Like us!
Follow us!
Connect us!
Watch us!

१२ करोड हट्ने चर्चा, स्थानीय तहको पैसा र ललिता निवास प्रकरणमा खुकुलोपनले नेप्सेमा हरियाली

लोकेन्द्र ढकाल

सोमबार, २५ भदौ २०८०, २० : २२ मा प्रकाशित

१२ करोड हट्ने चर्चा, स्थानीय तहको पैसा र ललिता निवास प्रकरणमा खुकुलोपनले नेप्सेमा हरियाली

सोमवार नेप्से ४४.३० अंकले बढेको छ । लगातार घटिरहेको नेप्सेको बढाईमा निम्न आधार मान्न सकिन्छ :

१२ करोडको सेयर धितो कर्जामा लचकताको सम्भावना 

अर्थमन्त्री डा. प्रकाशशरण महत अहिले सेयर धितो कर्जामा लगाइएको १२ करोडको सिमामा लचकता अपनाउन राष्ट्र बैंकसँग कुराकानी अघि बढाईरहेका छन् । अर्थमन्त्रीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएरै सेयर धितो कर्जाको अधिकतम १२ करोडको सिमालाई दशैं अघि नै लचकता अपनाउन पहल भईरहेको अर्थमन्त्रीका प्रेस सल्लाहकार प्रकाश थापा बताउँछन् । थापा भन्छन्, ‘अर्थमन्त्रीलाई भेट्न आउने अधिकांशले शेयर बजार चलेन, गभर्नरलाई नीति खुकुलो बनाउन पहल गरिदिन आग्रह गर्ने धेरै हुनुहुन्छ, यसवारे अर्थमन्त्रीले गभर्नरसँग कुराकानी गरिरहनु भएको छ ।’ उनले थप्दै भने, ‘गर्भनरले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षासम्म कुरौं कि भन्ने आशय राखेको बुझिन्छ तर अर्थमन्त्रीले दशैंअघि नै सर्कुलर जारि गराउन भन्नु भएको छ ।’ 

यसअघि, नेपाल अद्योग वाणिज्य महासंघको पहलमा सेयर धितो कर्जामा लगाइएको अधिकताम १२ करोडको सिमालाई सहजीकरण गर्न राष्ट्र बैकसँग अनौपचारिक छलफल भएका थिए । त्यहाँ राष्ट्र बैंकले पनि ग्रीन सिग्नल दिएकै थियो । तर त्यतिबेला करिब २० दिनमा बैंकमा थुप्रिएको ५ खर्ब भन्दा धेरै तरलता एकाएक घटेर ३ खर्ब ४० अर्बमा झरेपछि राष्ट्र बैक सतर्क हुँदा तत्काल १२ करोडको सेयर धितो कर्जाको सिमा पुनरावलोकन भएन । त्यसबखत १२ करोडको सिमालाई १८ करोड बनाउने र रिक्स वेटेज प्रतिशतलाई १०० मा झार्ने छलफल अघि बढेको थियो । अहिले पुनः बैंकमा तरलता बढेर गएको छ । करिब पौन ४ खर्ब बैकमा तरलता रहेको छ भने स्थानीय तहको ६० प्रतिशत सञ्चित कोषको रकम बैकहरुले निक्षेपमा रुपमा गणना गर्न दिने अर्थ मन्त्रालयको निर्णयले थप ६० अर्बभन्दा धेरै रकम बैकमा थपिएको छ । अब बैकमा करिब सवा ५ खर्ब भन्दा धेरै तरलता थुप्रियर बसेको छ । बैकमा पैसा थुप्रिएकाले राष्ट्र बैंकले बैकहरुलाई लगानीको ठाँउ बनाउन सेयर धितो कर्जामा लगाइएको १२ करोडको सिमामा लचकता अपनाउने सम्भावना देखिन्छ । राष्ट्र बैकका गभर्नर अधिकारी आइतवार फिलीप्रिन्स गएका छन् । भदौ अन्तिममा गभर्नर फर्किएपछि १२ करोडको सिमामा लचकता अपनाउन सक्ने आकलनले लगानीकर्तामा एक किसिमको आत्मविश्वास बढ्दा नेप्सेमा सकारात्मक प्रभाव परेको मान्न सकिन्छ ।  

स्थानीय तहको पैसाले असोजको ब्याजदर घट्ने अपेक्षा

अर्थ मन्त्रालयले स्थानीय तह सञ्चित कोषमा रहेको ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा वाणिज्य बैंकहरुलाई गणना गर्न दिन आइतवार राष्ट्रबैंकलाई पत्राचार गरेको छ । यसले बैंकहरुको निक्षेपमा करिब ६० अर्ब भन्दा धेरै रकम थपिएको छ । भदौ महिनाको शुरुमै दिने भनेको उक्त रकम अधिकांश बैंकहरुले भदौमा ब्याजदर बढाएपछि अर्थ मन्त्रालयले निर्णय सार्वजनिक गर्न ढिलाई गरेको थियो । अर्थ मन्त्रालय उच्च स्रोत भन्छ, शुन्य ब्याजदरको स्थानीय तहको पैसा पाएपछि बैकहरुले असोज महिनामा निक्षेपको ब्याजदर घटाउँनेछन्  ।

 नबिल बैंकका डिपुटी सिईओ मनोज ज्ञवाली भन्छन, ‘अहिले ब्याजदर बढाउनु पर्ने कारण नै छैन ।’ उनले भने, बैंकहरुको आ–आफ्नै पारा छ, असोज महिनामा केहिले ब्याजदर घटाउलान, म बढ्ने सम्भावना देख्दिन । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउनु सकारात्मक कुरा हो तर मुख्यकुरा, बैंकहरुसँग अहिले नै ४ खर्ब तरलता थुप्रियर बसेको बताए । उनले बजारमा कर्जाको माग नै नभएको जस्तो अवस्था रहेको बताए । उनले ब्याजदरका कारण बजार चलाएमान नभएको होइन भन्दै भने, ‘पोलिसीमा चेन्ज हुनुप¥यो, माग बढ्ने खालका नीति आउनु प¥यो ।’ उनले राष्ट्र बैकले ल्याएको चालु पुँजी कर्जा मार्गदर्शनको लागि यो राइट समय थिएन, नियामकले यस्ता कुरामा ध्यान दिनुपर्नै बताउँदै बजारमा माग नभएसम्म ब्याजदरले ठूलो भूमिका नखेल्ने बताए । ढकालले असोज महिनामा ब्याजदर त नबढ्ला तर धेरै घट्ला जस्तो पनि नलागेको बताए । 

ललित निवास जग्गा प्रकरणमा सरकारको लचकताले मुछिएका शेयर लगानीकर्तामा राहत 

ललिता निवास जग्गा प्रकरणमा आरोपितहरुलाई सरकारले आइतबार धरौटीमा छोडेको छ । सेयर बजारका ठूला लगानीकर्ता भनेर चिनिने भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुर गुरुङ पनि आइतवार राती धरौटीमा रिहा भएका छन् । यसले गुरुङ सम्मिलित समुह पुनः खरिद बिक्रीमा सक्रिय हुँने अनुमानले सेयर बजारमा सकारात्मक प्रभाव परेको गुरुङ निकटका एक लगानीकता बताउँछन । त्यसैगरि ललिता निवास प्रकरण उत्कर्षमा हुँदा पक्राउ पर्ने आशंकाले सेयर बजारका ठूला भनिएका एक दर्जन जति लगानीकर्ता भागेर युएई लुक्न पुगेका थिए । अधिकांश माडवारी समुदायका ती लगानीकर्ताहरुमा सरकारले ललिता निवास प्रकरणलाई नरम बनाएसँगै उनीहरु स्वदेश फर्किने अनुमान गरिएको छ । दैनिक करिब ३० करोड हाराहारीको शेयर कारोवार गर्ने एक समुह स्वदेश फर्किने अनुमानले पुनः सेयर बजारमा सकारात्मक असर गरेको अनुमान गर्न सकिन्छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको