ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू भएको छ।
आज (शुक्रबार) आइसिटी फाउण्डेसन नेपालको आयोजनामा द सोल्टी काठमाडौंमा डिजिटल कन्फेरेन्स सुरू भएको हो। ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् ।
कार्यक्रममा आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति राजन लम्सालले डिजिटल रूपान्तरणका लागि डिजिटल सक्षमता मापन गर्ने प्रयास स्वरूप २ दिने कन्क्लेभ आयोजना गरिरहेको बताए। यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रडण्डले डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी रहेको बताए।
सरकारले अनुसन्धान, आविष्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था गरेको उनले जानकारी दिए। सरकारले डिजिटल डिभाइड कम गर्न र डिजिटल अर्थतन्त्रमा जोड दिएको बताउँदै प्रधानमन्त्रीले सूचना प्रविधिको विकासका लागि आवश्यक नीति बनाएर छिटो कार्यान्वयनमा ल्याइने बताए।
यस्तै कार्यक्रममा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले पछिल्लो समय नेपालमा सूचना प्रविधिको विकाससँगै सोचाइमा पनि परिवर्तन बताइन्। त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले प्रविधिको तीव्र विकासँगै प्रत्येक राष्ट्रको विकासका लागि सूचना प्रविधि महत्त्वपूर्ण भएको र त्यसबाट नेपाल समेत अछुतो नरहेको बताए। कार्यक्रममा बोल्दै ह्वावे दक्षिण एशिया क्षेत्रीय कार्यालयका अध्यक्ष पिटर प्यानले डिजिटल नेपालका लागि ह्वावेले सहयोग गर्ने बताए ।
ह्वावेको सहकार्यमा भइरहेको डिजिटल नेपाल कन्क्लेभ २०२३ मा पावर्ड वाईमा यार्सा टेक, कनेक्टेड बाईमा नेपाल टेलिकम, डिजिटल पेमेन्ट पार्टनरमा आईएमई पे, टिकेटिङ पार्टनर सस्तो टिकट, आईटी ट्रेनिङ पार्टनर ब्रोडवे इन्फोसिस, सेक्युरिटी पार्टनर चेक पोइन्ट लगायतको सहकार्य रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस