Like us!
Follow us!
Connect us!
Watch us!

सुरक्षा गार्ड राखेर ग्रीन भेञ्चर्सको एजीएम : सेयरधनीहरूले कुर्सी नै उठाएर आक्रमण गर्ने प्रयास

अर्थ संसार

शुक्रबार, २९ असार २०८०, १६ : ५५ मा प्रकाशित

सुरक्षा गार्ड राखेर ग्रीन भेञ्चर्सको एजीएम : सेयरधनीहरूले कुर्सी नै उठाएर आक्रमण गर्ने प्रयास

आईपीओ निष्कासन पछि आज ग्रीन भेञ्चर्स कम्पनीको पहिलो साधारण सभा थियो । कम्पनीका लागि आज विशेष दिन थियो तर विशेष दिन नै कम्पनीको मानरप्रतिष्ठा लगभग गुम्यो । काठमाडौं, थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा सञ्चालन भएको सभामा कम्पनीले थुप्रै अवरोध र विरोधको सामना गर्नुपर्यो ।

११ बजेबाट सुरू हुने भनिएको सभा केही कारणवश निर्धारित समयमा हुन सकेन । पहिलो साधारण सभा भनेर जोशका साथ आएका लगानीकर्ताहरूको केही जोश त त्यहीँ नै कम भयो । कम्पनी सचिवबाट सभा सुरू भएपछि कार्यक्रमको शुभारम्भमा बजाउनु पर्ने राष्ट्रिय गान पछि बजाइयो भन्दै कम्पनीको त्रुटीप्रति सेयरधनीहरूले प्रश्न उठाए । अध्यक्षले सभा सम्बोधन गर्दासम्म त सभा शान्तिपुर्ण नै चलिरहेको थियो । शान्ति त तब भङ्ग भयो जब सेयरधनीहरूको बोल्ने पालो आयो ।

कम्पनीले सभाको सामान्य प्रस्तावमा सञ्चालक निर्वाचनको एजेन्डा पनि राखेको थियो । सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक समितिको निर्वाचन गर्ने, साथै सभाले १ जना स्वतन्त्र सञ्चालक नियुक्ति पनि गर्ने प्रस्ताव थियो । सर्वसाधारण समूहबाट १ जना सञ्चालक समितिको निर्वाचनमा कम्पनीले गलत गरेको रहेछ अनि यही विषयलाई लिएर आज सभामा लफडा भयो ।

कम्पनी ऐन अनुसार कुनै पनि पब्लिक कम्पनीको सर्वसाधारण समूहबाट सञ्चालक बन्न न्यूनतम १०० कित्ता सेयर होल्ड हुनुपर्ने नियम छ । तर कम्पनीले भने यस विषयमा आफ्नै नियम बनाएको रहेछ । कम्पनीले सर्वसाधारण समूहबाट सञ्चालक बन्न न्यूनतम ५००० कित्ता सेयर होल्ड हुनुपर्ने प्रावधान राखेको रहेछ । निर्वाचनका लागि उम्मेद्वारी मनोनयन गर्न गएका सेयरधनीहरूलाई पनि यही प्रावधान देखाउँदै दर्ता गर्न दिएको रहेनछ । आज सोही विषयको विरोधमा सेयरधनीहरूले सभामा लफडा गरेका थिए ।

यो एउटा त मुख्य कारण भयो सेयरधनीहरूले यो बाहेक अन्य थुप्रै जस्तैः तलव/भत्ताको विषय, सभामा खाजा नभएको विषय, कम्पनीमा सूचना अधिकारी नरहेका विषय, आजको सभामा २ जना सञ्चालक र सीईओ गायब हुनुको कारण, विदेशी सीईओ नियुक्ती लगायतका विषय लिएर चर्को विरोध गरेका थिए । 

कम्पनी र कम्पनीका नियम विपरित भएका गतिविधीहरूप्रति आक्रोशित बनेका सेयरधनीहरूले कुर्सी नै उठाएर आक्रमण गर्ने प्रयास गरेका थिए । यद्यपी सभा हलमा सुरक्षा गार्ड भने प्रशस्त राखिएको थियो । सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै केही सेयरधनीहरूले ड्यासमा गएर बोलिसकेपछि अध्यक्ष सुभाष चन्द्र संघईले कम्पनीको तर्फबाट जवाफ दिन खोजेका थिए । तर सेयरधनीहरूले सभा स्थगितको माग राख्दै उनलाई बोल्नै दिएनन् । 

सेयरधनीहरूले चर्का स्वरमा औँला उठाएर कम्पनीप्रति प्रश्न गरिरहँदा ड्यासमा उभिएका अध्यक्ष हेरेको हेरै भए । त्यहाँको गतिविधीले गर्दा सायद मुख सुकेर होला उनले पानी मगाएर खाए पनी । सेयरधनीहरूलाई चुप गराउन कमलेश अग्रवाल, कम्पनी सचिव, कम्पनी सञ्चालक र कम्पनीका केही कर्मचारीहरूले प्रयास गर्दा पनि उनीहरू असमर्थ भए । सेयरधनीहरू आफ्नो मागबाट पछि हटेनन् बरू आवाज बढाउँदै गए, आवाजले मात्र दवाव दिन सकिएन भनेर कुर्सी उठाए, सिठ्ठी मारे तर चुप भने लागेनन् । अध्यक्षलाई सुन्नै चाहेनन्, सभा स्थगित गराउन उनीहरूको अडान थियो । 

सेयरधनीहरूले चर्काे विरोध गर्दै सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक निर्वाचनको प्रस्ताव स्थगित गर्न भनेका छन् । ३ महिनाभित्रै फेरि विशेष साधारण सभा बाेलाएर नियम अनुसार सञ्चालक निर्वाचन गर्ने सहमतिकाे माग छ। 

हालसम्म पनि कम्पनीकाे एजीएम जारी छ । सेयरधनीहरूकाे माग सेयरधनीहरू आफ्नो मागप्रति अडान छन् । कम्पनी पनि निष्कर्समा पुग्न नसक्दा साधारण सभा समापन हुन सकेको छैन । 

सभामा सेयरधनीहरूले बाेलेका केही संक्षिप्त अंश :

शिव प्रसाद पाैडेल : सेयरधनीहरूकाे तर्फबाट सुरूमै बाेलेका लगानीकर्ता शिव प्रसाद पाैडेलले कम्पनीकाे आफ्नै नियमावली ५००० किता सेयर हुनेले मात्रै मनोनयन गर्न पाउने भन्दै याे प्रस्ताव पास गर्न कुनै हालतमा नमिल्ने बताएका थिए । सभामा एक कप चीया पनि राम्ररी खान नपाएकाे धेरै सेयरधनीहरूकाे गुनासाेबारे पनि उनले ड्यासबाट कम्पनीलाई बताएका थिए । कम्पनीले आफ्नाे बेइमानीकाे कारण सभामा सुरक्षा गार्ड राखेकाे उनकाे आराेप थियाे । सभा भनेर सेयरधनीहरू समय छुट्याएर आउँदा बाेर्डकै सञ्चालकहरू चाहीँ गायब भएका उनले बताएका थिए । नेपाली काेही याेग्य नदेखेर कम्पनीले विदेशी सीईओसाब हायर गरेकाे भन्दै उनी चर्किएका थिए । पब्लिक सेयरधनीकाे मानहानी भएकाे भन्दै उनले कुनै हालतमा निर्वाचनकाे एजेन्डा पास नहुने बताएका थिए । 

शत्रुधन श्रेष्ठ : अर्का सेयरधनी शत्रुधन श्रेष्ठले कम्पनीले समयमै Balance Sheet नदिएकाे र पेट्रोल खर्च गरेर अफिस पुग्नुपरेकाेमा दुखेसाे पाेखे । भ्रमण खर्चमा लाखाैँ खर्च गर्न कुन देश अमेरिका की शिङ्गापुर गएकाे भन्दै उनले प्रश्न उठाएका थिए । भत्ता चाहीँ वृद्धि गर्ने अनि सेयरधनीहरूलाई चाहीँ कालाे चीया खुवाउने भन्दै उनी चर्किएका थिए । उनले चर्काे स्वरमा इन्डियन धाेती लेराएर सीईओ बनाइएकाे भन्दै आक्राेस पाेखेका थिए । सेयरधनीहरू कुस्ती खेल्न आएका हुन् र गार्ड राख्या भन्दै उनी जङ्गिएका थिए । 

डम्मरू बल्लभ घिमिरे : पुराना लगानीकर्ता डम्मरू बल्लभ घिमिरेले भने केही नरम भएर बाेले । पब्लिकमा आएपछि पहिलो एजीएम भएको भएर यसपालीलाई Excuse दिइने उनले बताएका थिए । आयोजना निर्माणमा २५ औँ करोड खर्च कसरी भयो भन्दै उनले प्रश्न गरेका थिए । संस्थापकले आफ्नो पैसा पहिल्यै उठाइसक्ने अनि हारा जति पब्लिकमा आएर व्यहोर्न लगाउने उनकाे आराेप थियाे । जटिलताकाे विषय भन्दै उनले पनि आफ्नाे पाकेटकाे मान्छे राख्न मनलाग्दी नियमावली लेराएर ५००० कित्ता सेयर हाेल्ड गर्नुपर्ने व्यवस्थाकाे विराेध गरेका थिए । काहीँ नभएकाे जात्रा हाँडी गाउँमा भन्दै उनले उखान भनेका थिए । उनले पनि कुनै पनि हालतमा चुनाव हुन नदिने बताएका थिए । विदेशीई लेराएर सीईओ बनाउँदा भाषा बुझ्नै गाह्रो परेको उनले दुखेसो पोखे ।  सञ्चालक समितिकाे बैठक भत्ता ल्याउँदा सल्लाह नभएकाेमा उनले प्रश्न उठाएका थिए । कम्पनीमा सूचना अधिकारी नभएकाे, सचिव पार्ट टाइम भएका, Balance Sheet निजी कम्पनीकाे जस्ताे भएकाे, अधिकांश सञ्चालक विदेशी हुँदा भाषा बुझ्न रिसेप्सनमा बस्नेकाे सहयाेग चाहिएकाे लगायत बारे उनी बाेलेका थिए । 

उत्तम पाठक : सेयरधनी उत्तम पाठकले सभामा जाेशका साथ आएकाे र त्यहाँ पुगेपछि दुख लागेकाे बताएका थिए । साधारण सभा निर्धारित समय भन्दा ढिला हुँदा, सभामा सञ्चालकहरू उपस्थित नहुँदा पनि अध्यक्षले माफी नमाग्या भन्दै उनले माफी माग्दैमा सानो नहुने बताए । सञ्चालकहरू कम्पनीकाे मालिक भन्दा पनि सेयरधनीहरूले बनाएका गाेठालाेकाे रूपमा बस्नुपर्ने उननले बताएका थिए । न्यूनतम ५००० कित्ता होल्ड नगरेको व्यक्ति सञ्चालकलाई उम्मेदवार हुन नपाउने यस्तो system नेपालका कुनै पनि कम्पनीमा नरहेकाे उनले बताए । कम्पनीले स्वघोषित अधिकृत र काल्पनिक निर्वाचन गरेर फेरि अग्रवाल थरकै सञ्चालक ल्याएकाे उनकाे आराेप थियाे । कम्पनी सचिवले ३ लाख ६० हजार तलव बुझ्ने तर अफिस जाँदा कहिल्यै नभेटिने भन्दै उनले प्रश्न उठाए । अध्यक्षज्यू लुगा नाङ्गै हुँदा पनि छाेपेकाे जस्ताे गर्ने नियत राखेका उनले बताएका थिए । ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना निर्माणमा प्रतिमेगावाट २४ करोड भन्दा माथि कसरी लाग्यो भन्दै उनले प्रमोटरले आफ्नो सेयर फ्री बनाइसकेका बताए । लकिङ अवधी सकिएपछि संस्थापकले सेयर फाल्दा सर्वसाधारण फेरि मर्ने उनले बताए । कम्पनीकाे आर्थिक पारदर्शिताप्रति कम्पनीले प्रश्न उठाएका थिए । तलुवा चाट्न बन्द गराैँ भन्दै उनी जङ्गिएका थिए ।

इन्द्र कृष्ण श्रेष्ठ : सेयरधनी इन्द्र कृष्ण श्रेष्ठले सुरूमै राष्ट्रीय गान नै नबजाई कार्यक्रम शुभारम्भ गरेकाेमा कम्पनी सचिवकाे ज्ञानप्रति प्रश्न उठाएका थिए । अफिसमा कोही पदाधिकारी भेटिंदैनन् भन्दै उनले पनि तलव केका लागि भन्दै संकेत गरे । ग्रीन भेञ्चर्सकाे नाम पहिलाे पब्लिक एजीएममै माटाेमा मिलेकाे उनले बताएका थिए । सेयरधनीहरूकाे कम्पनीबाट तलव/भत्ता बुझ्ने अनि सेयरधनीहरूका लागि नै केही राम्राे व्यवस्था नगर्ने भन्दै उनले दुखेसाे पाेखेका थिए । सबै पब्लिकले अंग्रेजी बुझ्छन् जसरी कम्पनीले अंग्रेजीमा बुक छापेकाेप्रति उनले विराेध गरेका थिए । कम्पनीले एकलाैटी नियम लगाएर प्रस्ताव पास गर्न खाेजेकाे उनकाे आराेप थियाे । अब पब्लिक धेरै चलाख भइसकेका भन्दै उनले अब उप्रान्त कर्मचारीहरूले ताली पिटेर प्रस्ताव पास गर्ने अवस्था नरहेकाे बताएका थिए । बाेर्ड मिटिङकाे मिति उल्लेख नगरेकाे, घर-घरमा मिटिङ बसेर कम्पनीबाट भत्ता लिइएकाे उनकाे आराेप थियाे । कम्पनीले सुरक्षा गार्डमा आर्मी/पुलिसबाट भागेर आएकाे जस्ताे राखेकाे उनले बताएका थिए ।

विनाेद कुमार पाैडेल : सेयरधनी विनाेद कुमार पाैडेलले एजीएमकाे सूचनादेखि नै समस्या देखिएकाे बताए । सुरुमै कमजोरी भएकाे र नेपाली सेयरधनीलाई मिचिएकाे उनले बताए । ५००० को सिन्डिकेट कहाँबाट लेखियो ? भन्दै उनले पनि प्रश्न उठाएर कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जसाे भएकाे बताएका थिए । १० कित्ता सेयर लिने सबै मालिक हुने उनकाे तर्क थियाे । आयोजना निर्माणमा क्षती भएका जनताले अझै क्षतीपुर्ती नपाएका उनले बताए । हाम्रो तलव खाएर बस्ने, सभामा नआउने भन्दै उनले पनि सञ्चालकहरूकाे अनुपस्थितीकाे विषयमा प्रश्न उठाए । सेयरधनीलाई कुट्न की किन सुरक्षा गार्ड लेराइएको सेयरधनीहरू अदालत जानुपर्ने होकी भन्दै उनी जङ्गिएका थिए । सेयरधनीलाई खान नपाएको जस्तो गुलियो चटाइएकाे उनकाे आराेप थियाे ।

निरूपमा गुप्ता : अर्की सेयरधनी निरूपमा गुप्ताले EPS, PE Ratio, Book value एकदमै राम्रो देखाइएकाे, Expenses चाहीँ एकदमै हाई हाई भएकाे भन्दै कम्पनीकाे देखाउने अनुहार र वास्तविक अनुहार फरक रहेकाे बताइन् । चुनाव गर्दा सञ्चालकमा उभिन ५००० किता सेयर चाहिने कहाँको नियम ? भन्दै उनले पनि प्रश्न उठाइन् । कार्यालयमा सचिव उपस्थित नहुने, एजीएममा प्रमुख कार्यकारी अधिकृत नहुने भन्दै उनले सेयरधनीलाई ज्यादती भएकाे बताइन् । कम्पनीकाे आर्थिक पारदर्शिता नभएकाे, सबै सेयरधनीलाई समान सम्मान नगरिएकाे विषय उनले उठाइन् ।

उमेश पौडेल : सेयरधनीहरूकाे तर्फबाट अन्तिममा उमेश पाैडेल बाेलेका थिए । कम्पनीले Balance Sheet मा सबै हिसावहरू प्रष्ट नदेखाएकाे उनले बताए । सञ्चालक नै उपस्थित नभएको सभा कसरी वैधानिक हुन्छ भन्दै उनले प्रश्न उठाएका थिए । सञ्चालककाे चुनावलाई अर्को मिति तोक्नुपर्ने उनले पनि माग राखेका थिए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको