Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरलाई  नयाँ शाखा खोल्न अनुमति, साल्ट ट्रेडिङ्गको शंकास्पद काराेबार र अन्य खबर

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १० : १० मा प्रकाशित

ब्रोकरलाई  नयाँ शाखा खोल्न अनुमति, साल्ट ट्रेडिङ्गको शंकास्पद काराेबार र अन्य खबर

१. नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ । संघको आज बसेको बैठकले बचतको ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने निर्णय गरेको हो । यता मुद्दती निक्षेपको ब्याजदर भने यथावत राखिएको छ । संघको आज बसेको बैठकले बचतको ब्याजदर घटाएर न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । त्यसैगरी, साेही बैठकले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको छ । यसअघि ६ प्रतिशतसम्म प्रिमियम थप गर्ने गरिएकाे थियाे ।

२. आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ । संस्थाकाे फागुन २३ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षकाे वित्तीय विवरणहरु छलफल गरी अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । साेही बैठकले संस्थाले आ.व २०७८ / ०७९ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हाे ।

३. मोदी इनर्जी कम्पनी लिमिटेडले आजदेखि पहिलाे चरणकाे आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि २९ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । दुवै समूहका आवेदकहरुले चैत ९ गतेसम्म आईपीओ भर्न सक्नेछन् । यद्दपि, स्थानीयका लागि भने सम्पूर्ण सेयरमा आवेदन नपरेमा चैत २४ गतेसम्म आईपीओ बिक्री खुला रहने कम्पनीले जानकारी गराएको छ । 

४. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडको सेयर सूचीकृत भएकाे छ । स्टकका अनुसार हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि हिमालयन बैंकको नामबाट ७ करोड ६५ लाख ०३ हजार ९ सय १८ दशमलव ४९ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

५. माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि पहिलाे चरणकाे आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ९२ हजार १ सय ५७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ५२ हजार ९ सय ४१ कित्ता आईपीओ निष्कासन गरेकाे हाे । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म सेयर भर्न पाउनेछन् ।

६.  ब्याजदर घट्ने बैंकर्स संघकाे निर्णयसँगै सेयर बजारमा उत्साह देखिएकाे छ । नेप्से सूचक पून २००० विन्दुमाथि उक्लिएकाे छ । साताकाे अन्तिम काराेबार दिन बिहीबार नेप्से परिसूचक ५० दशमलव ०६ अंकले बढेर २००२ दशमलव ७० विन्दुमा पुगेकाे छ । यस दिन कुल २ सय ६२ वटा कम्पनीकाे ४५ लाख ६६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५६ कराेड ५५ लाख ५८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

७. नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले ११ वटा ब्रोकरलाई  नयाँ शाखा खोल्न अनुमति प्रदान गरेको छ । धिताेपत्र बाेर्डले धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ बमाेजिम नयाँ शाखा खोल्न अनुमति प्रदान गरेको हाे । बाेर्डका अनुसार ११ वटा ब्राेकर कम्पनीले कुल २० ठाउँमा शाखा खाेल्ने अनुमति प्राप्त गरेका छन् । 

८. बिहिबार नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार बुटवल पावर कम्पनी लिमिटेडकाे ५ प्रतिशत बोनस बापतको १६ लाख २७ हजार ३ सय ७८ कित्ता र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे ३६ लाख १३ हजार ५ सय दशमलव २५ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

९. हिमालयन एभरेष्ट इन्स्योरेन्सले २९ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको एजीएम चैत २९ गते, बुधबार बानेश्वर ब्याङ्क्वेट, थापागाँउ काठमाडौंमा हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित हाल कायम चुक्ता पूँजीकाे २.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.१४% नगद लाभांश वितरण गर्ने प्रस्ताव  पारित गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले चैत ३ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

१०. बिहीबार सुनकाे भाउ तोलामा ५ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख १ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीकाे भाउ पनि ताेलामा  ५ रुपैयाँले घटेर प्रतिताेला १२ सय २० रुपैयाँ कायम भएको छ । 

११. दाेश्राे बजारमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शंकास्पद काराेबार भएकाे पाइएकाे छ । कम्पनीकाे सञ्चालकका पारिवारीक सदस्यहरुले गैरकानुनी कारोबार गरेका खुलासा भएकाे हाे । साेही गैरकानुनी कारोबारकाेविरूद्धमा नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा उजुरी दर्ता भएकाे छ ।उजुरीकर्ताले आवश्यक छानबिन गरी कारबाहीको माग समेत गरेका छन् । साथै राफसाफ हुन बाँकी सेयरहरु तत्कालको लागि राफसाफ रोक्का राखी दिन समेत अनुरोध गरिएकाे छ ।  

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको