Like us!
Follow us!
Connect us!
Watch us!

मानव अधिकार तथा शान्ति समाजको युद्ध विरुद्ध अभियान

मंगलबार, २७ भदौ २०७४, १६ : ४८ मा प्रकाशित

मानव अधिकार तथा शान्ति समाजको युद्ध विरुद्ध अभियान

अर्थ संसार, काठमडौं– मानव अधिकार तथा शान्ति समाज युद्ध विरोधी संस्था हो । युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ भन्ने मान्यता शान्ति समाजको रहेको छ । युद्धले एउटा व्यक्तिको मात्र होइन, लाखौ, करौडौको मानव अधिकार हनन गर्दछ ।

युद्धले, शान्तिपूर्वक बाँच्न चाहने मानवहरुको आधारभूत स्वतन्त्रतालाई र जीवनको अधिकारलाई समाप्त गर्दछ । युद्धका कारण हुने विनाश संहार र त्रासदीले एउटा मान्छेलाई मात्र असर गर्दैन समग्र बस्ती समुदायको भविष्यलाई संकटमा पार्ने गर्दछ ।

व्यक्ति–व्यक्तिको आधारभूत स्वतन्त्रता र मानव अधिकारको संरक्षणको लागि वकालत गर्ने र क्रियाशील रहनेहरु, युद्धका कारण मानव सभ्यतामाथि नै संकट आइलाग्ने विषयमा भने प्राविधिक कुरा गरेर तटस्थ वा निरपेक्ष बस्न मिल्दैन भन्ने धारणा शान्ति समाजको छ ।

युद्ध हुनबाट रोक्न, युद्ध हुनसक्ने कारणहरु पहिचान गरी समयमै सम्बोधन गरेर मानव सम्यतालाई युद्धको विभीषिकाबाट जोगाउन विशेष पहल सर्वत्र प्राथमिकता हुनुपर्छ भन्ने शान्ति समाज ठान्दछ । यसका लागि आपसी समझदारी र भाइचारा वृद्धि गर्दै मानव सभ्यतालाई अघि बढाउन, राष्ट्रहरु, अन्तरसरकारी संस्थाहरु, नागरिक समाज, र जनस्तरबाट समेत सदैव पहल भइरहनुपर्ने शान्ति समाजको धारणा छ ।

मनुष्य हुनुको सार्थकतालाई सिद्ध गर्दैै स्वतन्त्रता, विकास तथा हरेक अधिकारहरुको उपभोगका लागि युद्धका सम्भावनालाई अन्त्य गर्नु नितान्त आवश्यक छ ।

एउटा शासक खराब हुनसक्छ तर युद्ध त्योभन्दा झनै खराब हुन्छ । एउटा शासक वा शासनको अत्याचार पीडादायी हुन्छ नै तर युद्धको विभीषिका त्यो भन्दा झनै पीडादायी हुन्छ ।

लाखौं निर्दोष र निहत्था मानिसहरुले युद्धका कारण दुःख पाउनु हुदैन । तसर्थ खराब शासन वा शासकलाई जनताको शासनमा सहभागी हुन पाउने अधिकारको संरक्षण र प्रयोगबाटै परास्त गर्दै जानुपर्नेछ । अर्थात जनतालाई नै बलियो बनाउन सके राष्ट्रले दुर्भाग्य व्यहोर्नुपर्दैन ।

सद्दाम हुसेनको कार्यकालमा अमेरिकाले इराकमा गरेको आक्रमणको शान्ति समाजले विरोध गरेको थियो । सद्दाम हुसेन खराब थिए तर युद्ध त्योभन्दा पनि खराव हो भन्ने धारणा शान्ति समाजको थियो । त्यस्तो युद्धको विरोध गर्नु भनेको खराब वा तानाशाह शासकलाई समर्थन भने कदापि होइन । युद्धले निर्दोष हजारौ÷लाखौं नागरिकको शान्तिपूर्ण बाँच्न पाउने अधिकारको हनन भएकोतर्फ जायज विरोध हो ।

 युद्धका कारण वर्तमानको पुस्ता मात्र होइन, भविष्यको धरोहरसमेत आक्रान्त हुने गर्दछ । युद्ध हिंसाको विभत्स र विकरालस्वरुप हो । विश्व इतिहासमा आजसम्म साना–ठूला गरी १४ हजारभन्दा ज्यादा युद्ध भए होलान । युद्धमा कसैले पनि जित्दैनन, पराजित केवल मानवता हुने गर्दछ भन्ने शान्ति समाजको धारणा रहेको छ ।

समस्त मानव जातीलाई नै एक परिवार ठानेर समग्र धर्तीको संरक्षण र सुरक्षा सबैको प्राथमिकता हुनुपर्दछ । युद्धले सिर्जना गर्ने अभाव र हाहाकार भयावह छ । युद्ध विरामी मानसिकताको उपज मात्र हो । तसर्थ युद्ध होइन शान्ति खोजौ, सद्भाव र शालिनताको जीवन रोजौं भन्ने शान्ति समाजको आग्रह रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको