नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहायता उपलब्ध गराउने भएको छ। निर्माण अवधिमा बढेको लागत व्यवस्थापन गर्न जापानले ५ अर्ब ७० करोड जापानी येन (झण्डै ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको अतिरिक्त ऋण दिने निर्णय गरेको हो।
यस सम्बन्धी सम्झौतापत्रमा बुधबार नेपालका लागि जापानी राजदूत माएडा तोरु र अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरेका छन्। यससँगै उक्त आयोजनाका लागि जापानको कुल ऋण सहायता २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको छ।
यसअघि सन् २०१६ डिसेम्बरमा १६ अर्ब ६३ करोड ६० लाख येन बराबरको ऋण सम्झौता भएको थियो। तर निर्माणका क्रममा मूल्यवृद्धि, निर्माण सामग्रीको लागत वृद्धि र प्राविधिक कारणले खर्च बढेपछि थप बजेट आवश्यक परेको हो।
सन् २०१९ देखि सुरु भएको यो आयोजना नेपाल–जापान सहकार्यको महत्वपूर्ण पूर्वाधार परियोजना हो। काठमाडौँलाई देशका अन्य भागसँग जोड्ने प्रमुख प्रवेशद्वार नागढुंगा क्षेत्रमा हुने ट्राफिक जाम र ढुवानी समस्याको दीर्घकालीन समाधानका रूपमा यसलाई हेरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस