Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार तीन इन्स्याेरेन्स कम्पनीका लगानीकर्तालाई खुसी बनाउने गरि नेप्सेले गर्यो यस्तो

अर्थ संसार

सोमबार, १६ माघ २०७९, २० : १५ मा प्रकाशित

आज (साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि २० हजार ३ सय ३८ कित्ता आईपीओ निष्कासन गरेकाे छ । यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले लघुवित्तको आईपीओमा माघ १६ गतेदेखि फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थाले सर्वसाधारणलाई भने फागुन ११ गतेदेखि आईपीओ बिक्री गर्नेछ ।

२. सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृती पाएकाे छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्कासन गर्न आयोगबाट माघ १२ गते स्वीकृती पाएकाे हाे ।

३. नेशनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । समिक्षा अवधिसम्ममा कम्पनीकाे नाफा १३ दशमलव ८८ प्रतिशतले घटेर ७३ लाख ६१ हजार रुपैयाँमा झरेकाे छ । कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी भने ०.६८ प्रतिशतले बढेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ८० पैसा रहेको छ ।

४. साेमबार पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.०१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेकाे छ । नेप्से १.८९ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.३३ अंकले घटेर ४०२.९८ विन्दुमा झरेको छ । कूल २५६ वटा कम्पनीकाे ८८ लाख ३६ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३० करोड २२ लाख एक हजार ८ सय २५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

५. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ७ लाख ८५ हजार ६ सय १७ दशमलव ७५ कित्ता र सिभिल बैंक लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ४५ लाख ३७ हजार ९ सय २१ दशमलव ९५ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

६. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप ३ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी, गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको काराेबार फुकुवा गरेकाे हाे । याे सँगै अब भाेलि मंगलबारबाट दाेश्राे बजारमा तीन वटै कम्पनीकाे काराेबार सुरू हुनेछ । 

७. साना किसान र आरएमडिसी लघुवित्तले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका छन् । यी दुई कम्पनीबीच १०० बराबर ८७ को स्वाप रेसियाेमा मर्जर हुने सम्झाैता भएको थियो । 

८.  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ । कम्पनीकाे १६ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय ८ रूपैयाँ ६२ पैसा कायम हुने गरी मूल्य समायाेजन भएकाे हाे ।

९. लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको हकप्रद निष्कासन प्रकृया अघि बढेकाे छ । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे छ । कम्पनीले १ः०.८८ को अनुपातमा प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २ कराेड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गर्न नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे हाे । 

१०. सोमबार सुनकाे भाउ तोलामा ३ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ भने स्थिर रही प्रतिताेला १३ सय ६५ रुपैयाँ कायम रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको