घरेलु तथा साना उद्योग संघ, काठमाडौंले आइतबारदेखि आफ्नो स्थापनाको रजत वर्षमा प्रवेश गरेको छ ।
रजत जयन्ती महोत्सव प्रवेश गरेको अवसरमा आइतबार राजधानीमा आयोजित एक समारोहमा बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला लघु, घरेलु तथा साना उद्योगहरुलाई बचाउने सरकारको मुख्य दायित्व भएको बताएका हुन् ।
साना उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै उनले यस्ता उद्योगहरुलाई बचाएर मात्रै जनताको आयस्तर माथि उठाउन सकिने बताए ।
साना उद्योगहरुलाई दिगो बनाउने कुरामा प्रदेश सरकारको प्राथमिकता रहेको भन्दै उनले बागमती प्रदेशका लघु, घरेलु तथा साना उद्योेगको प्रबद्र्धनमा आफू हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
लघु, घरेलु तथा साना उद्योगहरू बागमती प्रदेश सरकारको प्राथमिकतामा परेको क्षेत्रका रुपमा रहेको भन्दै उहाँले यो क्षेत्रलाई गर्नुपर्ने सहयोग पहिलो प्राथमिकतामा रहनेमा दुई मत नभएको बताए ।
महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले अहिले उद्योग सञ्चालनको वातावरण राम्रो हुनुपर्नेमा तीन तहको सरकारले झनै अलमल भएको बताए ।
मौद्रिक नीतिमा समेत लघु, घरेलु तथा साना उद्योेगका विषय नसमेटिएको भन्दै उनले बैंकको दबाबले गर्दा उद्योगी उद्योग छाडेर हिंड्ने अवस्थामा पुगेको बताए ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बैंकहरुले मन्दीलाई देखाएर लघु, घरेलु तथा साना उद्योेगमा लगानी गर्न छाडेको र सहुलियतपूर्ण कर्जा पनि हटाइदा जटिल अवस्था सिर्जना भएको बताए ।
घरेलु तथा साना उद्योग संघ, काठमाडौंका अध्यक्ष पदमकुमारी कार्कीले “उद्योग गरौं, उद्यमी बनौं, नेपाली उत्पादन प्रयोग गरौं” भन्ने स्लोगनलाई महासंघका जिल्ला र पालिकास्तरबाट अभियानकै रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
देशकै अर्थतन्त्रको जगका रुपमा रहेका साना उद्योगहरुका लागि सरकारले विभिन्न खालका प्याकेज ल्याए पनि त्यसको उपभोग गर्नका सरोकारवाला व्यवसायीहरु बञ्चित भएको गुनासो गरे ।
कार्यक्रममा महासंघका सल्लाहकार वासु गिरी, महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासचिव डम्बर रेग्मी, महासंघ बागमती प्रदेश संघका अध्यक्ष तारा चौलागाई, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, घरेलु उद्योग कार्यालय काठमाडौंका प्रमुख मेघनाथ रिजाल, काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठ, महासंघ केन्द्रिय महिला समिति अध्यक्ष रोशनी उपाध्याय, संघका उपाध्यक्ष इश्वर बहादुर गुरुङलगायतले बोलेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस