नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
आज (बुधबार) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन्।
उनले देशको सन्तुलित विकास र काठमाडौँ उपत्यकामा आउने विपद् व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने तर्क अघि सारे।
विशेष समयमा बोल्दै सांसद सुवालले भने, ‘काठमाडौँमा घर भत्काएर सडक चौडा गरिँदैमा सडक जाम हट्ने छैन । पहिरोलगायत विपत्तिबाट सडक अवरोध भएमा काठमाडौँ उपत्यकामा खाद्यान्न आपूर्ति अवरुद्ध हुने र यहाँका जनता भोकभोकै मनुपर्ने अवस्था छ । २०७२ सालको जस्तो ठुलो भूकम्प काठमाडौँमा गएमा भाग्ने ठाउँ नभएर यहाँका लाखौँ जनताको मृत्यु हुने अवस्था छ । यसकारण प्रधानमन्त्री, मन्त्री, सांसद र सरकारका उच्च अधिकारीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बजार विकास गरी स्थानीय जनतासँगै घर बनाएर बस्नुपर्ने, काठमाडौँ उपत्यकामा घरजग्गा किन्न नपाउने र देशको सन्तुलित विकास गर्ने कानुन बनाउन जरुरी छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस