सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने मिति सार्वजनिक गरेको छ । कम्पनीले जेठ २८ गतेदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गर्ने तयारी गरेको हो ।
यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँड सम्पन्न गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार कम्पनीले आफ्नो जारी पुँजीको २५ प्रतिशत बराबरको आईपीओ निष्काशन गर्दैछ । यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८ लाख ५० हजार कित्ता सेयर जारी गर्ने अनुमति कम्पनीले प्राप्त गरेको छ ।
जारी गरिने कुल सेयरमध्ये ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको थियो, जसको बाँडफाँड भइसकेको छ । बाँकी सेयरमध्ये ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि तथा १७ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।
यी सबै छुट्याइएका हिस्सापछि बाँकी रहेको ६ लाख ८८ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले आवेदन गर्दा न्यूनतम १० कित्टादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । आवेदन अवधि जेठ २८ गतेदेखि सुरु भएर असार २ गतेसम्म रहनेछ ।
तोकिएको अवधिसम्म पर्याप्त आवेदन नपरेको अवस्थामा भने निष्काशन अवधि असार ११ गतेसम्म थप हुन सक्ने व्यवस्था गरिएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस