Like us!
Follow us!
Connect us!
Watch us!

बियरिस चरणमा डिसेम्बरदेखि मार्चको बिचमा २५ देखि ४४% सम्म बाउन्स आउने गरेको नेप्सेको इतिहास

बसन्त पाण्डे

आइतबार, ०६ कार्तिक २०७९, १५ : ३४ मा प्रकाशित

बियरिस चरणमा डिसेम्बरदेखि मार्चको बिचमा २५ देखि ४४% सम्म बाउन्स आउने गरेको नेप्सेको इतिहास

सन् २०११ को डिसेम्बरमा नेप्से परिसूचक ३०० को बिन्दुमा झरेको थियो। २०११ को डिसेम्बर देखि २०१२ को मार्च सम्म बजार साइडवेजमा गयो। २०१२ मार्चमा २९२ को बिन्दुमा बटम लगाइसकेपछि सन् २०१६ सम्म बजार बुलिश भयो। यो ४ वर्षको अवधिमा नेप्से परिसूचक ५७५ % ले बढेको देखिन्छ। सन् २०१२ को मार्चमा २९२ को बिन्दुमा झरेको नेप्से परिसूचक सन् २०१६ को जुलाईमा १८८१ को बिन्दुसम्म पुगेको थियो।  

सन् २०१२ देखि सन् २०१६ को ४ वर्षे बुलमा बीच बीचमा करेक्सनहरु पनि आएका देखिन्छन। २०१२ को मार्चदेखि बढ्न थालेको नेप्से परिसूचक  सन् २०१४ को जुलाईमा १०८० को बिन्दुसम्म पुग्यो। २०१४ को जुलाईबाट घट्न थालेको बजार २०१४ को नोभेम्बरसम्म घटेको देखिन्छ। नोभेम्बरमा ८४२ को बिन्दुसम्म झरेर त्यसपछि फेरी बढ्न थालेको नेप्से अगस्ट २०१५ मा १२०५ को बिन्दुसम्म पुग्यो। नोभेम्बर २०१५ मा नेप्से परिसूचक १०२० को बिन्दुसम्म खस्यो र त्यसपछि बढ्न थालेको नेप्से परिसूचक जुलाई २०१६ मा १८८१ को बिन्दुसम्म पुग्यो। 

सन् २०१२ देखि २०१६ सम्म चलेको बुलमा प्राय: जुलाई/अगस्टमा बजारले टप लगाउने र नोभेम्बर/जनवरीमा  बटम लगाउने गरेको देखिन्छ।  

सन् २०१६ जुलाईमा नेप्से परिसूचक १८८१ को बिन्दुमा पुगिसकेपछि बजारमा बियरिस चरण सुरु भएको थियो। २०१६ को जुलाईबाट बियरिस चरणमा प्रवेश गरेको बजारले सन् २०१९ को डिसेम्बरमा बटम लगायो। २०१६ को जुलाईमा १८८१ को बिन्दु चुमिसकेपछी फेब्रुअरी २०१७ सम्म बजार लगातार घट्यो र १२१० को बिन्दुसम्म झर्यो। फेब्रुअरी २०१७ बाट बढ्न थालेको बजार अप्रिलमा १७५० को बिन्दुसम्म पुगेको थियो जुन ४४% को वृद्धि थियो। त्यसपछि बजार लगातार घट्यो। सन् २०१९ को जनवरी महिनामा नेप्से परिसूचक ११०० को बिन्दुमा झरिसकेको थियो। ११०० को बिन्दुबाट बढेर २०१९ को मे महिनामा नेप्से परिसूचक १३४५ को बिन्दुसम्म पुग्यो जुन करिब २४% को वृद्धि थियो। त्यसपछि बजार फेरी घट्न थाल्यो र २०१९ को नोभेम्बरमा फेरी ११०० कै बिन्दुमा झर्यो। त्यसपछि फेरी बजारमा बुलिश र्याली सुरु भएको देखिन्छ।  

सन् २०१६ को जुलाई देखि २०१९ को डिसेम्बर सम्म करिब ३.५ वर्ष लामो बियरिस बजारमा २०% भन्दा माथिका जम्मा ३ वटा बाउन्सहरु आएको देखिन्छ। 

१) फेब्रुअरी २०१७ देखि अप्रिल २०१७ सम्म ४४% को वृद्धि ( नेप्से परिसूचक १२१५ बाट १७५० सम्म पुगेको )
२) मार्च २०१८ देखि अप्रिल २०१८ सम्म २७% को वृद्धि ( नेप्से परिसूचक ११४० बाट १४५० सम्म पुगेको ) 
३) फेब्रुअरी २०१९ देखि मे २०१९ सम्म २४% को वृद्धि (नेप्से परिसूचक १०९० देखि १३६० सम्म पुगेको) 

२०१९ को डिसेम्बरबाट फेरी अर्को बुलिश र्याली सुरु भयो। सो बुलिश र्यालीमा एउटा मात्रै २०% माथिको करेक्सन आएको देखिन्छ। बुलिश र्यालीको सुरुवातमा २०१९ को डिसेम्बर देखि बढ्न थालेको बजार फेब्रुअरी २०२० मा १६६० सम्म पुग्यो। त्यसपछि करेक्सन आएको बजार जुन २०२० मा ११४५ को बिन्दुसम्म खस्यो। त्यसपछि बढ्न थालेको बजार लगातार उच्च अंकले बढ्दै गयो र ११४५ बाट ३२२७ सम्म पुग्दा १०/१२% भन्दा ठूलो करेक्सन आएन। २०२१ को अगस्टमा नेप्से परिसूचक ३२२७ को बिन्दुसम्म पुग्यो। 

अगस्ट २०२१ मा ३२२७ को बिन्दुबाट घट्न थालेको बजार डिसेम्बर २०२१ मा २२५९ को बिन्दुसम्म झर्यो। २२५९ बाट बढ्न थालेको बजार फेब्रुअरी २०२२ मा २९८३ को बिन्दुसम्म पुग्यो। २२५९ बाट २९८३ सम्म पुग्दा ३२% को वृद्धि भएको देखिन्छ। त्यसपछी बजार लगातार खस्यो र जुन २०२२ मा १८०७ सम्म आइपुग्यो। अगस्टमा २२२४ को बिन्दुसम्म पुग्यो जुन २३% को बढोत्तरी थियो। २२२४ बाट नेप्से परिसूचक लगातार खसिरहेको छ। अहिले बजार १८५० को आसपासमा रुमल्लिईरहेको छ।  

सन् २०१२ मा मार्च महिनामा बियरिस साइकल पूरा गरेर बजार बुलिश यात्रा तर्फ लागेको थियो। २०११ को डिसेम्बर मै नेप्से परिसूचक ३०० को बिन्दुमा झरिसकेको थियो। डिसेम्बर देखि मार्च सम्म ८/१० अंकको तलमाथिमा बजार घुमिरह्यो। २०१२ देखि सुरु भएको बुलको बीच बीचमा आएका करेक्सनहरुको बटम प्राय: जनवरी/फेब्रुअरीमा लागेको पाइयो।  

त्यस्तै सन् २०१६ देखि २०१९ सम्मको बियरिस बजारमा पनि जनवरी देखि मार्चको अवधिमा बटम लागेर बजारमा बाउन्स आएको देखिन्छ।

नेप्सेको इतिहास हेर्दा डिसेम्बर देखि मार्चका महिनाहरुमा नेप्सेको घट्ने क्रम सकिएर बढ्ने क्रम सुरु हुने गरेको देखिएको छ। यसरी बढ्ने क्रममा बजार कम्तिमा २०% ले बढ्ने वा बियरिस साइकल नै सकिएर बुलिश यात्रामा अघि बढ्ने गरेको पाइएको छ। अहिले २०२२ को अक्टोबर हुँदै गर्दा बजारले बटम लगाउने गरेको डिसेम्बर देखि फेब्रुअरी/मार्च नजिकै छ।  यदि इतिहास दोहोरिने हो भने केहि महिनापछि नै नेप्सेले कम्तिमा २०% भन्दा माथिको बाउन्स ब्याक लिने वा नयाँ बुलिश र्याली सुरु हुनसक्ने सम्भावना देखिएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको