Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने: अर्थमन्त्री महत

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १४ : १८ मा प्रकाशित

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । 

राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी आजको छलफलमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन् । उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे। 

सांसदहरुले महत्वपूर्ण सुझाव दिनुभएको उल्लेख गर्दै मन्त्री महतले सांसदले उठाउनुभएका प्रश्न, खबरदारी र सुझावलाई आत्मसाथ गरिने विश्वास दिलाए । उनले भने– “आर्थिक वृद्धिदर कुनै सीमित वर्ग र समुदायमा मात्र सीमित नभइ समावेशी हुने गरी आगामी बजेट तय हुनेछ, वैदेशिक सहायता कम भएको सन्दर्भमा स्रोत जुटाउने सबै उपाय अवलम्बन गरिनेछ ।” 

राजश्व घटेको र पुँजीगत खर्च कम भएको अवस्थामा आगामी आवमा पुँजीगत खर्चको प्रभावकारिता बढाउने र पहिलो दिनदेखि नै प्रभावकारी रुपमा अनुगमन गर्ने मन्त्री महतले उल्लेख गरे। विदेशी सहायता, राजस्व र आन्तरिक ऋण नै बजेटको स्रोत हुने जिकिर गर्दै उनले प्रभावकारी ढङ्गबाट खर्च गर्ने व्यवस्था गरिने विश्वास दिलाए । 

अहिले ब्याजदर बढेकाले लागत बढेको र यसले गर्दा लगानी कम भएको बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री महतले भने, “मौद्रिक नीतिमार्फत ब्याजदर कम हुने व्यवस्था गरिनेछ, यसले राजस्व बढाउन र अर्थतन्त्र चलायमान बनाउन योगदान पुग्ने तथा  सकारात्मक प्रभाव पर्नेछ ।” 

राजस्व चुहावट कम गर्न गृह र अर्थ मन्त्रालय मिलेर नियन्त्रण गरिने मन्त्री महतको भनाइ थियो । उनले मुलुकमा केही विकास नै नभएको भनी निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भने, “प्रजातन्त्र पुनः स्थापनापछि मुलुकमा शिक्षा, स्वाास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा धेरै काम भएका छन् । तर पनि यतिले पुग्दैन । अझै धेरै काम गर्नुछ ।” 

करको विषयमा कुनै पनि सीमित वर्ग र समुदायलाई फाइदा पु¥याउने गरी कुनै काम नहुने एवम मुलुक र जनतालाई केन्द्रमा राखेर नै बजेट तय गरिने उनले बताए । खर्च घटाउने र अनावश्यक संरचना कम गर्ने सम्बन्धमा प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री डा. महतले यो विषयप्रति बजेट उन्मुख हुने बताए । सांसदका सुझाव सल्लाह समेटेर बजेट निर्माण गरिने विश्वास दिलाउँदै उनले मितव्ययितातर्फ केन्द्रीत रही साधारण खर्च कटौती गरिने र अनावश्यक खर्चसमेत कटौती गरिने बताए।

सामाजिक सुरक्षाका सम्बन्धमा वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री महतले यसमा कटौती गर्ने कुनै योजना नरहेको बताए । राष्ट्र बैंकमार्फत ब्याजदर घटाएर चलायमान बनाउने, रोजागारीका अवसर सिर्जना गर्ने गरी बजेट तय गरिने उनको भनाइ छ । यसमा सबैको सहयोग र प्रयासको आवश्यकता मन्त्री महतले औल्याए।  

राष्ट्रियसभाको अर्को बैठक आगामी जेठ ३ गते साँझ ६ः३१ बजे बस्नेछ ।-रासस/File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको