नेपालको दुई दिने भ्रमणमा आएकी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर बुधबार बेलुकी स्वदेश फर्केकी छिन् । बेलुकी फर्कनु अघि उनले नेपालको लोकतन्त्र सुढृढीकरण र आर्थिक सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
नेपालको लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका निम्ति ६ करोड ८५ लाख अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँ) सहयोगको घोषणा गरेकी प्रमुख सामन्थाले नेपाललाई आगामी दिनमा थप सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
फर्कनुअघि पत्रकार सम्मेलन गर्दै सामन्थाले भनिन्, ‘हामी स्थानीय संस्था र सरकारको स्तरमा अझ बढी सहयोग गर्न चाहन्छौं । लामो समयदेखि हामीले गरेको लगानीले समुदायहरूमा लगानीको वातावरण बनाउन चाहन्छौं ।’
उनले नेपाललाई सहयोगी साझेदारभन्दा पनि व्यापार साझेदार बनाउन चाहेको पनि बताइन् । उनले लोकतन्त्रले गर्दा नै आर्थिक विकासको काम गर्न सक्ने बताइन् । सन् २०२२ मा यूएसएआईडीले नेपाललाई आगामी ५ वर्षका लागि ६५ करोड ९० लाख डलर सहयोग गर्ने घोषणा गरेको थियो ।
पावरले यूएसएआईडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धि मजबुत पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने पनि बताइन् ।
उनले नेपालमा अमेरिकाले गर्ने सहयोगमा भूराजनीतिक आयाम नरहेको बताइन् । अमेरिकाले दसकौंदेखि नेपाललाई सहयोग गर्दै आएको बताउँदै भनिन्, ‘भूराजनीति परिवर्तन भइरहन्छ । शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो । तर हामी काममा केन्द्रित हुन्छौं, प्रभावका लागि हामी साथमा काम गर्छौं ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस