Like us!
Follow us!
Connect us!
Watch us!

८२ वर्षीया यामकुमारी पुनले बुनेका गलैँचा अमेरिकामा

अर्थ संसार

मंगलबार, १२ असार २०८०, ११ : ११ मा प्रकाशित

८२ वर्षीया यामकुमारी पुनले बुनेका गलैँचा अमेरिकामा

मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छिन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेको छ ।

परम्परागत तानमा कपडा बुन्ने सीपलाई व्यावसायिक बनाउनुभएकी पुनले हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्वीटरलगायतका कपडा बुन्ने गर्नुहुन्छ । आफूले उत्पादन गरेका गलैँचा अमेरिकामा समेत निर्यात हुने गरेको उनले जानकारी दिएन् । “अमेरिकाबाट गलैँचा बुनिदिन धेरैले फोनमा खबर गर्नुहुन्छ, स्वदेश आएको समयमा यहाँ आएर उपहारका रूपमा गलैँचा  लैजाने गर्छन्”, उनले भनिन् ।

एउटा गलैँचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई रु सात हजारसम्ममा बिक्री हुने गरेको वृद्धा पुनले बताइन् । फुर्सदको समयलाई बुनाइमा लगाउँदै आएकी उनले आफ्नो यसै पेसाबाट जीविकोपार्जन गर्दै आएकी छिन् । गलैँचा बिक्री गरेरै एक तोला सुन खरिद गरेर गरगहना बनाएको पुनले बताए । “मेरो अरु स्रोत छैन, आफ्नै मेहनतले दैनिकी चलाएको छु, आफूलाई आवश्यक पर्ने सबै खर्च आफ्नै पौरखबाट जुटाउने गरेको छु”, उनले थपिन् ।

झोला, गलबन्दी, स्वीटरलगायतका सामान घरगाउँमै बिक्री हुने गरेको छ । गलैँचा भने गाउँमा भन्दा बाहिर धेरै बिक्री हुने वृद्धा पुनको भनाइ छ । तानमा धागो बुनेर परम्परागत सीप र प्रविधिमार्फत बनाइने गलैँचा बाक्लो र आकर्षक हुने भएकाले विदेशसम्म निर्यात हुने गरेको हो । 

उनले आफ्नो सीपको व्यावसायीकरणसँगै स्थानीय आमा समूहको समेत नेतृत्व गर्दै आएकी छिन् । समाजमा ज्येष्ठ नागरिकले पनि सामाजिक सङ्घसंस्थाको नेतृत्व नै गर्न सक्छन् भन्ने उदाहरण वृद्धा पुन बनेकी छिन् । विसं २०५२ मा स्थापना भएको स्थानीय गोदावारी आमा समूहलाई उनले विगत २८ वर्षदेखि नेतृत्व गर्दै आएकी छिन् । 

गाउँमै भए पनि आमा समूहको पक्की भवन निर्माण गर्ने, समूहकै तरकारी खेती गर्ने, पुख्र्यौली संरक्षणमा अगुवाइ गर्ने उनको हिम्मत अनुशरणयोग्य छ । गोदावारी आमा समूहले आफ्नै पक्की भवनसमेत निर्माण गरिरहेको छ । पुन सोही भवनमा एकलरूपमा बसोबास गर्दै आएकी छिन् । गोदावारी आमा समूहले भर्जुलामा वृक्षरोपण, गाउँ सरसफाइलगायतका गतिविधिसमेत गर्दै आएको छ ।-रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको