प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको माओवादी धारका नेताहरूको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) बिहान करिब सवा ९ बजेबाट बसेको बैठक केहीबेरअघि सकिएको प्रचण्डको सचिवालयले जनाएको हो।
सचिवालयकाअनुसार करिब एक घन्टाभन्दा बढी चलेको बैठकमा माओवादी सशस्त्र द्वन्द्वका बेलाका मुद्दाहरूलाई अदालतबाट उठाउन थालिएको विषयमा छलफल भएको हो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायत नेताहरु सहभागी थिए।
आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तर्क्रियामा बोल्दै माओवादी शक्ति एकजुट हुनुपर्ने माओवादी धारका नेताहरूले बताएका थिए।
सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएसँगै माओवादीभित्र हलचल मच्चिएकाे छ। सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएकाे प्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएकाे थियाे। उक्त विषयमा उनीहरूले संयुक्त विज्ञप्ति समेत जारी गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस