Like us!
Follow us!
Connect us!
Watch us!

द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक हुन्ः राष्ट्रपति पौडेल

अर्थ संसार

शनिबार, ११ चैत्र २०७९, १५ : ३२ मा प्रकाशित

द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक हुन्ः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक भएको बताएका छन् । मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत भइरहेको प्रयासको सह्राना गर्नुहुँदै राष्ट्रपति पौडेलले यसलाई निरन्तरता दिन आग्रह गरेका हुन् ।

मुलुकमा क्रियाशील विभिन्न १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीसँगको भेटमा शनिबार राष्ट्रपति भण्डारीले आर्थिक कुटनीतिको रिक्तता पूरा गर्न निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंशा गरे । नेपालको दूतावास नभएका मुलुकमा निजी क्षेत्रमार्फत आर्थिक कुटनीतिको रिक्तता पूरा गर्न सकिने उनको भनाइ छ । 

राष्ट्रपति पौडेलले मुलुकको वृहत्तर आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका सशक्त र प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै  द्विराष्ट्रिय उद्योग वाणिज्य संघका माध्यमले वैदेशिक लगानीमा सहजीकरण गर्न सकिने धारणा राखे । 

यसअघि १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले राष्ट्रपतिबाट निजी क्षेत्रमैत्री नीति नियम तर्जुमाका लागि सरकारलाई मार्गनिर्देश हुने अपेक्षा राखिएको बताए । 

“सम्माननीय राष्ट्रपति ज्यूले अभिभावकीय भूमिकामा रहेर नेपाल सरकारलाई निजी क्षेत्रमैत्री नीति निर्माण तथा तिनको प्रभावकारी कार्यान्वयनमा मार्गनिर्देश गर्नुहुनेछ भन्ने हाम्रो दृढ विश्वास छ,” श्रेष्ठले भने । 

पछिल्लो समय अर्थतन्त्रका वाह्य क्षेत्रहरु व्यापारघाटा, वैदेशिक लगानी तथा पर्यटन क्षेत्र निराशाजनक रहेको तस्बिर प्रस्तुत गर्दै श्रेष्ठले निजी क्षेत्रमैत्री नीति नियम तर्जुमा हुनसके अर्थतन्त्रको तस्बिर बदल्न सकिने धारणा राखे । 

कार्यक्रममा १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदमा अत्यधिक मतसहित निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो । 

शितल निवासमा आयोजित समारोहमा नेपाल चीन उद्योग वाणिज्य संघ, नेपाल जर्मन उद्योग वाणिज्य संघ, नेपाल इन्डिया उद्योग वाणिज्य संघ, नेपाल अमेरिका उद्योग वाणिज्य संघ, नेपाल ब्रिटन उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी थिए । 

यस्तै, राष्ट्रपतिसँगको भेटमा नेपाल जापान उद्योग वाणिज्य संघ, नेपाल कोरिया उद्योग वाणिज्य संघ, नेपाल रसिया उद्योग वाणिज्य संघ, नेपाल भियतनाम उद्योग वाणिज्य संघ, नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघ, नेपाल सिंगापुर उद्योग वाणिज्य संघ, नेपाल इटाली उद्योग वाणिज्य संघ, नेपाल कुवेत उद्योग वाणिज्य संघ, नेपाल थाइल्याण्ड उद्योग वाणिज्य संघ, नेपाल यूएई उद्योग वाणिज्य संघ, नेपाल श्रीलंका उद्योग वाणिज्य संघ, नेपाल म्यानमार उद्योग वाणिज्य संघ, नेपाल फिलिपिन्स उद्योग वाणिज्य संघ र नेपाल पेरु उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी सहभागी रहेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको