Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घोषणा, नेप्सेमा एक कम्पनीकाे बाेनस सेयर सूचिकृत

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, १७ : ०३ मा प्रकाशित

१. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

२. एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा फागुन २ गते गतेसम्म ढीलोमा फागुन १२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

३. कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओकाे बाँडफाँड यही बिहीबार हुने भएकाे छ । कम्पनीकाे आईपीओ बिहीबार बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बिहान १० बजे बाँडफाँड हुनेछ ।  कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ३२ हजार ८ सय ८१ जना लगानीकर्ताहरूले १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाबाट बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ८९ हजार ६ सय ४० जनाले मात्रै सेयर हात पार्नेछन् ।

४. मंगलबार नेप्से परिसूचकका साथसाथै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.७० अंकले घटेर २१११.६८ विन्दुमा झरेकाे छ । नेप्से ०.७४ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.३६ अंकले घटेर ४००.६२ विन्दुमा झरेकाे छ । कूल २५९ वटा कम्पनीकाे ७५ लाख ५३ हजार २ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

५. हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेकाे छ । कम्पनीले १ः२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे हाे ।

६. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार साविककाे नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ४ प्रतिशत बाेनस बापतकाे ७३ लाख २३ हजार १६ दशमलव ५३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

७. रु रु जलवविद्युतले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीकाे नाफा ९.३० प्रतिशतले घटेर ५ करोड ९६ लाख ८ हजार रुपैयाँमा सिमित भएकाे छ । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ८.१३ प्रतिशतले घटेर ९ करोड १५ लाख ५० हजार रुपैयाँमा झरेकाे छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २४ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४९ पैसा रहेको छ ।

८. प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति ऐन विपरीत रहेको भन्दै उच्च अदालत पाटनमा पनि मुद्दा दायर भएको छ । अधिवक्ता अनिता थापा केसीले मुद्दा दायर गरेकी हुन् । प्रभु बैंकका सीईओ अशोक शेरचनले यसअघि बैंकमा दुई कार्यकालसम्म सीईओका रुपमा काम गरिसकेका छन् । तेस्रो कार्यकाल पनि शेरचनलाई दिइनु बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को प्रावधान विपरीत रहेको रिटमा उल्लेख छ ।  बैंककाे सीईओ नियुक्ती खारेजीकाे माग गर्दै यसअघि नेपाल राष्ट्र बैंकमा पनि उजुरी परिसकेकाे छ  ।

९. एटीएममार्फत एक बैंकबाट अर्को बैंकको पैसा झिक्दा लाग्ने शुल्क घटेको छ । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सकिने जनाएको छ । यसअघि यस्तो कारोबारमा प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।

१०.  मंगलबार सुनकाे भाउ तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।  मंगलबार चाँदीको भाउ भने स्थिर रही प्रतिताेला १३ सय ६५ रुपैयाँ नै कायम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको