Like us!
Follow us!
Connect us!
Watch us!

किन घट्दैछ बजार ?

बसन्त पाण्डे

सोमबार, १६ माघ २०७९, १७ : २८ मा प्रकाशित

किन घट्दैछ बजार ?

सोमबार नेप्से परिसूचक ४० अंकले घटेको छ। धेरै दिनदेखि नेप्से परिसूचक २१४० देखि २२०० को बीचमा घुमिरहेको थियो। २१४० को आसपासमा बजारले २ पटक सपोर्ट लियो भने २२०० को लेभलमा बजारले पटक पटक रेसिस्टेन्स फेस गरिरहेको छ। आज बजार २१३७ भन्दा तल क्लोज भएसंगै पछिल्लो समय बनिरहेको साइड्वेज प्याटर्न ब्रेक भएको छ। बजार लामो समय एउटै रेञ्जमा साइड्वेज बसिसकेपछि तलतिर वा माथितिर जता ब्रेकआउट भएपनि शार्प मुभमेन्ट आउने गर्दछ। आज पनि २१३७ को बिन्दु ब्रेक भएपछि बजारमा शार्प फल देखियो। नेप्से परिसूचक आज २१२७ को बिन्दुमा क्लोज भएको छ।  

किन घट्दैछ बजार ?

विष्णु पौडेल अर्थमन्त्री नियुक्त हुने पक्कापक्की भएपछी लगानीकर्ताहरु एकाएक बुलिश भएका थिए। नयाँ सरकार गठन हुनुअघि नेप्से परिसूचक १८५० को बिन्दुमा थियो। त्यसपछि बजार ठूलो अंकले बढ्दै गयो। रेसिस्टेन्सहरु ब्रेक गर्दै बढेको बजार २२७७ को बिन्दुसम्म पनि पुग्यो।  २२७७ को बिन्दुबाट खसेको बजार २ हप्तासम्म २१४० देखि २२०० को रेञ्जमा बस्यो। 

सरकार गठन भएपछि बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पूँजी बजारको गिरावटलाई सम्बोधन गर्ने तथा वित्तिय नीति र मौद्रिक नीतिको सामन्जस्यता मार्फत अर्थतन्त्रको बिग्रदो अवस्थामा सुधार ल्याउने निर्णय गरेपछि लगानीकर्ताहरु झन् उत्साहित भएका थिए। कांग्रेसले सरकारलाई विश्वाशको मत दिने भएपछि एमाले बाहिरिने र कांग्रेस र माओवादी मिलेर सरकार बनाउन सक्ने हल्ला फैलिएपछि मुलुकको राजनीति अस्थिर हुनसक्ने आँकलन हुन थालेको थियो। गत शुक्रबार रवि लामिछाने संसद सदस्य बन्न अयोग्य रहेको फैसला सर्वोच्चले गरिसकेपछि उनले उपप्रधान तथा गृहमन्त्रीको पदबाट राजिनामा दिए। सो संगै प्रधानमन्त्रीले गृह मन्त्रालय आफ्नै मातहतमा राखेका छन्। गृह मन्त्रालय आफ्नो भागमा परेको भन्दै स्वतन्त्र पार्टीले गृह आफैले पाउनुपर्ने दावी गरिरहेको छ र रविले पुन: मन्त्रालय फर्किने मनसाय व्यक्त गरेका छन्। तर प्रधानमन्त्री भने रविको राहदानीसम्बन्धि परेको उजुरीउपर अनुसन्धान भईरहेको हुँदा उनलाई तत्काल गृह दिनु उपयुक्त हुँदैन कि जस्तो मनस्थितिमा देखिएका छन्। यस्तो अवस्थामा गृह नपाए स्वतन्त्र पार्टीले सरकार नै छोड्ने पो हो कि भन्ने शंका उपशंकाहरु पनि लगानीकर्ताहरुमा छाएको देखिन्छ।  

यी सबै राजीतिक परिदृश्यहरुले कतै अहिलेको सत्ता गठबन्धन भत्किने त होईन भन्ने शंका बढेको छ। एमाले सरकारबाट बाहिरिने र कांग्रेस र माओवादीको गठबन्धन सरकार बन्यो भने र अर्थमन्त्रालय माओवादीले लियो भने लगानीकर्ताहरुमा बनेको बुलिश सेन्टिमेन्ट बिग्रिने विश्लेषण हुन थालेको छ।  

अब बजारलाई ड्राइभ गर्नसक्ने घटनाहरु 

राष्ट्र बैंकले माघ २० गतेसम्ममा मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामाका लागि सुझाव पेश गर्ने समय दिएको छ। राष्ट्र बैंक स्रोतका अनुसार माघ अन्तिम साता मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा हुनसक्ने सम्भावना छ। सो समिक्षामा सेयर धितोकर्जामा लगाईको १२ करोडको सीमामा संसोधन हुने कुरामा लगानीकर्ताहरु आशावादी देखिन्छन। नीतिगत ब्याजदर पनि घट्नसक्ने आँकलन प्राय: ले गरेका छन्। सरकारले मौद्रिक नीतिमार्फत अहिले देखिएको उच्च ब्याजदर समस्याको समाधान गर्ने, पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने बताईसकेको छ। यस्तो अवस्थामा राष्ट्र बैंकका नीतिहरु बजार मैत्री बन्दै जानेमा लगानीकर्ताहरु आशावादी देखिन्छन।  

बैंक वित्तिय संस्थाहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाए। अहिले अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा तल झरिसकेको छ, सिडी रेसियो ८६.५१% मा झरिसकेको छ। बैंकहरुमा जम्मा भएका निक्षेपको तुलनामा कर्जा प्रवाह निकै न्यून देखिन्छ। राष्ट्र बैंकले एलसीमा लगाएको शतप्रतिशत मार्जिन पनि हटाईसकेको छ भने सरकारले आयातमा लगाएको पतिबन्ध फुकुवा गरेको पनि धेरै भईसक्यो। तर पनि आयात बढेको छैन भने आयातका लागि बैंकहरुबाट खासै कर्जा लिएको पनि देखिंदैन। यी सबै परिदृश्यहरु हेर्दा बैंकहरु फाल्गुनमा पनि कि त अहिलेकै ब्याजदरलाई स्थिर राख्ने वा थोरै मात्रै भएपनि निक्षेपतर्फको ब्याजदर घटाउने मनस्थितिमा रहेको एक वाणिज्य बैंकका सीईओले अर्थसंसारलाइ बताए। 

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन फाल्गुन २५ मा गर्ने निर्णय गरिसकेको हुँदा केहि समयका लागि यो मुद्दाले खासै प्राथमिकता नपाउने देखिन्छ। राष्ट्रपतिमा एमाले त कांग्रेस दुबैले ताकेका हुँदा माओवादीले कसलाई सहयोग गर्ला भन्ने कुराले सत्ता गठबन्धनको भविष्य निर्धारण हुने देखिन्छ। अर्को कुरा के पनि छ भने एमाले अलिकति सम्झौता गरेरै भएपनि सरकारमै रहन चाहन्छ। विशेषत: भर्खरै चुनाव भएको छ। ५ वर्षपछि मात्रै अर्को निर्वाचन हुन्छ। यत्रो वर्ष सत्ताबाहिर बस्ने मनसाय एमालेको देखिंदैन। यदि निर्वाचनका लागि १/२ वर्षमात्रै बाँकी हुन्थ्यो भने त्यो अलग थियो किनभने नेपालमा सरकारबाहिर रहने दलले जनताको सहानुभूति पाउने र बढी मत पाउने ट्रेन्ड रहेको छ। उता प्रदेशमा पनि सरकार बनिसकेको छ। यता केन्द्रिय सरकारमा पनि अर्थमन्त्रालय सहित ८ वटा मन्त्रालय एमालेले पाएको छ। सभामुख एमालेले पाईसकेको छ। यस्तो अवस्थामा राष्ट्रपति सकेसम्म आफै हत्याउने प्रयास गर्ने नत्र कांग्रेसलाई राष्ट्रपति छोड्दा पनि खासै फरक पर्दैन भन्नेमा एमाले नेताहरु पुगिसकेको बुझिएको छ। त्यसैले अब कम्तिमा २ वर्ष यो गठबन्धनमा कुनै परिवर्तन नहुने एमालेका एक केन्द्रिय सदस्यले अनौपचारिक कुराकानीका क्रममा बताए। 

अब के त ?

यो सबै पृष्ठभूमिमा बजार २१०० भन्दा तल जाने सम्भावना निकै कम रहेको एक बजार जानकार बताउँछन्। बजारमा घट्ला र किनौला भनेर बस्नेहरु धेरै भएको हुँदा बजारमा ठूलो करेक्सन आउने सम्भावना आफूले नदेखेको उनले बताए। त्यस्तै अर्का एक प्राविधिक विश्लेषकका अनुसार बजारले २१०० देखि २०७० को बिन्दुमा सपोर्ट लिई त्यहाँबाट फर्किन सक्ने सम्भावना उच्च देखिन्छ।  तर बजार २१०० तल गयो भने यसअघि बनाएको २२७७ को को हाई ब्रेक नहुने पो हो कि भनेर शंका गर्न सकिने ठाउँ बन्ने उनले बताए। अब बजारमा बाउन्स आउँदा यसअघिको हाईलाई ब्रेक गर्छ कि गर्दैन भन्ने कुरा सर्वाधिक महत्वपूर्ण हुने उनको भनाई रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको