Like us!
Follow us!
Connect us!
Watch us!

"अब बजार कता जान्छ भनेर कसैले ठोकुवा गरेर भन्न सक्ने अवस्था नै छैन, सानाले किनेर बजार माथि राख्न सक्दैनन्, ठूलालाई लगानी बढाउने ठाँउ नै दिइएको छैन"

लोकेन्द्र ढकाल

विहीबार, ०७ भदौ २०८०, २१ : १२ मा प्रकाशित

"अब बजार कता जान्छ भनेर कसैले ठोकुवा गरेर भन्न सक्ने अवस्था नै छैन, सानाले किनेर बजार माथि राख्न सक्दैनन्, ठूलालाई लगानी बढाउने ठाँउ नै दिइएको छैन"

नेपाली सेयर बजारका ठूला लगानीकर्ता तथा बादशाह समेत भनेर चिनिने निर्मल प्रधानसँग हाम्रा सहकर्मी लोकेन्द्र ढकालले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको बजारलाई कसरी हेर्नु भएको छ ? 
सेयर बजारको अवस्था देख्दा लगानीकर्तामा निराशा छाएको छ । अब त सेयर बढ्दै बढ्दैन कि जस्तो मानसिकता लगानीकर्तामा परिसक्यो । जतिसुकै जान्नेसुन्ने लगानीकर्ताको  गुरुहरुले पनि भनेको मिल्नै छोड्यो । अर्थमन्त्री ज्युले ब्याजदर घट्छ भन्नहुन्थ्यो, बैकहरुले ब्याजदर बढाए । यहाँ कसैले भनेको मिलिरहेकै छैन । यस्तो अवस्थामा अब सेयर बजार कता जान्छ भनेर कसैले ठोकुवा गरेर भन्न सक्ने अवस्था नै छैन । साना लगानीकर्ताले किनेर बजार माथि राख्न सक्दैनन् । ठूला लगानीकर्तालाई लगानी बढाउने ठाँउ नै दिइएको छैन । जबसम्म ठूला लगानीकर्तामा आत्मविश्वास बढ्दैन्, तबसम्म बजार माथि जान गाह्रो देख्छु । 

बजार त तल्लो विन्दुमा छ ,सेयर पनि सस्तो मुल्यमा छ, यस्तो अवस्थामा पनि ठूला लगानीकर्तामा आत्मविश्वास किन बढ्न सकेन ?
हेर्नुस्, सेयर बजार बढ्न पैसा चाँहिन्छ । सबैले लगानी बढाएपछि तब बजार माथि जाने हो । सेयर बजारमा लगानी आफनो पैसाले मात्र गरिएको हुँदैन । लगानी थप्न बैंकबाट लोन पाँउनु पर्यो । अहिले राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सिमा लगाएको छ । म र म जस्ता लगानीकर्तालाई १२ करोडको मात्र सेयर धितो लोनले कसरी बजार माथि तान्नु ? त्यसैले ‘जबसम्म १२ करोडको सिमा हट्दैन, तबसम्म सेयर बजार एक माथि जाँदैन, दुई जाँदैन, तीन जाँदैन ।’ तर बजार अहिले तल्लो विन्दुमा छ । नियामकले नीतिमा सुधार गर्ने वित्तिकै बजारले बुलिस ट्रेड लिन्छ । बैंकमा पैसा थुप्रिएको थुप्रै छ । अब राष्ट्र बैकले पनि केहि सोच्ने बेला आएको छ । राष्ट्र बैंकले सेयर बजारमैत्री नीति ल्याउने बित्तिकै बजार माथि जान्छ जस्तो मलाई लाग्छ ।   

१२ करोडको सेटलमेन्ट त सबै लगानीकर्ताले गरि पनि सके ,अब पनि त्यसकै असर हो र ? 
हो नि । अहिलेको बजारलाई नीतिले हानेको हो । त्यहि १२ करोडको सिमा भित्र आउँदा मैले पनि महङ्गोमा किनेको सेयर सस्तोमा बेच्नु पर्यो । मलाई धेरै घाटा भो । म अहिले १२ करोडको सिमा भित्र छु । अहिले सेयरको मुल्य पनि सस्तोमा छ । मैले लगानी थप्न खोजिरहेको छु । तर पैसा पाईरहेको छुइन । यो म जस्ता अन्य ठूला लगानीकर्ताको साझा समस्या हो । 

त्यसोभए १२ करोडको सिमा नहटेसम्म बजार बढ्दै बढ्दैन् त ? 
मैले भनिसके नि, साना लगानीकर्ताले मात्र बजार माथि राख्न सक्दैनन् । ‘लङ्ट्रम’ लगानी गर्ने लगानीकर्ता अहिले हात उठाएर बसेका छन् । १२ करोड कै ब्याज तिर्न सकिरहेका छैनन् । ‘सर्टट्रम’ लगानीकर्ताले बजार धान्नै सक्दैनन् । बजार बढाउन ‘अपरेटर’ चाहिन्छ । साना लगानी गर्नेहरुको भर नै हुँदैन । ४०÷५० अंक बढ्यो भने बेच्दिहाल्छन् । ४०÷५० झर्यो भने किनीहाल्छन् । यसरी त बजार धानिदैन नि ? यो अहिलेको बजारको समस्या हो । किनभने बैंकहरुमा पैसा भएतापनि १२ करोडको क्यापले गर्दा लोन दिन पाएका छैनन् । 

त्यसोभए, बजारको यो अवस्था कहिलेसम्म रहला त ?
त्यो त म ठ्याक्कै भन्न सक्दिन । बैंकहरुको रिपोर्ट पनि त्यति राम्रो आएको छैन । नेटवर्क नेगेटिभ देखाएका छन् । सहकारीहरुको अवस्था पनि देखिनै रहनु भएको छ । साना साना लगानीकर्ताको पैसा सहकारीमा डुबेको छ । बजारमा पैसाको फ्लो नै छैन । अन्य क्षेत्रका ठूला उद्योगीहरु पनि घाटा मै छन् भन्छन् । व्यवसाय नै राम्ररी चलेको छैन भन्छन् । यी सबै कुराले गर्दा बजारले गति लिन केहि समय लाग्छ नै । सेयर बजार तल्लो विन्दुमै भएकाले सय/पचास अंक घट्नु बढ्नु भनेको सामान्य नै हो । बजार धेरै तल जान्छ जस्तो मलाई लाग्दैन । बैकहरुको सेयर धेरै तल भएकाले दिनभरमा एक दुई रुपैयाँ भन्दा तलमाथि भईरहेको छैन । सबैले बैक ‘बटम’ मै आइसको भन्छन । बुकभ्यालु मै आइसकेको देखिन्छ । हाइड्रो, माइक्रो लगायत केहि सेक्टरको सेयर मुल्य अहिले घटिरहेका छन । तिनीहरु पनि तल्लो विन्दुमा आइसके । तिनीहरुको मुल्य पनि कम तलमाथि हुन थालेपछि बजार घट्न रोकिनु पर्छ । घट्न रोकिए पछि बजारले नयाँ बाटो तय गर्छ ।

बजारमा अहिले थपिएका आइपिओहरुले पनि केहि सप्लाई बढाए भन्छन् । तपाईले यसलाई कसरी लिनु भएको छ ?
‘डेफिनेट्ली’ होनि । बजारमा नयाँ पैसा आइरहेको छैन । आइपिओमा जाने पैसा पनि यहि बजारकै हो । यहि नै पैसा घुमिरहन्छ । बजारका पैसाको ‘ट्रान्जेक्सन’ घट्नुको एउटा कारण यो पनि हो । फेरि धितोपत्र बोर्डले त आएको आइपिओहरुलाई रोक्न पनि मिल्दैन । भर्ने नभर्ने त लगानीकर्ता कै इच्छा हो नि । तर यसले कहि न कहि असर गरेको छ । 

ललिता निवास प्रकरणमा केहि लगानीकर्ता मुछिएको कारणले पनि शेयर बजार प्रभावित भएको भनिन्छ । यहाँले यसलाई कसरी लिनु भएको छ ?
खै मलाई थाहा भएन । सेयर बजारमा लगानी त सबैको हुन्छ नै । त्यो हिसाबले यस्ता कुराको अलिअलि त चर्चा चल्नु स्वभाविकै जस्तो लाग्छ ।

बजार यस्तै छ,परिस्थिति पनि यस्तै छ ,अब के गर्ने त ?
१२ करोडको क्याप नहटेसम्म अरु कुरै नगर्नुस् । अनि सहजरुपमा सेयरमा लगानी गर्न बैंकहरुवाट वातावरण हुनु पर्यो । त्यसको लागि ‘रिक्स वेटेज एभरेज’ सय प्रतिशतमा आँउनुपर्यो । त्यसपछि बैकहरुले कम ब्याजदरमा शेयर धितो कर्जा दिनु पर्यो । यसको लागि धितोपत्र बोर्डले अग्रसरता लिनु पर्यो । लगानीकर्ताको बुवा भनेपनि संरक्षक भनेपनि धितोपत्र बोर्ड नै हो । उहाँले गरि पनि रहनु भएको होला । तर देशको समग्र परिस्थितिले यो सम्भव हुन सकिरहेको छैन । तपाई हामीले भनेर कराएर केहि हुनेवाला पनि छैन । त्यसैले देश, काल, परिस्थिति सबै मिल्दै जानु पनि पर्छ । सेयर बजारको कसिलो नीतिमा सुधार हुनु पर्छ । 

यहाँले भन्न खोज्नु भएको ‘बल’ अहिले गभर्नरको हातमा नै हो त ?
उहाँले नै ४÷१२ को नीति ल्याउनु भएको हो । हटाउनु पनि उहाँले नै पर्छ । रीक्स वेटेज पनि उहाँलै थप्नु भएको हो । उहाँवाटै यसको निकास आउनु पर्छ । उहाँहरुको बुझाईमा शेयर बजारलाई अनुत्पादक क्षेत्र सम्झेर यी सबै नीतिहरु बनाएका हुन पनि सक्छन् । शेयर बजारप्रति उहाँहरुको सोचाइ सकारात्मक हुनुपर्यो । बाँकि कुरा त अन्य सरोकारवालाहरुको पनि शेयर बजार प्रति सकारात्मक तथा समन्वयकारी धारणा बन्नु परो ।

यहाँले पहिला एउटा अन्तरवार्तामा एक बैंक किन्न सुझाउनु पनि भएको थियो ,त्यो बेला किन्नेले तपाईलाई सम्झी रहेका छन् ,के भन्नु हुन्छ ? 
हो ,भनेको हो । तर प्राइम कमर्सियल बैक मात्र होइन, सबै बैंकहरुको अवस्था उस्तै त छ नी । मैले किन्न भनेको बेला बैकको अवस्था राम्रो थियो । पछि प्राइम बैकले राम्रो कमाई पनि गर्न सकेन । त्यसमा मैले पनि घाटा खाए । मेरो फोर्टफोलियोमा पनि कति घाटा भो कति । हिसाब किताब नै छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको