Like us!
Follow us!
Connect us!
Watch us!

छोरीहरुलाई कलम मात्र होइन हतियार पनि चलाउन सिकाउनुहोस्

सरस्वती अधिकारी

सोमबार, २४ फागुन २०७७, १८ : ०० मा प्रकाशित

छोरीहरुलाई कलम मात्र होइन हतियार पनि चलाउन सिकाउनुहोस्

आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । अझ भनौं नारी स्वतन्त्रता अनि लैंगिक हिंसाविरुद्ध आवाज बुलन्द पार्ने दिन ! संसारभरका नारीहरु जुट्ने दिन ! ३६४ दिनलाई भुलेर उत्सव मनाउने दिन ! महिला अधिकारकर्मी अनि आफूलाई नारीवादी हुँ भनेर चिनाउनेहरुको दिन ! ५ तारे होटल अनि रेष्टुराँमा आवाज घन्काउने दिन, प्लेकार्ड बोकेर शहरका गल्लि गल्लि मा हिड्ने दिन ! यहि हो नारी दिवस ?

मात्र एक दिन खुशियाली व्यक्त गरेर आवाज बुलन्द पार्दैमा स्वतन्त्रता आउँछ ? आज एकदिन स्वतन्त्रता  नारा घन्काउँदैमा भोलिका दिनमा नाबालिका अनि हजुरआमा बलात्कृत भएको समाचार सुन्न अनि लेख्न पर्दैन र ? के तपाईका ती आवाजहरु दूरदराजका बस्तिहरुमा पनि घन्किए ? बाहिर नारी दिवसको नारा घन्काएर घरभित्र हिंसा त गरिरहनुभएको छैन ? दिनभर नारी दिवसको नारा घन्काउने अनि बेलुकी आफैं महिला हिंसा गर्नेहरुको पनि कमि छैन समाजमा । पुरुषले मात्र हिंसा गरेका छैनन् । महिला हिंसा गर्ने पुरुषभन्दा महिलाकै संख्या धेरै छ । अनि उनीहरु नै महिला हिंसाविरुद्ध आवाज उठाउँछन् ! कसरी आउँछ स्वतन्त्रता ? कतै सासुको रुपमा कतै बुहारीको रुपमा, त कतै सौता, नन्द, आमाजू, भाउजूको नाममा । कहिँ न कहिँ कतै न कतै महिलाहरु नै महिलाबाट पिडित बनिरहेका छन् ! आउनुहोस् एकैछिन् मनन् गरौँ त नारी दिवसको औचित्य कति छ ? नारी दिवस नाटक नै र नौटंकी नै हो ! यो भन्दै गर्दा आफूलाई नारीवादी सम्झनेहरुले गालि पक्कै गर्लान् । गाली पनि खान तयार भएर मैले यो लेख लेख्दैछु !

पेशाले म संचारकर्मी, दैनिक समाचार संकलन गर्नु, प्रकाशन गर्नु, हेर्नु, पढ्नु, खोज्नु मेरो कर्तव्य नै हो । डेस्कमा बलात्कारको समाचार नआएको दिन सायदै होलान् ! जवान किशोरीको कुरै छोडौं यदि बलात्कृत नै भइछिन् भने पनि समाजले त्यहि खराब थिइ को 'ट्याग' लगाइदिन्छन्, सकियो ! अक्सर समाचारहरु यस्ता आउँछछन् जुन लेख्दा हात काप्छान् पढ्दा ओठ । मनमा दिनभर बेचैनी आउँछ । दिमागले दिनभर त्यहि मात्र परिकल्पना गर्छ कि छोरी भएर जन्मनु पनि पाप नै हो ! डेस्कमा आइपुग्ने केहि समाचार अनि हेडलाइनहरुका केहि उदाहरण: बाबुद्वारा छोरी बलात्कृत, सहोदर दाजुद्वारा बहिनि बलात्कृत, ७० वर्षीय वृद्धा बलात्कृत, ७ वर्षीय बालिकाको बलात्कारपछी हत्या ! अब आफैं कल्पना गर्नुहोस् त नारी दिवस मनाउनुको कुनै औचित्य छ ? एक सयभन्दा बढी नारी दिवस मनायौं होइन ? खोइ त सुरक्षा ? कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षिया बालिका निर्मला पन्त, कास्कीको पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया बिक, मोरङ विराटनगर महानगरपालिका–बलुवाईकी ११ वर्षीया बालिका रुपमती दास,  धनुषाको औरही गाउँपालिका-२ कि १० वर्षकी बालिका मनिता कुमारी यादव, उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १२ वर्षीया बालिका एन्जिला खडका, बैतडी दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट ........... यी त प्रतिनिधि घटना मात्र हुन्, उदाहरण मात्र हुन्, यस्ता घटनाहरु त दिनहुँ बढ्दै गइरहेका छन् । कति लुकेका छन् अनि कति जबरजस्त लुकाइएका होलान् ! बिहान घरबाट सकुसल घरबाट बाइबाइ भन्दै निस्कएका छोरीहरु बेलुकी घर सकुशल फिर्ता हुन्छिन् कि हुँदिनन् भन्ने चिन्ता आम अभिभावकमा छ ।

अब तपाई आफैं भन्नुस् त हामीले मनाएको नारी दिवसको औचित्य छ ? कुरा बलात्कारको मात्र होइन एसिड आक्रमण, घरेलु हिंसाको पनि उस्तै व्याप्त छ । सामाजको साँघुरो र  संकीर्ण सोच अनि संस्कारबाट पनि आक्रान्त बनेका छन् नारीहरु । २१ औं शताब्दीको यो अत्याधुनिक युगमा पनि बोक्सीको आरोपमा कुटिन्छिन् नारीहरु । अझै पनि एउटी निरिह, सोझी जसको कोहि छैन, जो पहुँचबाट टाढा छिन् यस्ता नारीहरु बोक्सीको आरोपमा कुटिन्छिन्, पिटिन्छिन्, अपमानित हुन्छिन् । कतै प्रमको नाममा त, कतै बदलाको नाममा त कतै आफ्नो भोक मेटाउने नाममा, कतै न कतै कहिँ न कहिँ नारीहरु हिंसात्मक शिकारबाट बन्चित हुन सकेका छैनन् ।

घर, स्कुल, समाज, देश कतै सुरक्षित छैनन् छोरीहरु । बिहान बाईबाई बन्दै निस्किएकाहरुको  बाईबाई नै अन्तिम पो भैदिने होकी भन्ने त्रासमा यात्रामा निस्कन्छन् छोरीहरु । प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड आक्रमण पो हुन्छ कि भन्ने डरमा हुन्छन् छोरीहरु ।  मैले यो सब लेख्दै गर्दा पुरुषहरुले मनमनै गालि पनि गर्दा हुन् कत्ति न नारी मात्र अन्यायमा परेजस्तो भनेर, यहाँ महिलामात्र होइन पुरुष पनि अन्यायमा परेका छन् । मैले पुरुषलाई मात्र दोष दिन भने कदापी खोजेको होइन तर पुरुषको तुलनामा महिला बढी नै पिडित छन् । एकहोरो प्रेम गर्ने अनि स्वीकार नगरे एसिड छ्यापिदिने, दुश्मनी बदलामा कपडा च्यातिदिने, आफ्नो भोक मेटाउने अनि घाँटी न्याकिदिने ? वाह क्या छ मानवता ! लाग्छ कहिलेकाही त् मान्छेहरु मान्छे नै रहेनन् यदि मान्छे हुन्थ्ये भने यतिसम्म गिर्ने थिएनन् ! कतै लालीपप, कतै चकलेट बिस्कुट र मिठाईको नाममा कतै त प्रेमको नाममा बालिका र किशोरीहरु बलात्कारको शिकार भइरहेका छन् ।

हुन त देशको सबैभन्दा उच्च पद अर्थात् राष्ट्रपति महिला नै हुनुहुन्छ तर हुनु र नहुनुले के अर्थ ? जब एउटी चेलीको बलात्कारपछी विभत्स हत्या भएको समाचार आउँदा पनि बोलि समेत फुट्दैन भने ...।  यदि बोलिहाल्नु भयो भने पनि विज्ञप्ति निकालिन्छ अनि समवेदना प्रकट गरिन्छ सकिहाल्छ । त्यो भन्दा दोस्रो बोलि फुट्नेवाला छैन ! बलात्कार जस्तो जघन्य अपराधमा पनि राजनीति मिसाइन्छ अनि अपराधि बचाउने अनेकौं षडयन्त्र रचिन्छ । नियम बनाउनेहरुले नै नियममा चल्दैनन् उल्टै नियमलाई आफ्नो सिस्टममा चलाउछन् । जो पिछडिएका छन् उनीहरुको गुनासो सुन्ने फुर्सद नै हुँदैन अपराधीसँग डिलिङ गरिन्छ अनि पिडितलाई केहि पैसा थमाएर घटना यसै साम्य पारिन्छ । यस्ता घटना कयौं होलान् जुन मिडियामा आउँन सकेका छैनन् । आखिर कहिलेसम्म हो छोरीहरुले त्रासमा बस्नुपर्ने ? शहरका तारे होटलहरुमा नारी दिवसको नारा लगाउँदैमा यी र यस्ता समस्याहरु समाधान हुँदैनन् । अनि डलररुपी नारी दिवस नाटक होइन र ? नौटंकी होइन र ?

समाधान भन्दा बढी समस्या छ भने नारी दिवस मनाउनु के जरुरी ? जरुरी यो छ कि अब गाउँगाउँ बस्तिबस्ति गएर छोरीहरुलाई यौनजन्य हिंसा के हो र यसबाट बच्न कसरी बच्ने भनेर सिकाउन । बा-आमाले छोरीहरुलाई बेलैमा घर आएस है छोरी मान्छेले अबेरसम्म घरबाहिर बस्नुहुन् भन्दै गर्दा आफ्ना छोराहरुलाई पनि बाबु अर्काको छोरीचेलीमाथि कहिल्यै कुदृष्टि नराखेस् भनेर सिकाउनु जरुरी छ । मान्छे भएर मान्छे जस्तै हुनु जरुरी छ । छोरीहरुलाई कमम मात्र होइन आफ्नो सुरक्षाको लागि बन्दुक, तरबार र हतियार चलाउन सिकाउनु जरुरी छ ताकी आफ्नो रक्षा आफैं गरुन र भोलिका दिनमा यस्ता समस्याहरु नआउँन । घर, परिवार, समाज, विद्यालय देश सबैतिर स्वतन्त्र भएर हिड्ने दिन आओस्, स्कुल पढ्न गएकी छोरी बेलुकी सकुशल घर फर्किउन्, श्रमदेखि पारिश्रमिकसम्म नारी र पुरुषबीच विभेद नहोस् एक रथको दूई पांग्रा हुन् नारी र भन्ने नारा व्यवहारमा पनि लागु होस् ! नारी दिवसको शुभकामना !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको