Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र चीनबीच भए यस्ता सम्झौता र समझदारी

अर्थ संसार

सोमबार, ०८ असोज २०८०, १४ : २५ मा प्रकाशित

नेपाल र चीनबीच भए यस्ता सम्झौता र समझदारी

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा दुई देशबीच विभिन्न १३ विषयमा सम्झौता तथा समझदारी भएको छ ।

प्रधानमन्त्री दाहालले आज चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङसँग ग्रेट हल अफ दी पिपलमा भेटवार्ता गरेका थिए । वार्तापछि सहमतिपत्रमा नेपालको तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीहरुले हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्र अनुसार राष्ट्रिय योजना आयोग र नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन अफ द पिपल्स रिपब्लिक अफ चाइनाबीच सहकार्य हुनेछ । यसैगरी दुई पक्षबीच नेपालको उत्तरी पहाडी क्षेत्रमा हुने उत्पादन र तिनको वितरण सम्बन्धि समझदारी पत्र आदानप्रदान भएको छ । 

चीनको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थतन्त्रमा सहकार्य बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको छ । सोही कमिसन र नेपालको वन मन्त्रालयसँग हरित तथा न्यून कार्बन विकासका लागि काम गर्ने सहमति भएको छ ।

यसैगरी कृषि तथा पशुपालनतर्फ चीनको कृषि तथा ग्रामीण मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने सहमति भएको छ । यसैगरी सन् १९८१ मा भएको चीन-नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यदल गठन गर्नका लागि चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलायबीच एमओयूमा हस्ताक्षर भएको छ ।

नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति तथा जडीबुटी निर्यातसम्बन्धी सम्झौतामा चीनको जेनेरल एडमिनिस्ट्रेसन अफ कस्टम र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरुले हस्ताक्षर गरेका छन् । यसैगरी दुई देशका प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने, विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने तथा प्रकोप सामग्री, मानव संशाधन आदानप्रदान र हिल्सा–सिमकोट सडक परियोजनाका बारेमा पनि दुई पक्षबीच सम्झौता भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको