अर्थ संसार, बाबियाचौर (म्याग्दी)- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ ।
घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमताको आयोजनाको आइतबार बाँध र आउटलेट (फोरवे) बाट खनिएको सुरुङ जोडिएको हो । आउटलेटबाट एक हजार मिटर र बाँधबाट ६९५ मिटर सुरुङ निर्माण गरिएको घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले जानकारी दिनुभयो ।
अन्नपूर्ण हिमालको फेदीमा रहने बाँधसम्म सडक नभएकाले पिठ्युँ र खच्चरमा बोकाएर सामान ढुवानी गरिँदै आएको थियो । विद्युत्गृहको छेउसम्म सडक पुगेको छ । रोपवेमार्फत करिब २०० मिटर माथि रहेको सुरुङको आउटलेटसम्म सामान ओसार्ने गरिएको छ ।
नेपाली सेना र प्रहरीको निगरानीमा बिस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खनिएको हो । दुईतर्फबाट जोडिने टनेलको अन्तिम बिस्फोट अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गराउनुभएको थियो । जनप्रतिनिधि, लगानीकर्ता, संस्थापक र मजदुरको उपस्थितिमा सुरुङ निर्माणको काम सकिएकामा खुशीयाली मनाइएको थियो ।
विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम हालसम्म ७५ प्रतिशत पूरा भएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
यो आयोजना म्याग्दीका उद्योगी, व्यापारी र सर्वसाधारणको पहलमा निर्माण हुन लागेको हो । विसं २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । स्थानीय बासिन्दाको अपन्त्व र सहयोगले काम गर्न सहज भएको आयोजनाका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले बताउनुभयो ।
एक हजार ३०० जनाको रु ३५ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले रु ५५ करोड लगानी गरेका छन् । घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत घलेम्दीको विद्युत् केन्द्रीय प्रशारण लाइनमा जडान गर्ने योजना छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस