Like us!
Follow us!
Connect us!
Watch us!

फ्लाई दुबईको जहाज किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन ?

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, ०६ : ५७ मा प्रकाशित

फ्लाई दुबईको जहाज किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो । विमान चालक (पाइलट) ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा करिब ११ मिनेट जहाज होल्ड गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो  त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ थिए ।

टावरका एटीसीले पाइलटसँग निरन्तर ‘कम्युनिकेसन’ गरिरहेका थिए । पाइलटले जहाज सामान्य अवस्थामा रहेको र गन्तव्य जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय लिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाजको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरियो । राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म विमानस्थमा अन्य जहाजको उडान रोकेर अवतरणको तयार गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्याण्डबाई’ गरियो । यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् । 

दमकलसहित भेहिकल, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखियो । पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलायो ।

  काठमाडौँमा किन जहाज अवतरण गरिएन भनी सोधिएको जिज्ञासामा प्राधिकरणका सहायक प्रवक्ता भुलले जहाजको सबै पार्टपूर्जा जाँच गर्दा ठीक रहेको र जहाज गन्तव्य पुग्छ भन्ने पाइलटले निर्णय लिएपछि उक्त जहाज गन्तव्यतिर लागेको बताए । उनले भने , “पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जहाज दर्ता भएकाले उतै अवतरण गर्ने निर्णय भएको हुनसक्छ । दुवै देशमा उडान गर्ने जहाज हो समस्या आएन भने दुबईमा नै जहाज अवतरण हुन्छ ।”

   यस्तो किसिमको घटनामा जहाज काठमाडौँमा अवतरण गर्न सहज हुन्छ? भन्ने थप जिज्ञासामा सहायक प्रवक्ता भुलले त्यस किसिमको सबै क्षमता विमानस्थलमा रहेको र कथमकदाचित जहाज अवतरण गर्नुपरेको भए विमानस्थलमा अवतरण गर्न सकिने उनले बताए। 

  जहाजका सम्बन्धमा नेपालको एटीसीसँग सोधपुछ गर्न सक्छन् । नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । तर जहाज दुबईमै अवतरण गर्ने भएकाले दुबईको सिभिल एभिएसन अथोरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ ।

जहाजमा आगो लागेको इञ्जिन बन्द गरिन्छ । विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीले बताए ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२: ११ बजे अवतरण भइसकेको छ। 

 उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको