अर्थ संसार, काठमाडौँ– सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् निकालने र त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ ।
मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भएका क्षेत्र मध्य कर्णाली नदी र त्यसका सहायक नदीहरु नै हुन् ।
सरकारले पहिचान गरेकै आधारमा हेर्ने हो भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)कै सबैभन्दा ठूलो आयोजना कर्णाली चिसापानी जलविद्युत् परियोजना समेत सोही क्षेत्रमा पर्दछ ।
दश हजार ८०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारीको आयोजनाको रुपमा पनि विकास गर्न सकिने बताउँदै आएको छ ।
तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले सो आयोजनालाई अगाडि बढाउने भन्दै अध्ययन समेत सुरु गर्नुभएको थियो । कर्णाली नदी बेसिनलाई जलविद्युत पर्यटनको नमुना गन्तव्य बनाउने लक्ष्यका साथ वर्तमान सरकारले केही नीतिगत तयारी थालेको छ ।
ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली नदी बेसिनमा बहुउद्देश्यिय परियोजना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने रणनीतिका साथ आवश्यक तयारी सुरु गरिएको जानकारी दिनुभयो ।
कर्णाली बेसिनमा हाल कुनै पनि नयाँ आयोजना सुरु नभएको सन्दर्भमा वृहद् गुरुयोजनाका साथ जलविद्युत् र पर्यटनलाई संयुक्त रुपमा जाने गरी नीतिगत तयारी र आवश्यक रणनीति समेत तयारीको चरणमा रहेको बताउनुभयो ।
कर्णाली नदी बेसिनअन्तर्गत हाल माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी ग्रान्धी माल्लिाकार्जुन राव(जिएमआर)ले निर्माण सुरु गर्ने चरणमा पुर्याएको छ । कुल नौ सय मेगावाट क्षमताको सो आयोजना उक्त नदी बेसिनको हालसम्मकै ठूलो आयोजना हो ।
यस्तै सरकारले कर्मचारी सञ्चय कोषलाई बेतन कर्णाली जलविद्युत् आयोजना सम्भाव्यता अध्ययनका लागि भन्दै स्वीकृति दिइसकेको छ ।
सो आयोजनाको क्षमता ६८८ मेगावाट रहेको रहेको छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निजामति कर्मचारी र स्थानीयबासी समेतको लगानीमा फूकोट कर्णाली जलविद्युत् आयोजना समेत अगाडि बढ्ने भएको छ । सो आयोजना हाल विद्युत् उत्पादन कम्पनीले अध्ययन गरिरहेको छ ।
यस्तै ३०७ मेगावाट क्षमताको जगदूल्ला जलविद्युत् आयोजना पनि कर्णाली नदी बेसिनको अर्को महहत्वपूर्ण आयोजना हो । उक्त आयोजना विद्युत् उत्पादन कम्पनीले अध्ययन गरिरहेको छ ।
यस्तै प्रारम्भिक अध्ययन भएका मुगु कर्णाली, हुम्ला कर्णाली, भेरी नदी र त्यसका सहायक नदीमा पनि ठूला र महत्वपूर्ण आयोजना रहेका छन् ।
नेपाल इन्जिनियरिङ कलेजका प्राध्यापक रघु प्रजापतिले गर्नुभएको अध्ययनअनुसार कर्णाली नदी बेसिनमा मात्रै १४ हजार १५० मेगावाट बराबरको जलविद्युत्को क्षमता रहेको छ । मुलुकभित्रैको हकमा मुगु कर्णाली १६० किलोमिटर र हुम्ला कर्णाली १०० किलोमिटर लम्बाइ रहेको छ ।
जल तथा ऊर्जा आयोगको अध्ययनअनुसार आर्थिक र प्राविधिक रुपमा सम्भाव्य रहेको ४२ हजार ९१५ मेगावाट मध्ये कर्णाली नदी बेसिनमा मात्रै एक तिहाइ क्षमता रहेको छ । कर्णाली नदी बेसिनमा १५ मेगावाट क्षमतादेखि १० हजार ८०० मेगावाटसम्मको रहेको छ ।
ऊर्जा मन्त्री शाहप्ले हालसम्म सबै आयोजना अध्ययनको क्रममा नै रहेकाले बहुउद्देश्यिय बनाउने र लगानीकर्तालाई पनि सोहीअनुसार लगानीका लागि प्रेरित गर्न लागिएको बताउनुहुन्छ ।
कर्णाली नदी बेसिनमा निर्माण हुने आयोजना ऊर्जा, पर्यटन, मत्स्यपालन, जलविहारलगायत फरक–फरक सम्भाव्यता र आर्थिक उर्पाजनको साझा थलोको रुपमा विकास गर्ने तयारीमा सरकार लागेको मन्त्री शाहीको कथन छ ।
कुनै आयोजना नबनेकाले गुरू योजना तयार गरी एउटै लगानीकर्तालाई बहुउदेश्य परियोजना निर्माण गर्न दिने तयारी भइरहेको ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।जल तथा ऊर्जा आयोगले पछिल्लो दिनमा जलविद्युत आयोजनाको सम्भाव्यताका बारेमा अध्ययन गरिरहेको र कति क्षमता लगानीका लागि सम्भाव्य हो भन्ने प्रष्ट हुने सरकारको बुझाइ छ । सम्भाव्यता प्रष्ट भएपछि लगानीका विभिन्न मोडलबारे समेत परामर्श गरिने छ ।
मन्त्री शाहीका अनुसार कर्णाली बेसिनलाई जलविद्युत पर्यटन गन्तव्यकारूपमा विकास गर्ने योजनाको सामान्य अध्ययन सुरु भइसकेको छ । गत साता मन्त्री शाहीको नेतत्वमा कर्णाली पुगेको ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले उक्त नदी बेसिनको स्थलगत अवलोकन गरेको थियो ।
कर्णाली बेसिन जलविद्युत, वातावरण, सिंचाई, कृषि, पशुपालन, जडीबुटी उत्पादनलगायत क्षेत्रको विकास हुने गरी एउटै लगानीकर्तालाई दिएर पर्यटकीय स्थलकारूपमा विकास गर्ने मन्त्रालयले लक्ष्य राखेको छ ।
कर्णाली नदीको मुहानमा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानसरोबरसमेत पर्ने भएकाले पर्यटन मार्गको रुपमा पनि विकास गर्न सकिने भएकाले त्यसलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस