अर्थ संसार, नुवाकोट– नुवाकोट जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ ।सञ्चालित कार्यक्रम समयमै सम्पन्न गर्न किसानले चासो नदिँदा अण्डामा भने आत्मनिर्भर हुन सकेको छैन् ।
पशुसेवा कार्यालय नुवाकोटकाअनुसार जिल्लामा दूधको माग १९ हजार २३३ मेट्रिक टन रहेकोमा त्यो भन्दा बढी उत्पादन गरी बाहिरी जिल्लामा समेत निकासी गर्न सुरु भएको छ ।
माग भन्दा ३२ सय मेट्रिक टन बढी दूध उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाएर बाहिरी जिल्लामा निर्यात सुरु गरेको वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्टले जानकारी दिनुभयो ।
दूधसँगै मासुको पनि माग भन्दा बढी उत्पादन गर्दैै यो जिल्ला मासुमासमेत आत्मनिर्भर हुन सक्षम भएको छ । पशु विकास अधिकृत भट्टकाअनुसार जिल्लाका लागि १० हजार ५६५ मेट्रिक टन मासु आवश्यक रहेकोमा त्यो भन्दा बढी उत्पादन भएसँगै नुवाकोट मासुमा पनि आत्मनिर्भर बन्न सक्षम भएको हो ।
माग भन्दा बढी उत्पादन गर्दै एक हजार ९८९ मेट्रिक टन मासु बाहिरी जिल्लामा समेत निर्यात भएको पशु विकास अधिकृत भट्टले जानकारी दिनुभयो ।
“दूध र मासुमा आत्मनिर्भर हुन, गाईभैँसी, ब्राख्रा, बंगुर, कुखुरापालनको कार्यक्रमलाई सहयोग पु¥याएर बहुसंख्यक किसानलाई सहभागी गराउन सफल भएका छौँ,” उहाँले भन्नुभयो– “किसानको सहभागिता वृद्धिसँगै उच्च जातको पशुचौपायपालन र नश्ल सुधार कार्यक्रमलाई प्रभावकारी बनाइएको छ ।”
जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउन कुखुराको चल्ला वितरण तथा खोर निर्माण कार्यक्रममा किसान आकर्षित नहँदा लक्ष्य पूरा हुनसकेन् । जिल्लामा ४९ लाख ५२ हजार अण्डाको माग रहेकामा अहिले ४७ लाख ९२ हजार मात्र उत्पादन भएको पशु कार्यालयको तथ्यांक छ ।
लक्षित कार्यक्रम यो वर्ष समयमै सञ्चालन गर्ने योजना बनाएकाले अण्डामा पनि यो जिल्ला आत्मनिर्भर हुन सफल हुने विश्वास पशु कार्यालयको छ । पशु एवं पक्षी प्रबद्र्धनका लागि राष्ट्रिय लक्ष्य हासिल गर्न जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी बनाएर स्थानीय क्षेत्रमा उत्पादन गर्नसक्ने उब्जनीले जिल्लालाई आत्मनिर्भर बनाउन प्रयास भइरहेको पशुसेवा कार्यालयले जनाएको छ ।
नुवाकोट जिल्ला गएको वर्षदेखि पशुचौपायलाई खुवाउने घाँसमा आत्मनिर्भर भएको थियो । सम्पन्न आर्थिक वर्षमा पशुपक्षीको विकास तथा प्रबद्र्धनका लागि रु पाँच करोड ८३ लाख लगानी भएकोमा यो वर्षमा उक्त कार्यक्रमका लागि जिल्लामा रु पाँच करोड १३ लाख बजेट छुट्टाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस