Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स हाइड्रोको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजना निर्माण सम्पन्न

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १५ : ०२ मा प्रकाशित

पिपुल्स हाइड्रोको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजना निर्माण सम्पन्न

पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सम्पन्न भएको छ । कूल ५४ मेगावाट क्षमताको यस आयोजनाको सबै काम केही दिनअघि सम्पन्न गरेर यतिबेला डिसेन्टरमा पानी जम्मा गर्ने कार्य भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले बताए । निर्माण सम्पन्नपश्चात् आयोजनाको इन्टेक र डिसेन्टरमा पानी राखेर परीक्षण भइरहेको छ । परीक्षण यही माघ २७ गतेसम्म गरिने र २८ गतेदेखि आयोजनाको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिनेछ ।

मुख्य सुरुङको २०-२२ दिन परीक्षण गरेपछि बिजुली उत्पादन परीक्षण थालिनेछ । पावर हाउसको मेसिन जडानको काम र केबलिङको काम लगायतको बाँकी काम सम्पन्न गर्दै सम्पूर्ण निर्माण सम्पन्न गरेको यस आयोजनाको पाँच दशमलव एक किलोमिटर मुख्य सुरुङ छ । सबै गरेर १० दशमलव तीन सय ५० किलोमिटर सुरुङ मार्ग छ ।

आयोजनाका अनुसार भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी पहिरो, कोरोना संक्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिएको थियो । आयोजना कूल आठ अर्ब ८० करोडको लगानीमा निर्माण कार्य अघि बढे पनि अवधि लम्बिँदा अनुमानित १० अर्ब ३९ करोड देखि ५० करोडसम्म पुगेको छ । आयोजनामा सानिमासहित ९ बैंकले ऋण लगानी गरेका छन् । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र २७ करोड लगानी छ ।

विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोजबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौता अनुसार विसं २०७५ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । सो निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरिएको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो । उक्त समय राख्दै पटक पटक म्याद थप्दै गत पुसभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो ।

पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड छ सय ४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पिपिए) सम्झौता गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको