबार रोक्का भएकै कारण ति कम्पनीका सेयरहोल्डरहरुले अत्यावश्यक पर्दा समेत सेयर बिक्रि गरेर पैसा निकाल्न सकेका छैनन्।  

कारोबार रकम घट्नुको मूख्य कारण 

३१ वटा कम्पनीको सेयर कारोबार रोक्का हुँदा नेप्सेमा दैनिक रुपमा हुने कारोबार रकम समेत उच्च रुपमा घटेको छ। पछिल्लो समय बिमा समिति र राष्ट्र बैंकले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा फोर्सफुल मर्जरकै निती लिएपछि अधिकांश बैंक तथा बिमा कम्पनीहरु मर्जमा गएका छन। बिमा क्षेत्रका कम्पनीहरु धमाधम मर्जमा जान थालेपछि केहि साताको अन्तरालमै बिमा कम्पनीहरुको सेयर मूल्य आधाभन्दा धेरैले घटेको थियो। राष्ट्र बैंकले सेयर धितोकर्जामा ४/१२ करोडको नीति लिएदेखि नै वाणिज्य बैंकहरुको सेयर मूल्यमा पहिरो जान थालेको थियो, झन् मर्जमा गएर कारोबार रोकिने भएपछि त मूल्य पिंधमै आईपुग्यो। बजारमा सर्वाधिक कारोबार हुने गरेका कम्पनीहरुको सेयर कारोबार रोकिँदा अहिले मुस्किलले दैनिक ५०/६० करोडको कारोबार हुने गरेको छ। यसले एकातर्फ लगानीकर्ताहरुको सम्पत्ति बन्धक बनाएको छ भने अर्कोतर्फ कारोबार रकम निकै न्यून हुँदा आम लगानीकर्ताहरुको मनोबल समेत घटाएको छ।  

तरलता संकुचनमा पुग्यो बल 

कारोबार रोक्का भएका कम्पनीहरुमध्ये ५०% जति कम्पनीहरुको कारोबार रोक्का भएको १ वर्ष नाघिसकेको छ। यत्रो लामो समयसम्म पैसा फ्रिज भएर बस्दा त्यसको प्रत्यक्ष प्रभाव तरलतामा पनि परेको छ। ३ खर्ब भनेको सानो रकम होईन। सो मध्येको प्रोमोटर सेयर हटाएर सर्वसाधारण सेयर मात्रै लिने हो भने पनि करिब १ खर्ब रकम र प्रत्यक्ष रुपमै फ्रिज भएको देखिन्छ। अहिले बैंकिंग प्रणालीमा लगानीयोग्य पुँजीको चरम अभाव भैरहेको बेलामा १ खर्ब पैसा बैंकिंग प्रणालीमा भित्रिने हो भने त्यसको परिणाम निकै सकारात्मक देखिने थियो।  

कम्पनीहरु मर्जमा जाँदा कारोबार लामो समयका लागि रोकिनु हुँदैन भन्ने कुरामा धितोपत्र बोर्ड सचेत हुँदा हुँदै पनि अवस्था फेरिन सकेको छैन।यसअघि राष्ट्र बैंकको निर्देशिकाका कारण समस्या परेको भन्दै राष्ट्र बैंकलाई देखाएर बोर्ड पन्छिने गरेको थियो तर पछिल्लो मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सुचिकृत कम्पनीहरुको सेयर कारोबार रोक्का राख्ने वा नराख्ने भन्ने कुराको निर्क्यौल गर्ने अधिकार धितोपत्र बोर्डलाई नै सुम्पिएपछि अब बोर्ड पन्छिने ठाउँ छैन। नयाँ स्टक एक्सचेन्ज तथा ब्रोकर लाइसेन्सको कुरामा धेरै ध्यान दिनु परेकाले यतातर्फ खासै केहि गर्न नसकेको तर अब छिट्टै रोक्का रहेका कम्पनीहरुको कारोबार खुल्ने भन्ने जवाफ दिएर बोर्डका उच्च पदस्थहरु अझै थाकेका छैनन्। तर लगानीकर्ताहरुले भने ओठे जवाफ भन्दा पनि याक्सन खोजेका छन्। रोक्का रहेका ३१ कम्पनीहरुको कारोबार तत्कालै खुलोस र आफूहरुको फ्रिज भएर रहेको ३ खर्बभन्दा बढीको सम्पत्ति तत्काल फुकुवा होस् भन्ने जोडदार माग लगानीकर्ताहरुको रहेको छ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको