Like us!
Follow us!
Connect us!
Watch us!

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

अर्थ संसार

शुक्रबार, १५ बैशाख २०८०, १० : २४ मा प्रकाशित

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा त्यहाँ अवतरण भएको हो ।

निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो । विसं २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल रु ३३ करोड लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा रहेको छ ।

आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ । कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेलले बताए । “रेसुङ्गा– काठमाडौँ उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर रु छ हजार पाँच सय हुने भनिए पनि अन्तिममा रु छ हजारसम्म कायम हुनसक्छ”, उनले भने। 
 
निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो । 

लामो समयपछि जहाज चढेर काठमाडौँ जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।-रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको