Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरोबाट सात हजार व्यक्ति कुपोषित, छ सयको स्थिति गम्भीर

शुक्रबार, ०९ भदौ २०७४, ११ : ४३ मा प्रकाशित

बाढीपहिरोबाट सात हजार व्यक्ति कुपोषित, छ सयको स्थिति गम्भीर

अर्थ संसार, सप्तरी– हालै आएको भीषण बाढी र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन् ।

बाढीले घरमा रहेको अन्नपात बगाएको, तरकारी तथा फलफूल पानीमा डुबेर नष्ट भएको र घाँसपातको कमीले गाई–भैँसीले दूध दिनमा कमी गरेको र आर्थिक अभाव भएका कारण जिल्लाका ६१२ व्यक्ति गम्भीर कुपोषणको शिकार भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा गरिएको सर्वेक्षणअनुसार सप्तरीका ५८ गाविसमा कुपोषण अत्यधिक देखिएको बताइएको छ ।

प्राप्त सर्वेक्षणअनुसार दिघवा, लोनिया, तिलाठी, सकरपुरा, विषहरिया, डुमरी, मैनाकडेरी, देउरी भरुवा, हरिपुर, मुसहरनिया, फर्सेठ, कोइलाडी, बसाइन, बर्दाही, बनैनिया लगायतका बाढीपीडित ग्रामीण क्षेत्रमा कुपोषणका रोगी पाइएको छ ।

खासगरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धामा स्वच्छ खानेपानी र पौष्टिक आहार र गुणस्तरीय खाद्यन्नबाट वञ्चित हुँदा  सो रोगको समस्या देखिएको हो ।

बाढीपीडितका लागि सरकारी तथा गैरसरकारी तर्फबाट आउने राहतमा पौष्टिक तत्व नहुने र जीवन धान्ने खालको मात्र राहत आउने गरेको बताइएको छ ।

सप्तरीका बाढीपीडितको खाद्य सुरक्षासम्बन्धी जिल्ला कृषि विकास कार्यालयमा आयोजित खाद्य सुरक्षा कार्यदल बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयका पदाधिकारीले कुपोषणको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

बैठकमा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवले बाढीपहिरोले सप्तरी जिल्लामा करिब रु १८ करोड मूल्य बराबरको धानबाली, माछा र तरकारी नष्ट भएको जानकारी गराउनुभयो ।

उहाँका अनुसार सप्तरीको कुल खेतीयोग्य जमिनमध्ये १३ हजार हेक्टर जमिन क्षतिग्रस्त भएको, अधिकांश बालुवाले पुरिएको, खेत बगरमा परिणत भएको र नहरहरु क्षतिग्रस्त भएको बताइएको छ ।

बैठकमा डब्लुएफपीका क्षेत्रीय संयोजक लक्ष्मीप्रसाद चौधरी, कृषि विभागका वरिष्ठ कृषि बजार विज्ञ कृष्णप्रसाद पौडेल, राससका सगरमाथा अञ्चल प्रमुख सुरेश झा, डब्लुएफपीका जिल्ला संयोजक उमेशप्रसाद उपाध्यायले सप्तरी जिल्लाको खाद्य सुरक्षा र समस्याबारे जानकारी लिनाका साथै विचार व्यक्त गर्नु भएको थियो ।

यसैबीच, पूर्वाञ्चल क्षेत्रीय प्रशासक रवीन्द्रमान श्रेष्ठको नेतृत्वमा पूर्वाञ्चलका सुरक्षा निकायका प्रमुखले बाढीपीडितको अवस्थाबारे सरोकारवालासँग जानकारी लिनाका साथै स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो ।

सो निरीक्षणका क्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले हालै आएको बाढीले सप्तरीमा पाँचजनाको मृत्यु, २० हजार घरपरिवार डुबानमा परेको र एक लाख मानिस प्रभावित भएको बताउँदै राहत र उद्धारको काम सरकारी तथा गैरसरकारी निकायका तर्फबाट भइरहेको जानकारी गराउनुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको