Like us!
Follow us!
Connect us!
Watch us!

अख्तियारको संशोधन विधेयक सच्याउन सभामुख घिमिरेसमक्ष चेम्बरको आग्रह

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, १६ : ३५ मा प्रकाशित

अख्तियारको संशोधन विधेयक सच्याउन सभामुख घिमिरेसमक्ष चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउनका लागि पहल गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको छ । अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रिय सभाबाट स्वीकृत भएर प्रतिनिधि सभामा गएको सो विधेयकले निजी क्षेत्रमा प्रतिकुल असर गर्ने भन्दै चेम्बरले घिमिरेको ध्यानाकर्षण गराएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकुल बनाउन सभामुख घिमिरेलाई चेम्बरले ज्ञापनपत्र बुझाएको छ । मुलुकको अर्थतन्त्र हाल जोखिममा रहेका बेला निजी क्षेत्र थप संकुचित हुने र उद्योग व्यवसायमा प्रतिकुल असर पर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । सभामुख घिमिरेसमक्ष अध्यक्ष मल्लले भने ‘उद्योग व्यवसायको प्रवर्द्धन, संरक्षण मार्फत निजी क्षेत्रको मनोबल उकास्नुपर्नेमा विधेयकमा उल्लेखित व्यवस्थाले थप हतोत्साही बनाएको छ ।’

निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याएर अनुसन्धान गर्ने व्यवस्था संविधानको भावना प्रतिकुल रहेको उनको भनाइ छ । निजी क्षेत्रमा नियमन गर्ने सम्बन्धित निकायहरु हुँदाहुँदै थप अख्तियारको क्षेत्राधिकारभित्र पार्न खोज्दा वेथिति बढ्ने र वैदेशिक लगानी समेत प्रभावित हुन सक्ने मल्लले बताए । निजी क्षेत्रको अनियमितताका लागि छुट्टै निकाय भएकाले अख्तियारको क्षेत्रभित्र ल्याउन खोज्नु अनावश्यक भएको उनको भनाइ छ ।

सभामुख घिमिरेले निजी क्षेत्रमैत्री कानुन निर्माणका लागि आफू प्रयासरत रहेको बताए । उनले भने, ‘ऐन बनाउन मुलतः सरकार र राजनीतिक दलहरुकै भूमिका रहन्छ, तर मैले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास दिलाउँछु, ।’ संसदीय समितिहरु गठनको प्रक्रियामा रहेकाले पनि गठन भए लगत्तै आफ्ना सुझावहरु दिने घिमिरेले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको