डि.आर. सुजनको ‘सेतो घर’ टेलिश्रृङ्खला र ‘उडेकी चरी’ नामक गीती एल्बम सार्वजनिक भएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उक्त टेलिश्रृङ्खलाको प्रोमो र गीतको विमोचन गरिएको हो ।
सामाजिक यथार्थमा आधारित भएर बनेको सेतो घर टेलिश्रृङ्खलालाई डि. आर. सुजन फिल्मस्ले निर्माण गरेको छ । यस टेलिश्रृङ्खलामा विगत लामो समयदेखि नेपाली कलाकारिता श्रेत्रमा कार्यरत लक्ष्मण बस्नेत, देशभक्त खनाल, विद्या कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।
‘सेतो घर’ टेलिश्रृङ्खला हरेक हप्ताको सोमबार बेलुकी ७ः१५ बजे डि. आ. सुजन फिल्मस्को आफिसियल युट्युब च्यानलमार्फत प्रशारण हुनेछ । टेलिश्रृङ्खलाको पहिलो भाग भोलि (फागुन १ गते) सार्वजनिक हुने बताइएको छ ।
त्यसैगरी, ‘उडेकी चरी’ गीतमा सुदूरपश्चिम प्रदेशका बादी समुदायका पीडालाई समेटिएको बताइएको छ । गीत देवी घर्तीको आवाजमा रहेको छ । स्मृति शाही र पुष्पा बोहोराले गायिका घर्तीलाई साथ दिएका छन् ।
गीतको म्युजिक भिडियोमा रोशनी कार्की, डि. आर. सुजन, सूर्य ओली, प्रिय पोखरेल, अर्जुन कार्की, नन्दाराम बादी लगायतको अभिनयमा रहेको छ । छायाँङ्कन रेशम दलार्मीको रहेको छ । गीतको निर्माण धुन नेपालले गरेको हो । गीत आज नै कलाकार डी.आर सुजनको अफिशियल युटुब च्यानलबाट सार्वजनिक हुने बताइएको छ ।
कलाकार नन्दराम बादीले सुदूरपश्चिमका बादी समुदायका छोरीहरुको पीडा उडेको चरीमा पाइएको उनले बताए ।
‘सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहनुहुने बादी समुदायका छोरीहरु जो बाध्यात्मक यौन पेशामा रहेका छन् । त्यसको टीका सरकारले अहिलेसम्म पुछ्न नसकेको पीडालाई यो उडेको चरीमार्फत यो टीका पुछियोस् भन्ने म चाहन्छु,’ उनले भने । बादी समुदायका छोरी चेलीलाई त्यो पेशाबाट मुक्त गराएर शिक्षा र आयआर्जनमा जोड्नु पर्ने उनको माग छ । बादी समुदायको हक हित सरकारले कागजमा मात्रै सीमित राखेको उनको आरोप छ । सरकारले बादी समुदायका लागि प्याकेजमा कार्यक्रम ल्याउनु पर्नेमा उनले जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नागरिक उड्यायनविद् एवं पर्यटन व्यवसायी डा. लेखनाथ भण्डारीले कलाकारिता देशको लागि महत्वपूर्ण गहना भएको बताए । हामीले हाम्रो गीत, कलाकारिता संस्कृतिलाई बचाउनु पर्ने उनको बुझाइ छ
‘म पर्यटन व्यवसायमा झण्डै २८ वर्षदेखि छु । हामीले दुई चिज विदेशीहरुलाई बेच्छौं । एउटा हाम्रो देशको प्रकृतिलाई बेच्छौं अर्को हाम्रो देशको संस्कृति बेच्छौं । गीत, कलाकारिता, फिल्म हाम्रो संस्कृतिमा पर्छ । प्रकृतिसँगै संस्कृति आउँछ,’ उनले भने ।
डि. आर. सुजनको सेतो घर डायमन शमशेरको उपन्यास सेतो बाघसँग तुलना गर्न योग्य रहेको बताए । साथै, उनको गीतले बोकेको सन्देशमा सरकारको ध्यान जान जरुरी रहेको उनले बताए । राज्यले बादी समुदायका युवा युवतीलाई उत्पादनसँग जोडेर आयआर्जनको वातावरण सिर्जना गरिदिन उनले सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका उपमहासचिव एवं कार्यक्रमका अतिथि शिव हमालले डि.आर सुजनका हरेक कामले समाजलाई सकारात्मक सन्देश प्रदान गर्ने गरेको बताए । उनका गीतका कथाहरुबाट सुजनबाट हामीले सिक्न सक्छौं भन्ने कुरालाई प्रष्ट पारेको उनको बुझाइ छ । उनले डि. आर. सुजनका दुवै सिर्जनालाई सफलताको शुभकामना दिएका छन् ।
डि. आर सुजनले आफ्नो गीत ‘उडेको चरी’ गीत दुई वर्षको अनुसन्धानको प्रतिफल भएको बताए । गीतमा सुदूरपश्चिमका बादी समुदायका यथार्थतालाई बाहिर ल्याउने कोशिस गरेको उनले प्रष्ट पारे । सुदूरपश्चिमका बादी समुदायका युवा युवतीका बारेमा सरकारले खासै चासो नदिएको उनको बुझाइ छ । कथामा पुरानो नेपाली कलालाई झल्काउने प्रयास गरिएको उनले बताए ।
कार्यक्रममा विधान कार्की, स्मृति शाही, आर्टिस्ट पुनम चौधरी, वरिष्ठ कलाकार लक्ष्मणविक्रम बस्नेत, अधिवक्ता भीम प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस