नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहीन भएको बताएका छन् । आज (बिहिबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले सय दिनमा देखिने गरी कुनै काम गर्न नसकेको आरोप लगाएका हुन् ।
उनले भने,‘३७ बुँदा पढ्दा के पढेको केही पनि बुझिँदैन । एउटासँग विवाह गर्यो अनि अर्कासँग पोइला गयो । वरिपरी आठ नौ भाई जम्मा गरेर टिकेको यो सरकार सय दिन नाघिसक्दा मन्त्रिपरिषद त बनाउन सकेको छैन । सय दिनमा मन्त्रिपरिषद बनाउन नसक्ने अनि फूर्ती गरेर हुन्छरु यो सरकारको सय दिन उपलब्धीहीन भएको छ । यसले कुनै निकास दिन सकेको छैन।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आफ्नो सय दिनको कार्यकालमा नेपालमा कति बालबालिका जन्मे, कति मिलिलिटर पानी पर्यो र कति पटक घाम लाग्यो लगायतका कुरा लेख्न छुटाएको उनको टिप्पणी छ ।
‘अस्तीको विहान, हिजोको विहान र आजको विहान गयो । किन गयो भन्दाखेरी सरकार गठन भएको सय दिन पुगेछ, गोरखा पत्रमा दुई पृष्ठ ढाकिने गरी ३७ बुँदे सय दिनमा सरकारले गरेको कामहरुको विवरण पढ्दैमा गयो । त्यो ३७ बुँदामा एउटा ३८ बुँदा राख्नुपर्ने त्यो छुटेछ । त्यो के भन्दाखेरि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएदेखि यता नेपालका अस्पतालमा कति बालबालिका जन्मे तिनीहरुको उल्लेख भएन छ । यो बीचमा कति मिलिलिटर पानी पर्यो त्यो पनि उल्लेख भएन छ । कतिपटक घाम लाग्यो त्यो पनि उल्लेख भएन छ,’– उनले टिप्पणी गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस