Like us!
Follow us!
Connect us!
Watch us!

बजार बढ्नुको रहस्य यस्तो, कहाँबाट आउँदैछ पैसा ?

बसन्त पाण्डे

आइतबार, २० कार्तिक २०७९, १७ : २२ मा प्रकाशित

बजार बढ्नुको रहस्य यस्तो, कहाँबाट आउँदैछ पैसा ?

लामो समयदेखि रातो देखिएको सेयर बजारमा विगत केहि दिनदेखि हरीयाली देखिएको छ। नेप्से परिसूचक बढ्दै गर्दा कारोबार रकम पनि बढेको छ। बजार घट्दै गर्दा दैनिक ५०/६० करोडको कारोबार हुने गरेको थियो। अहिले बजार बढ्न थालेपछि दैनिक १.५ अर्बको कारोबार हुन थालेको छ। प्राय: लगानीकर्ताहरु वियरिस माइण्डसेट बोकेर बसेको अहिलेको अवस्थामा बजारमा कसले सेयर किन्दै छ र यतिका पैसा कहाँबाट आउँदैछ भन्ने चर्चा परिचर्चा हुन थालेको छ।  

सामान्य लगानीकर्ताहरु बजार छिर्न डराइरहेको अहिलेको अवस्थामा दैनिकजसो डेढ अर्बको कारोबार हुन थालेपछि बजारप्रति नकारात्मक रहेका लगानीकर्ताहरु पनि बजार छिर्न थालेको ठूलो कारोबार गर्ने ब्रोकरका एक कर्मचारी बताउँछन। 'बजार १८६५ भन्दा माथि लाग्न थालेपछि मर्निङ्ग स्टार क्यानडलस्टिक प्याटर्न भ्यालिड हुनुका साथै २२२४ को बिन्दुबाट बजार खस्दै गर्दा बनेको डाउन ट्रेन्ड पनि ब्रेक हुन गएपछि चार्ट हेरेर ट्रेड गर्ने ट्रेडरहरु बजार छिरेका थिए, गत बिहिबार अधिकांशले नाफा बुक गरे' उनले बताए। 'ट्रेडरहरु १९६० भोलुम सहित ब्रेक गरेमा फेरी बजार छिर्ने योजनामा छन्, आज डेढ अर्ब बढीको कारोबार रकम सहित १९६० ब्रेक गरेकाले भोलि ट्रेडरहरु छिर्ने देखिएकाले भोलि कारोबार रकम झन् बढ्छ जस्तो मलाई लाग्छ', ती कर्मचारीले बताए।  

किन बढ्यो बजार ?

बजारका धेरै अनुभवी लगानीकर्ताहरु पनि अहिले बजार किन बढ्यो भनेर चकित परेका छन्। प्राय: बजारको सहि आँकलन गर्दै आएका लगानीकर्ताहरु पनि यसपाली चुके। बरु यसपाली चार्टलाई फलो गर्ने ट्रेडरहरुले राम्रो नाफा कमाउन सफल भएका छन्। 
कार्तिक ४ गते सर्बोच्चले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन आदेश जारी गर्यो। सो दिन शुक्रबार परेको थियो। स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको प्रकृया रोकिने कुराले बजारमा पहिरो आउने प्राय: लगानीकर्ताहरुको आँकलन थियो। तर सो को विपरित आइतबार बजार खुलेदेखि नै बजार बढ्न थाल्यो। सो दिन बजार दोहोरो अंकले बढेर बन्द भयो। त्यसपछि तिहारको छुट्टी सुरु भयो। छुट्टी सकिएर बजार खुलेदेखि नै बजार बढिरहेको छ।  

'ब्रोकर लाइसेन्स र स्टक एक्सचेन्जको लाइसेन्सको प्रकृया रोक्न सर्बोच्चले दिएको आदेशले बजार घटाउन सक्छ भन्ने कुरा सो रिट हाल्न र अदालतबाट आदेश जारी गराउने खेल खेल्नेहरुले राम्ररी बुझेका थिए। यदि अदालतले आदेश दिनेबित्तिकै बजार घट्ने हो भने त्यसले बजारमा थप प्यानिक सिर्जना गर्ने र बजार उच्च अंकले घट्नसक्ने र यदि बजार त्यसरी घटे आम लगानीकर्ताहरुले सामाजिक संजालमा लाइसेन्सको प्रकृया रोकिएको विषयमा आवाज उठाउने अनि त्यसले सर्बोच्चको निर्णयमै प्रभाव पार्न सक्ने हुँदा बजारलाई जसरी पनि बढाउनुपर्छ भन्नेमा बजारका ति खेलाडीहरु थिए। बजार बढेको खण्डमा आम लगानीकर्ताहरु तैं चुप मैं चुप गरेर बस्ने र कसैले पनि लाइसेन्सको प्रकृया रोकिएकोमा बिरोध नजाउने कुरालाई राम्ररी बुझेका उनीहरुले २ दिन बजार थामिदिने बित्तिकै बजारमा चार्म आउन थालेको थियो।' एक बजार विश्लेषकले पंक्तिकारलाई बताए।  

'लाइसेन्स रोक्न खोज्नेहरुले हाई क्याप कम्पनीहरु जस्तै एनटिसी, नेपाल लाइफ इन्स्योरेन्स , शिबम जस्ता हाई क्याप कम्पनीहरु उचलिदिए अनि बजार थामियो। सोहि बेला बैंकहरुले राम्रो वित्तिय विवरण प्रस्तुत गरे।  बैंकको सेयर अब यो भन्दा तल झर्दैन भन्दै राम्रो वित्तिय विवरण निकालेका बैंकका सेयरमा लगानीकर्ताहरु आकर्षित भए। त्यसले पनि बजारलाई बढाउन इट्टा थप्ने काम गर्यो', ति विश्लेषकले बताए।  

अर्का एक अनुभवी लगानीकर्ता ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्सको लागि जम्मा भएको पैसा बजारमा आउँदा बजार बढेको बताउँछन्। '४६ वटा ब्रोकर लाइसेन्सको लागि आवेदन परेको थियो। कम्तिमा २० करोड पुँजी हुनुपर्ने प्रावधान छ। ४ वटा कम्पनीहरुले ६० करोड पुँजी भएको र एउटाले १ अर्ब ५० करोड पुँजी भएको ब्रोकर लाइसेन्सको लागि आवेदन गरेका थिए। ब्रोकर लाइसेन्सको लागि १२ अर्बभन्दा बढी रकम संकलन भएको थियो। बजारमा संलग्न थुप्रै लगानीकर्ताहरुले ब्रोकर लाइसेन्सका लागि पैसा हालेका थिए। १/२ करोड पैसा हाल्नेहरु थुप्रै छन्। अहिले सो सबै रकम एकठाउँमा थुप्रिएको छ। अदालतले आदेश दिईसकेपछि केहि समय यो केसले किनारा नपाउने बुझेका उनीहरु बरु जम्मा भएको पैसा बजारमा लगाएर केहि कमाउन सकिन्छ कि भन्ने दाउमा छन्। यसले पनि बजारमा कारोबार धेरै भएको हो।' पंक्तिकारसँगको कुराकानीमा उनले भने।  

अझै बढ्ला बजार ?
आज आइतबार नेप्से परिसूचक १९६० भन्दा माथि लाग्दै गर्दा करिब १ वर्षअघि २९८३ बाट बजार तलतिर लाग्दै गर्दा बनेको डाउन ट्रेण्डलाईन ब्रेक भएको छ। अन्य सबै टेक्निकल इण्डिकेटरहरुले बजार बलियो अवस्थामा रहेको देखाईरहेका छन्। आज नेप्से परिसूचक १९३५ भन्दा माथि लाग्दै ५० दिनको मुभिंग एभरेज लाइनभन्दा माथि बजार गएकाले बजारको सेकेण्डरी ट्रेण्ड पनि बुलिश भएको छ। बजारमा लगानीकर्ताहरु उत्साहित भएका छन्। ब्रोकर लाइसेन्स र स्टक एक्सचेन्जका लागि विभिन्न ग्रुपहरुले संकलन गरेको अरबौं पैसा बजारमा आउनसक्ने सम्भावना देखिएको छ। चुनावमा तरलता बढ्छ भन्ने अर्को फ्याक्टरले पनि काम गर्ने देखिन्छ। ब्याजदर अब घट्ला नघट्ला तर बढ्न चाहिं बढ्दैन भन्नेमा प्राय: लगानीकर्ताहरु विश्वस्त देखिन्छन। धेरै कम्पनीहरुको मूल्य निकै तल्लो बिन्दुमा आइसकेको अहिलेको अवस्थामा सबै वातावरण मिल्दै जाँदा बजार थप बढ्नसक्ने बजारका अनुभवी लगानीकर्ताहरुले बताएका छन्।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको