Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्नेछु: अमेरिकी सिनेटर होलन

अर्थ संसार

शनिबार, १६ भदौ २०८०, १८ : ५८ मा प्रकाशित

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्नेछु: अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् । उनले नेपालमा लगानी भित्र्याउनका लागि आफूले  अमेरिकी लगानीकर्तालाई उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 

अमेरिकन च्याम्बर्स अफ कमर्स (एमच्याम)को आयोजनामा शुक्रबार काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले नेपालमा पछिल्लो समय उर्जा, प्रविधि र पर्यटन  लगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना देखेको बताए । 

अमेरिका र नेपालको पूरानो तथा गहिरो सम्बन्ध रहेको चर्चा गर्दै सिनेटर होलनले एमच्यामले नेपाल र अमेरिकी लगानीकर्ता बिच समन्वयकारी भुमिका खेल्न सक्ने बताए ।

अन्तर्क्रिया कार्यक्रममा एमच्यामले आफ्नो प्राथमिकताका आधारमा उर्जा, प्रविधि र पर्यटन क्षेत्रबारे संक्षिप्त भिडियो प्रस्तुत गरेको थियो । ती भिडियोले नेपालमा यी क्षेत्रमा रहेको सम्भावनालाई निकै मिहिन ढंगले देखाएको सिनेटर होलनले उल्लेख गरे ।   

उर्जाको क्षेत्रमा भर्खरै एमसीए नेपालले काम सुरू गरेको समेत उनले जानकारी गराए । अमेरिकाले नेपालको उर्जा क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि उत्तिकै सहयोग गरेको उनको भनाइ छ ।

हेलनले नेपालमा लगानिको इको सिस्टम राम्रो र सहज वातावरण पनि भेटेको बताए । 

कार्यक्रममा अमेरिकी राजदुत आर थम्सनले नेपालमा एमच्यामले अमेरिकी लगानिकर्ताहरुलाई प्रभावकारी समन्वय गरिरहेकोमा खुसी व्यक्त गरे ।

अन्तर्क्रिया कार्यक्रममा सोल्टी होटलका ऋषि चोपडाले अमेरिकी लगानीमा रहेको  सोल्टी होटलले ग्लोबल क्षेत्रमा पर्यटन प्रवर्द्धनमा खेलेको भुमिकाबारे भिडियो प्रस्तुत गरेका थिए । यस्तै मोतिलाल दुगडले मोघा इनर्जी कम्पनिको बारेमा  र हेमपाल श्रेष्ठले प्याराकोस्मा आईटी कम्पनीबारे भिडियो प्रस्तुत गरेका थिए । 

कार्यक्रमा एमच्यामका अध्यक्ष अजित शाहले उर्जा, प्रविधि र पर्यटन क्षेत्रमा नेपालमा एक्सप्लोर हुन बाँकी धेरै रहेको उल्लेख गरे । उनले नेपालमा यी क्षेत्रमा धेरै नै सम्भावना रहेको उल्लेख गर्दै अमेरिकाले यसतर्फ लगानी गर्नुपर्नेमा जोड दिए । 

अन्तर्क्रिया कार्यक्रममा उर्जा, प्रविधि र पर्यटन क्षेत्रम अमेरिकाको लगानीबारे विशेष चर्चा गरिएको थियो । 

नेपाल भ्रमणमा रहेका अमेरिकन सिनेटर होलनले नेपालका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दैछन् । सोही क्रममा एमच्यामका पदाधिकारी तथा सदस्यहरूसँग उनले छलफल गरेका हुन् ।

एमच्यामका अध्यक्ष शाहले सो छलफलले उर्जा, प्रविधि र पर्यटन क्षेत्रमा अमेरिकी लगानी वृद्धि गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

अमेरिकी दूतावाससँगको समन्वयमा एमच्यामले सो अन्तर्क्रिया कार्यक्रम  गरेको हो । 

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत आर थम्सन र  दुतावासका पदाधिकारीहरू,  युएसएआईडीका पदाधिकारीहरू र एमच्यामका सदस्यहरूको सहभागीता थियो ।

एमच्याम अमेरिकामा विभिन्न क्षेत्रमा लगानी गरिरहेका नेपाली उद्यमी  तथा व्यवसायीहरूको छाता संगठन हो । यस संस्थाले नेपालमा अमेरिकी लगानी भित्र्याउन विशेष पहल गर्दै आएको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको