Like us!
Follow us!
Connect us!
Watch us!

यसअघि डिसेम्बरबाटै भएको थियो बुलको सुरुवात, ३ महिनामा ५०% बढेको थियो नेप्से

अर्थ संसार

सोमबार, २५ मंसिर २०८०, ०७ : ५४ मा प्रकाशित

यसअघि डिसेम्बरबाटै भएको थियो बुलको सुरुवात, ३ महिनामा ५०% बढेको थियो नेप्से

मंसिर २४ (डिसेम्बर १०) का दिन नेप्से ६% ले बढ्यो। कारोबार खुलेदेखि नै बढ्न थालेको नेप्से सुरुवाती ५ मिनेटमै ४% ले बढ्यो र नियमानुसार २० मिनेटका लागि बन्द भयो। २० मिनेटपछि कारोबार सुचारु भयो र केहि मिनेटभित्रै नेप्से परिसूचक ५% ले बढ्यो र ४० मिनेटका लागि कारोबार बन्द भयो। लगानीकर्ताहरुले आक्रामक रुपमा खरिद गर्दा अन्तत: ६% ले बढेर दिनभरीका लागि कारोबार हल्ट भयो। 

नेप्सेमा यो परिदृश्य धेरै वर्षको अन्तरालपछि देखियो। २०७८ भदौमा ३२२७ को बिन्दुमा पुगेको नेप्से परिसूचक त्यसपछि लगातार घट्दै २०७९ असार १० गते १८०७ को बिन्दुमा आईपुगेको थियो। त्यसयता नेप्से परिसूचक २२०० र १८०० को बिचमा साईडवेज बसिरहेको छ।  

केहि रोचक प्रसङ्गहरु 

मौद्रिक नीतिको समिक्षाले बनेको माहोल 

गत शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गरिसकेपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा केहि रोचक दृश्य देखियो। यस अघिका यस्ता सम्मेलनहरुमा पत्रकारहरुले अर्थतन्त्रको वाह्य अवस्था निकै बलियो हुँदा पनि आन्तरिक अर्थतन्त्र चलायमान हुनेगरी किन राष्ट्र बैंकले लचिलो नीति लिईरहेको छैन भन्ने प्रश्न गर्ने गर्दथे तर सो सम्मेलनमा राष्ट्र बैंक चाहिने भन्दा अलि बढी नै लचक भयो कि भन्ने किसिमका प्रश्नहरु पत्रकारहरुले राखेका थिए। मुद्रास्फीति ७.५% हुँदै गर्दा नीतिगत दर ५.५% मा झार्नु हुँदैन थियो भन्ने राय अधिकांश पत्रकारहरुको देखिन्थ्यो। सो पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले रियल स्टेट र सेयर धितोकर्जाको जोखिम भारलाई १५०% बाट १२५% मा झार्दा बैंकिंग प्रणालीमा थप ५० अर्बको हाराहारीमा लगानीयोग्य पूँजी थपिने बताएका थिए। 

राष्ट्र बैंकले यति लचिलो नीति लेला र विशेष गरी प्रत्यक्ष रुपमा सेयर बजार सम्बन्धी केहि कुरा मौद्रिक नीति समिक्षामा आउला भन्ने विश्वास आम लगानीकर्तामा थिएन। तर ब्याजदर अझै घटाउने गरी नीति आउनु र ५० लाख भन्दा माथिका सेयर धितोकर्जाको जोखिमभार १२५% मा झार्नुले लगानीकर्ताको मनोबल व्हात्तै बढाईदियो, जसको रिफ्लेक्सन आइतबारको बजारमा देखियो।  

बैंकहरुले ब्याजदर घटाउँदा झन् बढ्यो कन्फ़िडेन्स 

मौद्रिक नीतिको समिक्षाबाट सकारात्मक बनेका लगानीकर्ताहरुको मनोबललाई बुस्ट अप गर्ने काम भने एनआईसी एसिया र कुमारी बैंकले गरे। राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्नेबित्तिकै ब्याजदर परिवर्तन गर्न मसान्त कुर्नु नपर्ने नियमको उपयोग गर्दै यी दुई बैंकहरुले पुष महिनाका लागि ब्याजदर घटाएको सूचना सार्वजनिक गरे। मङ्सिर महिनाको लागि मुद्दती निक्षेपतर्फ उच्च रुपमा ब्याजदर घटाएको एनआईसी एसिया बैंकले पुषमा पनि घटाउँदा बजारमा निकै सकारात्मक माहोलको सिर्जना भयो।  

२०१९ मा पनि डिसेम्बरबाटै बढ्न थालेको थियो बजार 

सबैभन्दा रोचक कुरा त सन् २०१६ को जुलाईमा १८९० पुगेको नेप्से परिसूचक २०१९ को नोभेम्बरमा १०९८ को बिन्दुसम्म खसेको थियो। २०१९ को डिसेम्बरबाट बजार बढ्न थाल्यो र ३ महिनाको अवधिमै ५०% को हाराहारीमा बढ्दै १६७४ सम्म पुग्यो। त्यतिबेला अधिकांश कम्पनीहरुको मूल्य १००% को हाराहारीमा बढेका थिए। सबैभन्दा धेरै बढ्नेमा माइक्रोफाइनान्स सेक्टर थियो। त्यसअघि नेप्से परिसूचक ११०० देखि १२५० को बिचमा साइडवेज बसिरहेको थियो। करिव २१ महिना साइडवेज बसेको नेप्से सो र्यालीपछि बुलिश चरणमा प्रवेश गर्यो र नेप्से परिसूचक छोटो समयमै ३२०० माथि पुग्यो। 

क्यापिटल म्याक्स (ब्रोकर नम्बर ६२) देखियो स्मार्ट 

बजारले बारम्बार १८१५ देखि १८५० को सपोर्ट जोनलाई टेस्ट गरिरहँदा यसपटक बजार १८०७ मा नरोकिने, १८०७ ब्रेक गरेर बजार तल जाने र त्यसो भएको खण्डमा प्यानिक सेलिङ्ग आउने अनुमान धेरै लगानीकर्ताहरुले गरेका थिए। त्यसैले यो बीचमा किन्ने भन्दा बेच्नेहरु हावी देखिन्थे। अधिकांश ब्रोकरका लगानीकर्ताहरु आत्तिएर सेयर बेचिरहेको बेला क्यापिटल म्याक्स (ब्रोकर नम्बर ६२) का लगानीकर्ताहरु भने बिक्रि भन्दा खरिदतर्फ केन्द्रित रहेको देखियो। नोभेम्बर २८ देखि डिसेम्बर १० सम्मको तथ्याङ्क हेर्दा उच्च कारोबार गर्ने १० (टप टेन) ब्रोकरहरुमध्ये क्यापिटल म्याक्सको खरिद धेरै बिक्रि कम देखिन्छ। यो अवधिमा अग्रहरी सेक्युरिटिज (ब्रोकर नम्बर ६) र डाइनामिक मनी म्यानेजर्स (ब्रोकर नम्बर ४४) को खरिद बिक्रीभन्दा निकै धेरै देखिन्छ तर ती ब्रोकरहरुबाट एनआरआईसीको प्रोमोटर सेयर निकै ठूलो मात्रामा खरिद भएका कारण खरिद बढी देखिएको हो। साधारण सेयरको कारोबारमा खरिद र बिक्रिको अनुपात हेर्दा टप कारोबार गर्ने अन्य ब्रोकरहरुको बिक्रि अनुपात बढी हुँदै गर्दा क्यापिटल म्याक्स खरिदमा आक्रामक देखिएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको