लगानीकर्ताहरुले सेयर खरिद गरेको २ दिनभित्रमा ब्रोकरलाई भुक्तानी गर्नुपर्ने नियम भएतापनि अधिकांशले तोकिएको समयभित्र भुक्तानी गर्ने गरेका छैनन्। ब्रोकरहरुले पनि सानो कारोबार गर्ने लगानीकर्ताहरुलाई सेयर किनेको २ दिनभित्रै भुक्तानी गर्न लगाए तापनि ठूला लगानीकर्ताहरुलाई करोडौं रकम उधारो दिने गरेका छन्। उनीहरुले बैंकहरुबाट पाएको ओभरड्राफ्ट सुविधा प्रयोग गरि समयसिमा भित्रै नेप्सेमा सेटलमेन्ट गर्ने गरेका छन्। अहिले बैंकहरुले ब्रोकरलाई दिँदै आएको ओभरड्राफ्ट (ओडी) सुविधामा कडाई गरिँदैछ भन्ने कुराले बजार तताएको छ। विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा ब्रोकरहरुले पाउँदै आएको ओभरड्राफ्ट सुविधा खोसियो भने त्यसले बजारलाई निकै प्यानिक बनाउने भन्दै त्रास फैलाईरहेका छन्। ब्रोकरहरुले ओभरड्राफ्ट सुविधा पाएनन् भने ठूला लगानीकर्ताहरुलाई अहिले ब्रोकरले दिँदै आएको उधारो सुविधा खोसिने र सो कुरा बजारको लागि निकै नकारात्मक रहेको कुराको व्यापक प्रचार प्रसार भईरहको छ। राष्ट्र बैंकले वर्किङ्ग क्यापिटल लोनको दुरुपयोग भईरहेको भन्दै सो लाई कडाई गर्न लागिरहेको सन्दर्भमा यो कुरा उठेको हो।
खास कुरा के हो ?
१२ वटा ब्रोकरहरुले प्रभु बैंकबाट बैंक ओभरड्राफ्ट सुविधा लिईरहेका छन्। अन्य ब्रोकरहरुले ग्लोबल आईएमई बैंकबाट सो सुविधा लिईरहेका छन्। यी दुई बैंकहरु बाट मात्रै ब्रोकरहरुले ओडी लोन लिईरहेका छन्। अहिले प्रभु बैंकले ब्रोकरहरुलाई बोलाएर ब्रोकरहरुले लिएको ओभरड्राफ्ट लोन सेटल गर्न दवाब दिएको भन्ने हल्ला गरिएको हो। बैंकहरुले ब्रोकरहरुलाई ४ करोडदेखि ८ करोडसम्म ओभरड्राफ्ट सुविधा प्रदान गरिरहेका छन्। यदि यो सुविधा खोसियो भने ब्रोकरहरुले सहज रुपमा चलाउँदै आएको करिब ३ अर्ब रकम बजारबाट बाहिरिने र त्यसले बजारमा दिर्घकालिन प्रभाव पार्ने भन्दै यो वास्तविक हो कि हल्ला मात्रै हो भन्ने कुराको चर्चा भैरहेको छ।
के हो त वास्तविकता ?
यस विषयमा विभिन्न ब्रोकर संचालकहरु सँग कुराकानी गर्दा उनीहरुले आधिकारिक रुपमा आफूहरुकहाँ केहि कुरा नआएको बताए। बजारमा चलेको हल्ला सुनेको हो तर आफूहरुको बैंकले चाहिँ अहिलेसम्म त्यस्तो कुरा केहि नगरेको प्रतिकृया उनीहरुले दिएका छन्। कुनै ग्रुपले बजारको सेन्टिमेन्ट बिगार्न त्यस्तो हल्ला फैलाएको हुनसक्ने ब्रोकर संचालकहरुको अनुमान छ। 'मलाई २/३ जना ग्राहकहरुले फोन गरेर यसबारेमा सोधेका थिए। हामीले ग्लोबल आईएमई बैंकबाट ओडी सुविधा लिईरहेका छौं। ग्राहकहरुले त्यस्तो प्रश्न गर्नेबित्तिकै मैले ग्लोबल बैंकका म्यानेजरलाई फोन गरेँ। उहाँले त्यस्तो कुरा केहि नभएको जवाफ दिनुभयो। त्यसैले यो हल्ला निराधार हो।' एक ब्रोकर संचालकले अर्थसंसारलाई बताए।
यस विषयमा हामीले प्रभु बैंकका सम्बन्धित विभाग प्रमूखसँग बुझ्दा उनले आफू पनि यो कुरा सुनेर अचम्मित परेको बताए। 'हामीले अहिलेसम्म कुनै पनि ब्रोकरहरुलाई यस विषयमा केहि भनेका छैनौं, हामीलाई बैंक व्यवस्थापनले यस सम्बन्धमा कुनै निर्देशन पनि दिएको छैन।' उनले बताए। त्यसोभए अहिले बजारमा चलेको हल्ला निराधार हो त भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै यो बिलकुल निराधार रहेको र बजारमा हल्ला चलेजस्तो नभएको उनले बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस