Like us!
Follow us!
Connect us!
Watch us!

कोशी प्रदेशका मुख्यमन्त्री कार्की विश्वासको मत लिँदै, १ मत निर्णायक !

अर्थ संसार

विहीबार, १४ असार २०८०, १३ : २५ मा प्रकाशित

कोशी प्रदेशका मुख्यमन्त्री कार्की विश्वासको मत लिँदै, १ मत निर्णायक !

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (बिहिबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । तत्कालिन सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । 

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि कोशी प्रदेशको विशेष अधिवेशन आज दिउँसो १ बजेका लागि आह्वान गरेका छन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले कोशी प्रदेश संसदीय दलका नेता कार्कीलाई एमालेसहित, माओवादी केन्द्र, राप्रपा र जसपा नेपालले समर्थन गरेका थिए ।

केन्द्रमा आएको सत्ता परिवर्तनपछि गत जेठ १७ गते जसपाले समर्थन फिर्ता लिएको थियो भने माओवादी केन्द्रले गत जेठ २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानत कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र पुनः प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । ऐनको त्यही व्यवस्था बमोजिम मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् । 

कार्कीले विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्ने तयारी गरेपनि अहिलेसम्म उनले मत पाउने प्रष्ट भइसकेको छैन । कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ९३ सदस्य प्रदेशसभामा कार्कीको विपक्षमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्रका , एकीकृत समाजवादीका र जसपा गरि ४६ (सभामुख बाहेक) सांसद रहेका छन् । 

कांग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढलेसँगै अर्को सरकार गठनको लागि पहल गरिरहेको छ । सभामुख बाहेक दुवै पक्षसँग समान ४६–४६ सांसद छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णायक मत दिन पाउँछन् । सभामुख बाबुराम गौतम प्रतिपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । अब उनले प्रदेशसभामा कस्तो भुमिका खेल्छन् त्यसै अनुसार प्रदेशको आगामी राजनीति अगाडि बढ्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको