नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढि प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको जान भन्ने संस्थाको कागजातको दुरुपयोग गरी प्रशिक्षार्थी कामदार विदेश पुगेका हुन् ।
गत असारको पहिलो साता जानका भाषा परीक्षकले सामाजिक सञ्जालबाट भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना प्रशिक्षार्थी जापान पुगेको जानकारी पाएपछि पहिलो पटक संस्थाको लेटर प्याड र अध्यक्ष डा. भुसालको हस्ताक्षर किर्ते गरी अनुचित ढंगबाट परीक्षार्थी कामदारहरू जापान पुगेको खुलासा भएको हो ।
यससम्बन्धी छानबिन गर्न वैदेशिक रोजगार विभागका प्रशासन शाखा निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई छानबिनका लागि १ महिनाको समय दिइएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस