Like us!
Follow us!
Connect us!
Watch us!

नारीलाई आत्मनिर्भर बनाउँदै पूँजी बजार : गरगहनाको पैसा कटाएर लगानी गर्न प्रोत्साहन

निशा हुमाँगाई

बुधबार, २४ फागुन २०७९, १४ : ३४ मा प्रकाशित

नारीलाई आत्मनिर्भर बनाउँदै पूँजी बजार : गरगहनाको पैसा कटाएर लगानी गर्न प्रोत्साहन

आज मार्च ८, अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । पहिलो पटक सन् १९११ मा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो। आज विश्वभर ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

यस वर्ष अर्थात् २०२३ को नारी दिवसको नारा ''Embrace Equity'' रहेको छ । यस नाराको अर्थ समान हिस्सेदारीको आत्मसाथ भन्ने लाग्छ । केही समय अघिसम्म महिलाहरूलाई हरेक क्षेत्रमा प्राथमिकतामा राख्नुपर्छ भनेर निकै चर्चा गरिन्थ्यो । तर अहिले समय बदलिएको छ । आजकाल नारी पुरुषको समान हिस्सेदारीको चर्चा गुञ्जिन थालेको छ ।

समयको दर्पणसँगै दिनहरू बदलिरहेछ । विश्वले एक्काइसौँ शताब्दीमा काँचुली फेरिसकेको छ । एक्काइसौँ शताब्दीमा पाइला टेक्दासम्म समग्र विश्वले नै विकास र उपलब्धीका नयाँ नयाँ मुहार फेरेको छ । नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा नेपालले पनि १९औँ शताब्दीबाट २१औँ शताब्दीमा आइपुग्दासम्म विभिन्न क्षेत्रमा धेरै प्रगति गरिसकेको छ । महिलाको हकमा कुरा गर्नुपर्दा पनि हिजोका दिनमा चुला चौकामै सिमित नारीहरू आज देश हाँक्ने अहोदामा पुगीसकेका छन् । यद्यपी अझै पनि केही ग्रामीण भेगहरूमा भने महिलाहरू घर भित्रै चुलो र चौकामा मात्रै सिमित भई बाहिरी दुनियाँ देख्न नपाएका तितो सत्यलाई भने नकार्न सकिँदैन ।

विश्वभर नै आजका दिन विभिन्न गतिविधीहरू गरी नारीहरूलाई सम्झने गरिन्छ र महत्व दिइन्छ ।   समयको अन्तरालसँगै अनैकौँ क्षेत्रमा नारीहरूले आफ्नो स्थान जमाइरहेका छन् । तीनैमध्येको एक हो पूँजी बजार । आजको समयमा पूँजी बजार महिलाहरूलाई आत्मनिर्भर बनाउने लगानीको एउटा महत्वपूर्ण क्षेत्र बनेको छ ।

नयाँ नयाँ प्रविधिको आविष्कारसँगै विभिन्न गतिविधीहरू गर्न एकदमै सहज भएको छ । पूँजी बजारमा महिलाको पहुँच वृद्धि गर्नका लागि पनि प्रविधिले निकै ठूलो भूमिका निर्वाह गरेको छ । नेपालमै पनि धेरै नारीहरू छन् जसले पूँजी बजारबाटै करोडौँ रूपैयाँ आम्दानी गरी लाखौँ महिलाहरूका लागि उदाहरण बन्न सफल भएका छन् । पूँजी बजारमा लगानी गर्न थोरै पूँजीबाट पनि सम्भव हुने र धेरै समय पनि दिनु नपर्ने भएकाले पनि होला पछिल्लो समय पूँजी बजारतर्फ नारीहरूको आकर्षण बढ्दो छ ।

तथ्याङ्कमा आधारित भएर हेर्दा पनि नेपालमा डिम्याट खाता खोल्नेको कुल संख्यामा ४२ प्रतिशत भन्दा धेरै महिलाहरू रहेका छन् ।

आज नारी दिवसको अवसरमा हामीले नेपाली बजारका केही चर्चित महिला लगानीकर्ताहरूसँग कुराकानी गरी एक विशेष लेख तयार पारेका छौँ । नेपाली सेयर बजारमा महिलाहरूको पहुँच र नियामक निकायको कर्तव्य के कस्तो हुनुपर्छ भनी महिला लगानीकर्ताहरूसँग गरिएको कुराकानीको केही अंश तल प्रस्तुत गरिएको छ :

राधा पोखरेल

राधा पोखरेल यो नाम नेपाली सेयर लगानीकर्ताहरूका लागि एकदमै परिचित छ । विगत पाँच वर्षदेखि नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्षको रूपमा नेतृत्व गरिरहेकी उनले लगानीकर्ताहरूको हकहितका लागि र समग्र पूँजीबजारको सुधारका लागि अनेकौँ स्तरमा आफ्नो आवाज बुलन्त पार्दै आइरहेकी छिन् ।

सेयर बजारमा महिलाहरूको पहुँचको बारेमा कुरा गर्दै उनले भनिन्, "पहिला सुरूमा चाहीँ सेयर बजारमा महिला लगानीकर्ताहरूको आकर्षण अलिकति कमै थियो, ब्रोकरमै पुग्नुपर्थ्यो, त्यती धेरै अध्ययन गर्न पनि नपाउने, नलेज पनि नहुने, घरमा टाईम पनि नहुने, अरूले भनेको भरमा गएर लगानी गर्दाखेरी महिला लगानीकर्ताहरू अलिकति कमै देखिन्थ्यो । तर पछिल्लो समय जसरी मैले नेतृत्व गर्दै गएँ त्यही अवसरमा यही सेयर बजारमा लागेपछि त हाम्रो लागी यस्तो हुने रैछ भन्ने चेतना पुगेको छ । हामीले त अन्तर्वाताहरूबाट पनि सामाजिक सञ्जालहरूबाट पनि इन्करेज गर्दै जाँदा खेरी हाम्रो लागी रैछ सेयर बजार भन्ने हुँदै गर्दा खेरी अहिले पछिल्लो समय चाहीँ कामधन्दा पनि सक्यो, बालबच्चा स्कुल पठायो प्रविधीको विकासले गृहीणी महिलाहरूका लागि पनि सजिलो छँदैछ । अन्य क्षेत्रमा काम गर्ने कामकाजी महिलाहरूले पनि आफूसँग भएको धेर थोर पैसालाई चाहीँ सेयर बजारमा लगानी गर्नुपर्छ लगानी गरौँ आफैँ आत्मनिर्भर भइन्छ भोलि गएर सानोतिनो कुराका लागी पनि अर्काको अगाडी हात फैलाउनु पर्दैन भन्ने हिसाबले महिला लगानीकर्ताहरू पछिल्लो समय चाहीँ एकदम धेरै नै देखेकी छु । मैले ४०-५० ठाउँमा आफैँ उपस्थित भएर लगानीकर्ताहरूको सचेतना कार्यक्रमहरू गराउँदा खेरी पनि १०० मा ७५ चाहीँ महिलाहरू नै देखेकी छु त्यसले गर्दा पनि पछिल्लो समय महिलाहरूको आकर्षण बढेको देखाउँछ । पुरूषले भन्दा महिलाहरूले थोरै सेभिङ गरिरहेका हुन्छन् अझ उनीहरूले आफ्नो पेवापातोलाई पनि बजारमा भित्र्यायो भने राम्रै हुन्छ जस्तो लाग्छ । योसँगै आफूले पनि अध्ययनको दायरा बढाउनुपर्छ ।"

सेयर बजारमा महिलाहरूको आकर्षण बढाउन नियामक निकायहरूले के गर्नुपर्ला भन्ने प्रश्नको उत्तर दिँदै उनले भनिन्, "राज्यले दिगो पूँजी बजारका लागि चालिनुपर्ने कदमहरूमा चाहीँ सेयर बजार सुधारका लागि अगाडी बढाइएका सेयर कारोबारहरू वृद्धि र व्यवस्थापनका प्रयासहरूले कारोबारी र लगानीकर्ताहरूलाई केही आकर्षित गर्ला तर दिर्घकालिनसम्म टिकाउन चाहीँ मुस्किल छ । अहिलेको अवस्थामा जुन धितोपत्र बोर्ड भनौँ त्यसपछि राज्यले चाहीँ अहिले बजारको तत्कालिन कारोबार र पूँजीकरण मात्र नहेरीकन दिर्घकालिन रूपमा दिगो विकास एवमं लगानीकर्ताको हित संरक्षणका लागि काम गर्नुपर्छ । राष्ट्र बैंकले जुन मौद्रिक नीतिमा ल्याएको १२ करोडको सीमा छ त्यसलाई हटाउनुपर्छ । पूँजी बजारमा प्रविधीको उपयोग बढ्दै कारोबारमा सहजता हुँदै लागत, तथ्याङ्क, भण्डारण, सुरक्षा, उपयोग यी सबै चाहीँ बजारबाट केके हानीहरू हुन्छ, बजार सञ्चालन व्यवस्थापनमा आइपर्ने चुनौती, डिजीटल यो चाहीँ दिर्घकालिन रूपको कुरा भयो आज बजारमा यतिको कारोबार भयो उतीको भयो भन्दा पनि दिर्घकालिन रूपमा हामीले बजारलाई कसरी विकास गर्ने भन्ने हो । अर्को दिर्घकालिन रूपमा बजार विकासका लागि हामीले के गर्नुपर्छ भन्दा खेरी जस्तै प्रविधिको दुरूपयोग गर्दै सीडीएसले लगानीकर्ताको जानकारी, स्विकृती बीना पनि डिम्याट खाताबाट सेयर झिक्ने बेच्ने, मर्चेन्ट बैंकले बैंक खातामा पैसा राख्ने झिक्ने गैरकानूनी कामहरू पनि भइराखेका छन् । यी कामहरू पनि रोक्नुपर्यो । डिपीदेखि, सिडिएस लगायत धितोपत्र बोर्ड, नेप्सेहरूले पनि धेरै कुरा सुधार गर्नुपर्ने छ । सिस्टम इन्टीग्रेसन कानुनी प्रावधानमा हुनुपर्यो, त्यसपछि सेयर तथा भुक्तानी राफसाफका कुराहरू भए धेरै कुराहरू नै गर्नुछ । साथै, आजका दिनमा लगानीकर्ताहरूले सबै ठाउँबाट आईपीओ भर्न सके पनि बेच्न सक्ने अवस्था छैन । हामीले बारम्बार बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भन्दै आइरहेका छौँ । ब्रोकरहरूले पनि अन्य ठाउँमा शाखा खोल्न र जान चाहन्छन् भने ब्रोकरहरूलाई जाने बाटो पनि सहज गरिदिनुपर्छ । लगानीकर्ताहरू भित्र्याउने काम मात्रै हैन लगानीकर्ताहरूले सहज रूपमा सेवा सुविधा पाउने व्यवस्था पनि राज्यले गर्नुपर्छ । बजार चल्दै जाँदा विभिन्न समस्याहरू देखा पर्छन् ती समस्याहरू निवारण गर्न राज्यले पहिलो प्राथमिकता राख्नुपर्छ ।"

महिलाहरूले सेयर बजारलाई कसरी आम्दानीको श्रोत बनाउन सक्लान् भन्ने जवाफलाई उनले यसरी उत्तर दिइन्, "हामीले अन्य सेक्टरमा जब गरियो, पसल गरियो या अरू केही गरियो भने फुल्ली टाइम त्यसैमा फोकस गर्नुपर्छ । यसमा चाहीँ एउटा काम सँगसँगै अर्को काम सेयर बजारलाई पनि लैजान सकिन्छ अनि आफूसँग भएको थोरै पेवापातालाई पनि यत्तिकै राख्नुभन्दा सेयर बजारमा लगाइयो भने त्यसले आफूलाई आत्मनिर्भर बनाउँछ । सानोसानो कुराका लागि हात फिजाउनु पर्दैन, घर खर्चै चलाउन सकियो, काम पनि अगाडि बढिरहन्छ आफूसँग भएको पैसाको पनि सही सदुपयोग गर्न सकिन्छ, त्योसँगसँगै आय आर्जनको बाटो पनि हुने भयो ।"

दुर्गा तिवारी

सरकारी जागिर खानुपर्छ भन्ने सोचले कडा मेहेनत गर्दा पनि लोक सेवामा नाम ननिस्किएपछि त्यस क्षेत्रलाई छाडेर सेयर बजारलाई अगाँलेकी दुर्गा तिवारी आज लाखौँ नारीहरूका लागि प्रेरणाको श्रोत बन्न सफल भएकी छिन् । ५ लाखको लगानीलाई करोडौँ बनाउन सफल भएकी उनी सेयर बजारलाई नै अँगालेर पनि केही गर्न सकिन्छ है भन्ने उदाहरणीय पात्र हुन् ।

सेयर बजारमा महिलाहरूको पहुँच कस्तो छ भन्ने प्रश्न गर्दा उनी भन्छिन्, "अहिले सरसर्ती डाटा केलाएर हेर्दाखेरी टोटल इन्भेष्टरको संख्यामध्ये ४२ प्रतिशत भन्दा बढी महिलाहरूको डिम्याट खाता रहेको देखिएको छ । डिम्याटको संख्यालाई हेर्दै गर्दाखेरी महिलाहरूको संख्यालाई उल्लेख्य मान्नुपर्छ । तर वास्तविकमा चाहीँ साँच्चै नै महिलाहरू पुरूषहरू जस्तै भनौ न जुन डाटा देखिएको छ ४२ प्रतिशत त्यती नै सशक्त रूपमै यो क्षेत्रमा लगानी गर्ने वा ट्रेड गर्ने गर्छन् त भन्दाखेरी त्यो चाहीँ देखिएको छैन फेरि रियालिटीमा । त्यसले गर्दाखेरी बजारमा महिलाहरूको संख्या छ तर उल्लेख्य चाहीँ देखिँदैन । अनि धेरै जसो महिला लगानीकर्ताहरू चाहीँ बजार बढ्दा आउने त्यसपछि बजार घट्दा वा साइडवेजमा महिनौँ गयो भने बजारप्रति त्यती आकर्षित नहुने देखिएको छ महिलाहरूको हकमा ।"

सेयर बजारमा महिलाहरूको आकर्षण बढाउन नियामक निकायहरूले के गर्नुपर्ला भन्ने प्रश्नको उत्तर दिँदै उनले भनिन्, "म चाहीँ यो आरक्षणको कुरालाई समर्थन गर्दिँन । सेयर बजार सम्पूर्ण कुरा अध्ययन गरेर लगानी गर्नुपर्ने ठाउँ हो । यसले महिला र पुरूष भनेर छुट्याउँदैन लगानी गर्दाखेरी । सेयर बजार जोखिमको क्षेत्र हो जोखिम हेरेर लगानी गर्नुपर्छ यहाँ जति रिस्क हुन्छ त्यती नै प्रतिफल पनि हुन्छ । त्यसले गर्दाखेरी अब नियामक निकायले सेयर बजारमा महिला र पुरूष भनेर छुट्टाछुट्टै नियम बनाओस्, आरक्षणको व्यवस्था गरोस् भन्ने मेरो चाहीँ चाहाना छैन । खाली महिला पुरूष भनेर होइन की समग्र लगानीकर्ताहरूको हितका लागि नियामकले एकदम राम्रो गरोस् भन्ने लाग्छ ।"

महिलाहरूले सेयर बजारलाई कसरी आम्दानीको श्रोत बनाउन सक्लान् भन्ने प्रश्नको उत्तर दिँदै उनले भनिन्, "दिर्घकालिन रूपमा सेयर बजार सँधै बढ्ने नै हो । दिर्घकालिनमा सेयर बजारमा गरिएको लगानी राम्रो प्रतिफल प्राप्त गर्ने र राम्रो फण्डामेन्टल कम्पनीहरूमा लगानी गर्दा लङ टर्ममा सेयर बजारबाट सधैँ नै पैसा कमाउन सक्छन् । खाली लगानी गर्न टेक्निकहरू नजान्दा र समय ठिक नहुँदा घाटा हुने हो । त्यसैले सेयर बजारमा लगानी गर्दा सबैले राम्ररी अध्ययन गर्नुपर्छ । आम्दानीका लागि सेयर बजारलाई दुई रूपले अँगाल्न सकिन्छ । एउटा अन्य काम गर्दै आफूले बचत गरेको पैसा यहाँ दिर्घकालिन रूपमा लगानी गर्न सकिन्छ अर्को चाहीँ सेयर बजारलाई नै पूर्ण रूपमा व्यवसायिक रूपले अँगालेर सेयर बजारबाट जीवन यापन गर्न सकिन्छ । त्यो गर्न दुवैले अध्ययन भने गर्नुपर्छ । सेयर बजारले महिला र पुरूष भनेर छुट्याउँदैन बजारका लागि सबै लगानीकर्ता समान हो । हामी जुन समाजमा छौँ यो समाजमा पुरूषलाई भन्दा महिलाहरूलाई उत्तरदायित्व बढी छ महिलाहरूलाई जागिरसँगसँर्गै घरको काम खाना बनाउनेदेखि, बच्चा हुर्काउने, सरसफाई गर्ने लगायतका अन्य घरायसी काममा धेरै समय खर्चनुपर्ने हुन्छ त्यसो हुँदा महिलाहरूलाई अध्ययन गर्ने समय कम हुन्छ पुरूषहरूको तुलनामा । महिलाहरूलाई साथीहरूसँग भेटेर सेयर बजारको कुरा गर्ने फुर्सद पनि हुँदैन । पुरूषहरूको तुलनामा महिलाहरूको पहुँच अलिकति कम देखिन्छ । महिलाहरूमा अध्ययनशिलताको अलिकति कमी छ जस्तो मलाई लाग्छ त्यसैले सबै लगानीकर्ताहरूलाई अध्ययन गर्न र तालिमहरू लिन सुझाव दिन्छु । महिलाहरूले थोरै थोरै पैसा बचाएर सेयर बजारमा लगानी गरी आत्मनिर्भर बन्न सक्छन्, श्रीमानका लागि आर्थिक रूपमा घर खर्च चलाउन सहयोगीको भूमिका खेल्न सकिन्छ । कतिपय महिलाहरूले सेयर बजारलाई नै व्यवसायिक रुपमा अपनाएर करोडौँ रूपमा कमाएका उदाहरणहरू पनि छन् । त्यसैले हामीसँग धेरै पूँजी छैन भने पनि एक एक हजार रूपैयाँको आईपीओ भर्ने गरौँ, लगानी गरौँ, आफ्नो र आफ्ना सन्तानको भविष्य उज्जवल बनाऔँ ।"

पुष्पा कोइराला (घिमिरे)

लगानीकर्ता पुष्पा कोइराला (घिमिरे) सेयर बजारमा प्रवेश गर्नुअघि पूर्ण समय शिक्षण पेसामा संलग्न थिइन् । आफ्नो दाईको प्रेरणाले सेयर बजारमा प्रवेश गरेकी कोइरालाले अहिले सेयर बजारबाट राम्रो नाफा कमाइरहेकी छिन् । वि।सं। २०६९ सालतिर कारोबार प्रारम्भ गर्दा केही कम्पनीहरुमा गरेको लगानीबाट नोक्सानी व्यहोर्न पुग्दा सेयर बजारबाट बाहिरीनेसम्मको सोच बनाएकी उनले धैर्यता, अध्ययन र लगावले यसअघिको बुलिस ट्रेन्डमा मात्रै लगानीबाट ४ गुणाभन्दा बढी मुनाफा कमाइन् । 

नेपाली सेयर बजारमा महिलाहरूको पहुँचको बारेमा बोल्दै उनले भनिन्, "पहिला पुरूषहरूको पहुँच धेरै थियो तर यो २०७३ सालपछि महिला लगानीकर्ताहरुको संख्या बढेको छ । ब्रोकर हाउसहरूमा पनि धेरै जसो महिला लगानीकर्ताहरू नै बढी भेटिन्थे । यो सेकेन्ड बुलको बेलामा पनि धेरै जसो महिला लगानीकर्ताहरूनै बढी सहभागी थिए । पुरूषको तुलनामा महिलाहरूसँग पूँजी पर्याप्त नहुने हुँदा पूँजी बजारप्रति महिलाहरूको लगाव केही कम भएको हुनसक्छ ।"

सेयर बजारमा महिलाहरूको आकर्षण बढाउन नियामक निकायहरूले के गर्नुपर्ला भन्ने प्रश्नको उत्तर दिँदै उनी भन्छिन्, "महिलाहरूलाई तालिमहरू त प्रदान गर्नुपर्ने हो तर अहिले तालिम सुविधा दियो अनि पछि बजार क्ल्यास भयो अनि कुनै पनि त्यसको रिफण्ड भएन भने अहिलेको लघुवित्तहरूमा देखिएको जस्तो घरपरिवारमा नै फाइनान्सियल क्राइसिस आउँछ, पारिवारिक द्वन्द हुन्छ, नियामकप्रति नकारात्मक धारणा पैदा हुन्छ । त्यसैले नियामकले सधैँ परिस्थिती हेरेर, केकस्ता कम्पनीहरूमा लगानी गर्दा राम्रो हुन्छ, कुन सेक्टर कस्तो हो भनी प्री आइडेन्टीफिकेसन गर्न तालिमहरू दिँदा राम्रो हो । अहिलेको जस्तो सिनारियो नभईकन सरकार स्थिर भयो, लगानीको वातावरण बन्यो, लिक्वीडिटी क्राइसिसहरू सहज भयो भने नियामक निकायले महिलाहरूलाई सचेत गराएर लगानी गर्न विशेष तालिम दिन सक्छन् । जसले गर्दा देशैभरी महिला लगानीकर्ताहरूको सहभागिता बढ्छ । महिलाहरूले दुई चार छाक कटाएर लगानी गरेका हुन्छन् अहिलेको जस्तो तत्कालिन अवस्थामा त लगानी गर्ने वातावरण पनि देखिँदैन । आर्थिक संकटको बेलामा लगानी गरी घाटा ब्यहोर्नु पर्यो भने झन् समस्यातिर धकेल्छ जस्तो मलाई लाग्छ । त्यसैले सर्वप्रथम लगानीमैत्री वातावरण सृजना हुनुपर्छ ।"

महिलाहरूले सेयर बजारलाई कसरी आम्दानीको श्रोत बनाउन सक्लान् भन्ने जवाफलाई उनले यसरी उत्तर दिइन्, "समग्र स्थिती राम्रो भएको खण्डमा सेयर बजारलाई लगानीको नियमित श्रोत बनाउन एकदमै सजिलो छ । आफूले जम्मा गरिरहेको बचतलाई लगानी गरी मोबिलाइज गर्न सकिन्छ । लङ टर्म इन्भेष्टमेन्ट गर्ने की सर्ट टर्म ट्रेडर बन्ने बजारमा एउटा बहाव आउँछ त्यो बहावसँगै बग्न सक्नुपर्छ नत्र भने कमाइँदैन । राम्ररी अध्ययन गरेर लगानी गर्दा महिलाहरूले दैनिकी चलाउने राम्रो श्रोत हो सेयर बजार ।"

यशोदा कार्की

अध्ययनको क्रममा वित्तीय शिक्षा र पत्रपत्रिकामा सेयर बजारका स्तम्भबाट प्रभावित यशोदा कार्की विगत १० वर्षदेखि नेपालको सेयर बजारमा सक्रिय रूपमा लगानी गर्दै आइरहेकी छिन् ।

आफू एक सफल महिला लगानीकर्ता उनी नेपाली सेयर बजारमा महिलाहरूको पहुँचको बारेमा बोल्दै भन्छिन्, "जनसङ्ख्याको रूपमा हेर्दा महिलाहरूले आधा आकाश ढाकेका छन् । प्रविधीको विकाससँगै हामी एक्काइसौँ शताब्दीमा छौँ । तर अझै पनि पैतृक सम्पत्तीमा महिलाहरूको अधिकार अझैसम्म सुरक्षित भएको छैन । पूँजी बजार भन्ने बित्तीकै पूँजी नभईकिन बजारमा प्रवेश गर्ने कुरा हुँदैन । पूँजी बजारमा महिलाको पहुँच बढाउन पहिला त पैतृक सम्पत्तिमा महिलाहरूको हक अधिकार सुरक्षित गर्न आवश्यकता हुन्छ । अर्को चाहीँ यो हाम्रो पितृसतात्मक समाज भएको हुनाले महिलाहरूले जोखिम लिन सक्दैनन् भन्ने मनोविज्ञान छ रिस्क बियरिङ सम्बन्धी यस्तो मनोविज्ञान पनि परिवर्तन हुनु जरूरी छ । महिलाहरू पनि पुरूष जस्तै सक्षम छन् भन्नका लागि उनीहरूलाई वित्तीय साक्षरता दिनु जरूरी हुन्छ । बजारमा आउनुभन्दा पहिला यसको बारेमा राम्ररी जानकार हुनुपर्छ ।"

सेयर बजारमा महिलाहरूको आकर्षण बढाउन नियामक निकायहरूले के गर्नुपर्ला भन्ने प्रश्नको उत्तर दिँदै उनले भनिन्, "ब्रोकरले लिने कर पुरूषहरूको तुलनामा नारीहरूलाई केही प्रतिशत कम गरिदिने हो भने यस क्षेत्रमा महिलाहरूको आकर्षण बढ्थ्यो होला ।"

महिलाहरूले सेयर बजारलाई कसरी आम्दानीको श्रोत बनाउन सक्लान् भन्ने बारेमा बोल्दै उनले भनिन्, "घरमा काम गर्ने महिलाहरूले तरकारीबाट बचाएका पैसा अझ बढी महिलाहरू धेरै भन्दा धेरै कपडा, सुनचाँदी, गरगहनाहरूमा आकर्षित हुने गर्छन् । त्यो आकर्षणलाई घटाएर लगानी गर्नुपर्छ । लगानीबाट प्रतिफल लिएर आफैँ सक्षम हुनुपर्छ भन्ने चेतनाको विकास गर्नुपर्छ ।"

निर्मला श्रेष्ठ

२०१६ बाट सेयर बजारमा प्राथमिक बजारबाट लगानीको सुरुवात गरेकी निर्मला श्रेष्ठ हाल नेपाल पूँजीबजार लगानीकर्ता सङ्घ कैलाली जिल्ला अध्यक्ष हुन्। सेयरबजार अर्थोपार्जनको राम्रो माध्यम र अवसर देखेर उनी सन् १०१९ बाट सक्रियरुपमा दोश्रो बजारमा लगानी गर्दै आएकी छिन् ।

सेयर बजारमा महिलाहरूको पहुँचको बारेमा बोल्दै उनी भन्छिन्, "पहिलाभन्दा सेयर बजारमा महिलाहरूको सहभागिता अत्यधिक बढेको छ । मैले आफू विभिन्न कार्यक्रमहरूमा उपस्थित हुँदा पनि महिलाहरूको यस क्षेत्रमा बाक्लो सहभागिता देखेकी छु  । उनीहरूले १०० रूपैयाँ बचाएर परे पनि नपरे पनि आईपीओ मार्फत् लगानी गरिरहेका हुन्छन् ।"

नियामक निकायले के गर्नुपर्ला भन्ने प्रश्नको उत्तर उनले यसरी दिइन्, एउटा त शिक्षा क्षेत्रमा पनि सेयर बजारको जानकारी गराइयो भने यो भन्दा पनि अझै बढी महिलाहरूको सहभागिता बढ्छ र सचेतना फैलन्छ । अर्को भनेको हामी लगानीकर्ताहरूले धेरै अगाडीदेखी सिंहदरबारमा चिच्याइरहेका मागहरू सम्बोधन हुनुपर्छ । नियामक निकायले सेयर बजार सम्बन्धी शिक्षालाई प्रोत्साहन गर्नुपर्छ ।

महिलाहरूले सेयर बजारलाई कसरी आम्दानीको श्रोत बनाउन सक्लान् भन्ने बारेमा बोल्दै उनी भन्छिन्, "जहाँ लाग्यो त्यहाँ फल त मिल्छ सेयर बजारमा पनि निरन्तर लाग्यो भने यहाँबाट राम्रो आम्दानी गर्न सकिन्छ ।"

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको